दमक।११ मंसिर
दमक नगरपालिकाले विभिन्न ७ वटा योग साधना केन्द्रहरुलाई हुने गरेर १७५ थान योग म्याट वितरण गरेको छ । आइतबार नगरपालिकाको प्राङ्गणमा दमक नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले ति योग म्याट सम्बन्धित योग साधना केन्द्रहरुलाई एक संक्षिप्त कार्यक्रमका बीच हस्तान्तरण गरिन् । त्यस अवसरमा नगर उप–प्रमुख भट्टराईले मानिसलाई रोग लाग्न दिनुभन्दा रोग लाग्न नदिन गरिने योग साधना गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले योग म्याट निःशुल्क वितरण गरिएको जानकारी गराइन् ।
ति योग म्याटहरु दमक नगर उप–प्रमुखको कोषबाट रकम खर्च गरी उपलब्ध गराइएको हो । योग म्याट सबैभन्दा पहिले मेची योग साधना केन्द्रका योग प्रशिक्षक तथा युवा सामाजिक व्यक्तित्व रमेश दाहाललाई वितरण गरियो । त्यसपछि क्रमशः पतञ्जली योग दमक समिति एभरेष्ट साधना केन्द्र दमक–८, त्रिपुरेश्वर योग साधना केन्द्र दमक–२, पशुपति योग साधना केन्द्र दमक–६, पातञ्जल योग समिति पशुहाट मुनि शिवालय हल दमक–८, सरस्वती मा.वि. योग साधना केन्द्र दमक–९ र हरि नेपाल स्मृति प्रतिष्ठान दमक–२ लाई उप–प्रमुख भट्टराईले हस्तान्तरण गरेकी थिइन् । उप–प्रमुख भट्टराईले नगरपालिकाले उपलब्ध गराएको योग म्याटको सही सदुपयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरिन् । योग म्याट बुझेर लैजाने मेची योग साधना केन्द्रका योग प्रशिक्षक रमेश दाहालले पनि प्राप्त योग म्याट आफूहरुको लागि हौसलाको कुरा भएको भन्दै नगरपालिकालाई धन्यवाद व्यक्त गरे । दाहालले योग म्याटको सक्दो सदुपयोग गरिने प्रतिवद्धता जनाए । यसअघि पनि दमक नगरका विभिन्न सामाजिक संंस्था तथा योग साधना केन्द्रहरुलाई योग म्याट वितरण गरिएको उप–प्रमुख भट्टराईले बताइन् ।