दमक, ०२ फागुन । दमक ३ स्थित ढुकुरपानी माध्यमिक विद्यालयको ६८ औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ ।
तीन दिने कार्यक्रम समापनका अवसरमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद नम्बरलाल धिमालले विद्यालयको प्रगतिका बारेमा प्रसंशा गरेका छन् । आफु विद्यालयको पूर्व विद्यार्थी समेत रहेको प्रसंग राख्दै शैक्षिक प्रदर्शनीले विद्यार्थीको सिकाईमा महत्वपूर्ण देन दिन सकेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईं, जिल्ला शिक्षा विकास प्रमुख राजकुमार विक, ३ नम्बर वडाध्यक्ष नवीन बरालले दमकको ऐतिहासिक विद्यालयको गुणस्तरीय शिक्षाका सन्दर्भमा बोल्दै शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रम समापनका अवसरमा प्रमुख अतिथि सहितका अतिथिमार्फत विद्यालयका अक्षयकोषदाता र पूर्व शिक्षकलाई सम्मान गरिएको छ । सम्मानित हुने अक्षयकोषदाता द्रोणाचार्य भण्डारी, चेवन शर्मा घोर्र्साई, नेत्रप्रसाद अधिकारी, हिमादेवी लुइटेल र कमला खनाल रहेका छन् । पूर्व शिक्षकहरु योगेन्द्र दुलाल, केशव दाहाल, विद्या पाठक घिमिरे, रामप्रसाद खनाल, कमला खनाल, उमानाथ पोखरेल, मेघराज न्यौपाने, नरेश शर्मा फूयाँल सहित १० जनालाई पनि सम्मानित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रघुनाथ भण्डारीले जनाए । त्यस अवसरमा विद्यार्थीहरु समेत वार्षिक पुरस्कार प्रदान गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालयप्रसाद दाहालको अध्यक्षताको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले विद्यालयको प्रगति प्रतिवेदन पेश गरेका थिए । वार्षिकोत्सवमा विज्ञान, गणित, अंग्रेजी, सूचना प्रविधि, बाल मन्टेश्वरी, बुक कर्नर र भाषिक प्रदर्शनी सहितका प्रदर्शनी गरिएको थियो । वि.सं २०१२ मा स्थापना भएको सो विद्यालयमा हाल १ हजार २ सय विद्यार्थी रहेका छन् ।