मुख्य

द्वन्द न्यूनीकरण गर्दै पर्यावरण संरक्षण गर्छौ – मुख्यमन्त्री

दमक, १० फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा सुरु गरेका छन् ।

‘जीव– जनावर, जंगल, जनतामैत्री–जिम्मेवार जनप्रतिनिधि’ भन्ने नारासाथ नेपाल–भारत सीमाको मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट बुधबार पदयात्रा शुरु भएको हो । हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवं मानव–हात्ती द्वन्द न्यूनीकरण गर्दै हात्तीमैत्री पर्यावरण पर्यटन विकास गर्ने पदयात्राको उद्देश्य रहेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

कोशी सरकारले पर्यावरण संरक्षण गर्ने उद्देश्यसहित ‘जसको जंगल, उसको मंगल’ कार्यक्रम बजेटमार्फत नै अघि सारेको छ । शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कार्कीले हात्ती र मानवबीचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा सुरु गरिएको बताएका छन् । जनता र हात्ती दुवैलाई दुःख नहुनेगरी समस्या समाधान खोज्न गाउँबस्तीमा आएको उनले बताए ।

‘जीव, जंगल, जनावर, मानिस सबैको संरक्षण गर्ने अभियान हो’ मुख्यमन्त्री कार्कीले भने, ‘समस्या पहिचान गर्ने प्रयास हो । सिंगो सरकार जनताको ठाउँमा समस्या हेर्न आएका हौं । दुःख बुझ्न आएका हौं ।’ सबैभन्दा बढी मानिसले ज्यान गुमाएको ठाउँमा आइ दुःखको कुरा सुन्दै अघि बढ्ने र हात्तीको ज्यानको पनि संरक्षण गरिने उनको भनाइ छ । सरकारले जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाएको पनि मुख्यमन्त्री कार्कीले बताएका छन् । बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुनेछ । पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, हात्तीविज्ञ, नागरिक समाजको सहभागिता छ ।

मुख्यमन्त्री कार्कीको टोलीले जैविक मार्गमै पर्ने ७ स्थानमा रात्रीकालीन विश्राम गर्नेछन् । एसियन हात्तीहरू वर्षेनी भारतको आसामबाट मेचीनदी पार गरी झापा जिल्लाको बाहुनडाँगीका विभिन्न चारवटा गौंडाबाट नेपाल प्रवेश गर्ने गर्दछन् । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर आवतजावत गर्ने क्षेत्रमै मुख्यमन्त्री कार्कीले पदयात्रा तय गरेका हुन् ।

मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदलयात्रा गर्ने रुट तय गरिएको छ । चार जिल्लाका विभिन्न २३ स्थानीय तहमा पुगेर स्थानीय जनतासँग साक्षात्कार गर्ने मुख्यमन्त्री कार्कीले बताएका छन् ।

कोशी प्रदेशका चार जिल्लामा पछिल्लो पाँच दशकयता जनसंख्या वृद्धि र मानवीय विकासको आवश्यकताको चाप सँगसँगै हात्तीको जैविक मार्गको सूचना र प्राकृतिक बासस्थानको क्षयीकरण भएको विज्ञहरुले बताउँदै आएका छन् । झापामा मात्र २०६७ यता हात्ती–मानव द्वन्द्वमा ६५ जना मानिस र २१ हात्तीको मृत्यु भएको छ ।

हात्तीले मानवीय सहित घरगोठ, खेतबारी तथा अन्नबाली विनास गर्ने र मानवीय क्षति पुर्याउँदै आएको छ । हात्तीको प्राकृतिक बासस्थानको संरक्षण गर्दै मानवीय क्षति न्यूनीकरणका लागि मुख्यमन्त्री कार्कीले ९० लाख रुपैयाँ बजेट बिनियोजन गरेका थिए ।

पदयात्रा उद्घाटन कार्यक्रममा प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती, कृषिमन्त्री रामकुमार खत्री, भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, हात्ती पीडित परिवारकी जगनमाया थापालगायत सहभागी थिए ।‌ हात्ती तथा पर्यावरण संरक्षणको सन्देशमुलक गीत गाएर अभियान सुरु गरिएको थियो ।‌

यसैवीच, हात्तीमैत्री पदयात्रा सुरु गरेका मुख्यमन्त्री केदार कार्कीलाई झापाका हात्तीपीडित बाहुनडाँगीबासीले ११ बुँदे माग पेश गरेका छन् । मुख्यमन्त्री कार्की पदयात्राका लागि बाहुनडाँगी आएका बेला बाहुनडाँगीबासीले आफ्ना मागहरु समेटिएको ज्ञापन पत्र बुझाएका हुन् । नागरिक समाजका अध्यक्ष एवं बाहुनडाँगी गाविसका तत्कालीन अध्यक्ष निलकण्ठ तिवारीले मुख्यमन्त्री कार्कीलाई मागपत्र बुझाउँदै माग पूरा गर्न प्रदेश सरकार र स्वयं् मुख्यमन्त्री गम्भीर बन्नु पर्ने बताए । हात्ती नियन्त्रणका लागि सीमा क्षेत्रमा लगाइएको सौर्य विद्युतीय तारबार मर्मत, सम्भार र संरक्षणका लागि नियमित बजेटको व्यवस्था गरिदिनु पर्ने बाहुनडाँगीबासीको पहिलो माग छ । यसैगरी, सीमामा लगाइएको तारबार छेउको पहुँच मार्गलाई स्तरोन्नति गर्न बिनियोजन गरिएको २५ लाख बजेट अपुग भएकाले थप बजेटको व्यवस्था शीघ्र गरिदिनु हुन र हात्तीलाई बासस्थानमा फर्काउन स्कर्टिङ भेहिकलको व्यवस्था गरिदिन उनीहरुले माग गरेका छन् ।

Author

You may also like