झापा/ झापाको नयाँ प्रमुख जिल्ला अधिकारी
(सीडीओ) को रुपमा बन्धुप्रसाद बास्तोला आउने भएका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पामा कार्यरत सीडीओ बन्धुप्रसाद बास्तोलालाई झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको हो । उनी कार्यभार सम्हाल्न केहि दिनमा झापा आइपुग्ने बुझिएको छ । गृह मन्त्रालयले १६ जना सीडीओ र एक महानिर्देशकको सरूवा गरेको छ । अन्य ८ जना सहसचिवको पदस्थापन गरेको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निणर्य गर्दै सीडीओ, महानिर्देशक र सहसचिवको पदस्थापना तथा सरूवा गरेका हुन् ।
कपिलवस्तुका शंकरहरि आचार्य सुर्खेतको प्रमुख जिल्ला अधिकारी बनेका छन् । सुर्खेतका नारायणप्रसाद सापकोटा भोजपुर ल्याइएका छन् । भोजपुरका हरिप्रसाद घिमिरेलाई उदयपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । उदयपुरका जनार्दन गौतम तनहुँको प्रमुख जिल्ला अधिकारीका रुपमा सरूवा भएका छन् । गृह मन्त्रालयमा कार्यरत सहसचिव आनन्द काफ्लेको जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सरूवा भएका छन् ।