मानिस श्रमजीवी हो । उ श्रम गरिरहन्छ जीवन रहेसम्म । मेहेनत र परिश्रमले मानिस भोको रहन्न । भोको पेट खाली नराख्न नै मानिस रातदिन परिश्रम गरिरहन्छ । त्यही परिश्रम गरेर बचेखुचेको रकम कुनै एक सहकारीमा जम्मा गर्छ । सहकारीमा जम्मा गरेको रकमले उसले दैनिक जीवनयापनदेखि लिएर अनेकन खर्च धान्नका निम्ति जोहो गरेरै सहकारीमा रकम राख्छ । साँचो अर्थमा भन्ने हो भने सहकारी गरिवहरुका लागि एउटा बरदान भएको छ । हो आज यही सत्य – तथ्य र समय सापेक्ष एउटा समयसान्दर्भिक बिषयवस्तुमा केन्द्रित रहेर सहकारीको आवश्यकता सम्बन्धि एउटा लेख तपाईंहरु समक्ष प्रस्तुत गर्दैछु ।
प्रथमतः सहकारीको अर्थ बुझ्नुपर्दा बोलचालीको भाषामा सबै मिलेर काम गर्नु सहकार्य हो भनि त्यसैलाई नै सहकारिताको आधारमा भएको सहकार्य हो भनेर बुझेको पाइन्छ । अर्को साधारण अर्थमा बुझ्नुपर्दा – सह ( सङ्गसङ्गै ) समान, सहअस्तित्व, कार्य– काम गर्दै एकताबद्ध भएर, लामबद्द भएर, स्वतन्त्र भएर सहिष्णुताकासाथ अघि बढ्दै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र साँस्कृतिक हैसियत माथि उठाउन गरिएको सामूहिक प्रयासलाई नै सहकारी भनिन्छ । एउटा साझा उद्देश्यलिएर एउटै भौगोलिक क्षेत्र भित्रका ब्यक्तिहरुले आ – आफ्नो आर्थिक उन्नतिका लागि दुई वा दुई भन्दा बढी ब्यक्तिहरु मिलेर आ– आफ्नो आयको केही अंश नियमित रूपमा जम्मा गरी आयमूलक कार्य संचालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो । सहकारिताले विपन्नवर्गका मानिसहरुलाई आवश्यक परेको बेला सहयोग प्रदान गर्नुका साथै आपसी सदभाव र मित्रताको अभिबृद्दि गराउँदछ । यसका साथै सहकारिताले स्थानीय स्रोत र साधनहरुको बढी मात्रामा उपयोग गर्न सघाउँदछ । यिनै महान उद्देश्य बोकेर हाम्रो देश नेपालमा २०१३ चैत २० गतेको दिन चितवनमा ‘बखान सहकारी’ संस्थाको दर्ता भएको थियो । यसैदिनलाई राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउन थालिएको हो । यहाँसम्म आइपुग्दा नेपालको सन्दर्भलाई केलाउँदा सहकारी संस्थाहरुले आर्थिक क्रान्तिका लागि धेरै फड्को भने मारेकै हो, यो गतिलाई कसैले छेक्न सक्दैन । तर जुन तरिकाले सहकारी समन्वयमा चल्नुपर्ने हो, त्यो भने चल्नै सकेन । गाउँभरि नयाँ– नयाँ रुपधारी सहकारी संस्थाको स्थापना भयो । एउटै वडामा धेरै सहकारी स्थापना भएका छन् । न नियम, न बिधान, न अनुगमन, न मूल्यांकन सबै सेटिङ्गकै भरमा सहकारी अहिलेपनि चलिरहेकै छन् ।
