मुख्य

जीवनको सहारा खोज्दै आमाछोरा

दमक, ९ फागुन। समय र परिस्थितीले मानिसलाई के कस्तो दुःख भोगाउँछ भन्ने कुरा पाँचथरको मेमेङकी हरिमाया लिम्बू र उनका छोरालाई हेर्दा चरितार्थ हुन्छ ।

हरिमाया आफु र आफ्नो छोराको जीवनको भिख माग्दै यतिवेला झापाको दमकमा आइपुगेकी छन् । ६ बर्षको छोरा बसन्तलाई डोहोरयाउँदै अनि एउटा झोला बोकेर दमकका घर–पसलमा चाहार्नु उनको यतिबेलाको दैनिकी बनेको छ । ४१ वर्षिया हरिमाया अरुका घर– आगँन र पसलमा सहयोगको लागि हात फैलाउँदै पुग्नु रहर पटक्कै होइन् ।

तीन बर्ष अघिनै पेट दुख्ने र पोल्ने समस्याले सताएपछि उनले पाँचथरबाट सोझै झापा आएर मेची अस्पताल भद्रपुर र दमकको आम्दा अस्पतालमा जाँच गराएकी थिइन । उनलाई त्यही बेलादेखि डाक्टरहरुले आन्द्रामा क्यान्सरको लक्षण सुरु भएको बताएका थिए । ‘रोग लागेको थाहा पाएर श्रीमान कुमार अर्काे विहे गरेर ३ वर्षअघिदेखि भारततिर गए । उनको कुनै अत्तोपत्तो छैन । मेरो रोग दिनदिनै बढ्दै गयो । हामी यता यसरी कन्तविजोक बनेका छौं ।’– हरिमायाले भक्कानिदै विलौना गाइन् ।

अहिले अस्वभाविक आकारमा उनको पेट फुलेको छ । काखको छोरोले अक्षर चिन्न स्कूल जाने बेला बित्दै गएको छ । आफनो शरीरमा रोगले च्याप्दै गएपनि हरिमायाका मनमा छोरो पढाउने हुटहुटीले पिरोल्न थाल्यो । यही हुटहुटीले आफुलाई पछिल्लो समय पहाडदेखि दमकसम्म ल्याएको उनले सुनाइन् । भन्छिन– ‘मेरो जिन्दगी त यस्तै उस्तैमा वित्ने भो । यो छोरोलाई पढाउन सहयोग मिल्छ कि भन्ने आशाले सबैसँग हात फैलाएकी हुँ ।’ पैसाकै लागि भन्दा पनि यो छोराको भविष्यका लागि आफूले यसो गर्नु परेको उनले जनाइन् ।

उनले छोरालाई कसैको जिम्मामा छोडिदिँदा पढाइदिने भन्नेहरु पाएकी छिन । तर काखको एउटा सन्तान त्यसरी सबै कुरा अरुको जिम्मामा लगाउन मन भने लागेको छैन । हरिमाया भन्छिन– ‘यति सानो छोरो यसलाई खुवाउनु, पियाउनु पर्यो, लुगाफाटो धोइदिनु पर्यो कसैले नानी लगेर त्यस्तो गर्लान कि नगर्लान त्यो टुंगो पनि हुँदैन । जतिञ्जेल बाँच्छु छोरो साथैमा राखेर पढाउन चाहेकी हुँ ।’ हरिमायाको यो अवस्था देखेर कतिपयले पत्रकारहरु भएको ठाउँमा जानु सहयोग मिल्छ भनेको उनले बताइन । दमकमा आएर दमक ५ बीबी मार्केट पछाडी एउटा सानो कोठा भाडामा बस्दै आएको ७ दिन भयो । छोरो पढाउनका लागि सहयोग मागिरहेकी हरिमायाका आफन्तहरु हुँदै नभएका त होइनन् । तर उनीहरुले आफनो अवस्था देखेर गरेको वेवास्ताका कारण ती आफन्तहरुको बारेमा उनी धेरै केही भन्नै चाहँदिनन् । ‘खरिब दुःखी मान्छे । पहाडमा पनि त्यस्तो सजिलो छैन । आफ्नो उपचार गर्ने र छोरो पढाउने हैसियत छैन । यता सहरतिर आउँदा छोराका लागि कुनै सहयोग मिल्न सक्लाकि, म पनि अलिबार बाँच्न केही औषधि किन्ने पैसा जुट्लाकि भनेर यता झरेकी हुँ ।’– दुखेको पेट समाउँदै भावविह्वल मुद्रामा दुखेसो पोखिन् ।

Author

You may also like