मुख्य

२०७ एकल पुरुषलाई मासिक भत्ता

फिक्कल, ४ पुस।

इलामको देउमाई नगरपालिकाले एकल पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेर नौलो काम गरेको छ ।
संघीय सरकारले एकल महिलालाई सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गरेकोमा उस्तै अवस्थाका ६० वर्ष पुगेका देउमाईका पुरुषका लागि भत्ता लिने नयाँ काम गरेको हो । पालिकाकाले कार्यविधि पारित गर्दै अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका पुरुषलाई रु एक हजार मासिक भत्ता वितरण गर्दै आएको एकल पुरुषको समेत जीवन सहज बनाउने उद्देश्यसहित एकल पुरुषलाई मासिक भत्ता दिन थालिएको देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलले बताए । देउमाईले गएको आर्थिक वर्ष २०७९/८० मा नगरभित्रका दुई सय सात जना एकल पुरुषलाई रु २४ लाख ८४ हजार भत्ता उपलब्ध गराएको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए । चालु आवमा भने गत वर्षको तुलनामा एकल पुरुषको सङ्ख्या १० जनाले घटेको छ । चालु आवको पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले भत्ता लिएका छन् । पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले पाँच लाख ९१ हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा एकल पुरुष भत्ताका लागि २८ लाख विनियोजन गरेको छ ।
तेस्रोलिङ्गीलाई पनि भत्ता
त्यसैगरी देउमाई नगरपालिकाले ४५ वर्ष उमेर पुगेका अविवाहित महिला र तेस्रोलिङ्गीलाई भत्ता दिँदै आएको छ । ४५ वर्ष उमेर पुगेका अविवाहित महिलालाई मासिक एक हजार र तेस्रोलिङ्गीलाई मासिक पाँच सयका दरले उपलब्ध गराउँदै आएको छ । गएको आवमा देउमाईका ८८ जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले १० लाख ५६ हजार पाएका छन् । चालु आवमा भने गत वर्षको तुलनामा दुईजना थप भएको छ । चालु आवको पहिलो त्रैमासिकमा ९० जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले दुई लाख ७० हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा ४५ वर्ष उमेर पुगेका अविवाहित महिला भत्ताका लागि १० लाख विनियोजन गरेको छ ।

Author

You may also like