यस्ता च्याउ उम्रिएझैं उम्रिदै गरेका सहकारी संस्थालाई सम्बन्धित सरोकारवाला निकायले तुरुन्तै बन्द गर्न सक्नुपर्छ । आज यसरी नै सहकारी संस्था नियम बाहिर रहेर खोलिदै आएको हुनाले पनि राम्रा र नाम चलेका सहकारीहरुको गरिमामा ठेस पुग्ला कि भन्ने डर बढ्दो छ । आज बाक्लो उपस्थिति भएका सहकारीहरु आपसमा साझेदारीका साथ मर्ज हुन सकेका छैनन् । पुराना सहकारी कति त बिस्थापित भएर गए भने कति त अहिलेपनि टाट पल्टिएका सहकारीहरु सहकारी ब्यबस्थापन नभएको कारण बन्द हुने अवस्थामा छ । दक्ष ब्यबस्थापन, सहकारीका सिद्धान्तको अपूरो र अधुरो ज्ञान र अल्पशिक्षा भएकै कारणले पनि सहकारी संस्थामा आशातित प्रगति हुन सकेन । सहकारी ऐनको प्रस्तावनामा कृषक, कालीगढ, कम पूँजीवाल र निम्न आय भएका वर्ग, श्रमिक, भूमिहीन तथा बेरोजगार वा सामाजिक विकासका लागि सहकारी संस्था गठन हुन सकेमात्र सहकारी संस्था सवल र सुदृढ हुन सक्छ तर दुर्भाग्यपूर्ण त्यो भने हुन सकेन । एकआपसमा खिचातानी, राजनीतिक भागबण्डा, कर्मचारी नियुक्तिमा परिवारवाद हावी हुँदै आएको हुनाले पनि सहकारीहरु नयाँ शिराबाट संचालन हुन सकेनन् । सहकारी संस्थाभित्र राजनीतिले जरो गाड्यो । यो हाम्रो पार्टीको त्यो अर्को पार्टीको हामीलाई यति पद चाहिन्छ नभए चुनावी मैदानमा उत्रने जस्ता फोहोरी खेल सहकारी संस्थाभित्र नेताहरुले खेले । यो क्रम हिजो मौलाएन जब देशमा लोकतान्त्रिक गणतन्त्र आयो अनि पो झनै मौलाएर गएकै कारणले सहकारी संस्थाहरुमा हिजोआज सही रूपमा उनीहरूको गतिविधि अघि बढेन । सहकारी संस्थाभित्र राजनीति छिर्नु हुन्न भन्ने थाहा पाइपाइ त्यही अनुरुपको संचालक समिति धमाधम बनिरहेका छन् । यो सहकारी सहकारी ऐन नियमावली भित्र नपर्ने विषयवस्तु हो भनेर स्पष्ट रूपमा सहकारी सिद्धान्तमा त उल्लेख गरिएको छ । सहकारी सिद्धान्तहरुमा सहकारितामा ऐच्छिक तथा खुला सदस्यता, प्रजातान्त्रिक नियन्त्रणको परिपाटी, सदस्यहरुको आर्थिक सहभागिता, स्वतन्त्रता र स्वायत्तता, शिक्षा र तालिम, पारस्परिक सहयोग, समुदायप्रतिको जिम्मेवारी भनेर स्पष्ट उल्लेख गर्दासम्म सहकारीका सदस्यहरु कर्तव्यबोधमा चुकेको अवस्था बिधमान छ । सहकारीतामा ‘प्रत्येक ब्यक्ति सबैका लागि र सबै व्यक्तिका लागि’ भन्ने महान विचारको साथ आफ्ना उद्देश्य र महान विचार बोकेर हिडेको संस्था आज सहकारीका बिचौलियाका कारण आज भएको साख गुमाइदिन उद्दत छन् नक्कली सहकारीकर्मीहरु । आज यिनीहरूकै अपारदर्शीका कारण कति सहकारीले बचतकर्ताहरुको रकम कुम्ल्याएर भागेका छन । यसको अनुगमन गर्ने निकाय गुमनाम जस्तै छ ।
