दमक, २६ मंसिर
अमेरिकास्थित टेक्सास च्याप्टरको अध्यक्षमा भूपेन्द्र न्यौपाने चयन भएका छन् । टेक्सासको अर्भिङमा टेक्सासमा रहेका झापालीहरुको भेलाले चयन गरेको दश सदस्यीय कार्यसमितीको सचिव र कोषाध्यक्षमा क्रमशः सन्तोष खडका र लक्ष्मी ढुंगानालाई चयन गरेको त्यहाँबाट पत्रकार एवं समिति सदस्य गोपाल गड्तौलाले जानकारी गराएका छन् ।
सदस्यहरुमा, रोशन विमली, मनोज राई, गोपाल गड्तौला, सुलभ विमली, विप्लव कटुवाल, विकेन्द्र बोहोरा र अभिषेक राई चयन भएका छन् ।
सो अवसरमा गैह्र आवासीय नेपाली संघका आइसीसीमा क्षेत्रीय संयोजक (अमेरिका) बेद बस्नेत, झापाली समाज अमेरिकाका अध्यक्ष यमुना भट्टराई, महासचिव निलम विमली, झापाली समाज टेक्सासका निवर्तमान अध्यक्ष डाक्टर पर्शुराम दाहाल, नेपाल अमेरिका पत्रकार संघ (नेजा) अध्यक्ष सुरज भण्डारी, महासचित्र बाबुराम दाहाल सहितले मन्तव्य व्यक्त गरे । एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, एनआरएन टेक्सासका अध्यक्ष दिपेन्द्र गुरागाँई, समाजका सल्लाहकार डाक्टर दिनेश मैनाली लगायतले प्रवासमा रहेका सबैले आआफ्नो ठाँउको विकास र परोपकार कार्यमा निरन्तर हातेमालो गर्नुपर्नेमा जोड दिए ।
६ बर्षअघि स्थापित झापाली समाज अमेरिकाले झापाका केचनाकवल, झापा गाँउपालिका र शरणामतीमा समेतगरि तिन स्थानमा स्थानीय सरकार र रेडक्रससँगको सहकार्यमा एम्बुलेन्स सञ्चालन गरिरहेको छ । झापामा गरिव तथा जेहेन्दार ८१ र रौतहटमा १० समेत ९१ बालबालिकालाई वार्षिक जनही २१ हजारका दरले छात्रबृत्ति प्रदान गरिरहेको छ ।
झापा विकास मञ्च काठमाडौं र झापा जिल्ला सहकारी संघसँग सहकार्य गरिरहेको समाजले झापाको शैक्षिक विकासको लागि १ करोडको अक्षयकोषको स्थापना गरिसकेको छ । सो अक्षयकोष थप १ करोड बृद्धि गर्ने पनि समाजले जनाएको छ ।