जब काम बिग्रन्छ नि अनि सम्बन्धित सरोकारवाला निकायको कान खुल्छ र यसो भो, उसो भो भनेर अघि बढिरहेको अवस्था छ अहिले । आज सहकारी जसरी स्थापित हुन पुग्यो वा विश्वले सहकारीमार्फत गरिरहेको समृद्धिको परिकल्पनाको सिद्धान्त हाम्रो मुलुकको सहकारी अभियानमा पाइन्छ कि पाइदैन अनुसन्धान आवश्यक छ । किनभने सिद्धान्तविहीन सहकारी वास्तविकरूपमा सहकारी हुनै सक्दैन । तापनि झोले सहकारी अहिले पनि चलिरहेकै छन् । त्यसैले सहकारीका कारणले हुने प्रभाव, असर, सम्भावना, अवसर, चुनौती जस्ता विषयको जानकारीका लागि अनुसन्धानात्मक अभ्यास आजको आवश्यकता हो । यसमा सरकारले सहकारीलाई कुन हिसाबमा प्रयोग गर्ने हो त्यसका लागि अनुसन्धान अनिवार्य छ । आज जुनसुकै सरकार बनेर गएपनि सहकारी संस्थालाई आमूलपरिवर्तन कसरी गर्नुपर्छ भन्ने सोच कुनै सरकारीतर्फबाट हुन सकेन । सहकारीलाई मोडलका रुपमा प्रयोग गर्न सकिएकै छैन । सहकारी विभाग मातहतका विभागले सहकारी विशेष कार्यक्रमका लागि करोडौं – करोडको रकम छुटट्याउछ तर सबै रकम भत्ता र लत्तामै स्वाहा हुन्छ । टोपी, साडी, अनेकन ब्यानर लगायतमा हुने करोडौं खर्च एउटा कुनै शीर्षकमा विनियोजन गरेर तालिमको व्यबस्था गर्ने हो भने कतिले रोजगार पाउने थिए त, कति आफैं स्वरोजगार हुने थिए आजका युवायुवतीहरु । भन्नेहरुले हिजोपनि, आजपनि सहकारी समुदायमा आधारित साझा व्यबसाय हो भन्छन् । तर खोइ कार्यान्वयन ? यसलाई परिमार्जन गरेर लैजाने हो भने यो समुदायको साझा आवश्यकता र आकाङ्क्क्षाहरु संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणका माध्यमबाट पूरा गर्ने संगठित संस्थाको रुपमा सहकारी व्यबसाय सबैले संचालन गर्दै लानसक्नु पर्यो । अहिले मानिस सहकारीमा जोडिनुको पछाडि अर्को पाटो प्रमुख भएको छ । जस्तो शेयर, बचत, ऋण, लगानी, उत्पादन, वितरण र मुनाफा नै हो । सहकारीबाट हुने मुनाफामा आर्थिक समृद्धि र सामाजिक एकीकरण अन्तर्निहित छन् । समुदायमा समाजमा खर्च गरिने हुँदा निजी स्वार्थ हटेर जान्छ र सम्पूर्णरूपमा समाज एकीकृत हुन्छ । सहकारीलाई बुझ्न असल अभ्यास र प्रयोग गर्नुपर्दछ र यसमा राज्य र सहकारी क्षेत्र दुवैको महत्वपूर्ण भूमिका हुनुपर्दछ । तर त्यो समन्वय अहिलेसम्म हुन नसकेको हुनाले आज एउटा सहकारीका बग्रेल्ती शाखा खोलिएर आर्थिक कारोबार गरिरहेका कति सहकारी सही रूपमा संचालन नभएको हुनाले एकआपसमा सहकार्य गरेर अघि बढ्न सके सहकारी संस्थाले आर्थिक क्रान्तिको ढोका खोल्ने छ । नभए यो संस्थापनि आगामी दिनमा लथालिङ्ग र भताभुङ्ग हुने कुरामा निश्चितप्रायः छ ।
अन्त्यमा, सहकारी संस्थाभित्र विद्यमान देखिएको समस्या र चुनौतीका पहाडहरु सम्याउँदै भ्रष्टाचार, अनियमितता, सहकारी संस्थामा राजनीतिक हस्तक्षेप बन्द हुनसक्नुपर्छ । यसमा सबै सहकारीकर्मीहरु र अभियन्ता सहकारी ऐन सम्बन्धि विभिन्न किसिमका नीति बनाई कडाइका साथ लागु गर्न सबै जुटौं, सबै उठौं । परिवर्तित सहकारी आजको आवश्यकताको महान कार्यमा हामी सबै एकिकृत होऔं ।