दमक, २७ असोज –
चुलाचुली रंगमञ्च इलामले जंगल अवस्थामा रहेको क्षेत्रमा कसरी बसोवास अघि बढ्यो भन्ने इतिहासलाई खोतल्दै ‘झोडा’ नामक नाटकको शुक्रबारबाट दमकमा प्रदर्शन सुरु गरेको छ ।
असोज ३० सम्म ५ दिन दमकको किरात भवनमा सो नाटक टिकटमा प्रदर्शन हुनेछ । साहित्यकार गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनि’मा आधारित रहेर यसका निर्देशक चेतन आङथुपो ‘डर’को परिकल्पना/निर्देशनमा सो नाटक तयार भएको हो ।
वि.सं. २००० सालताका पहाडबाट तराई बसाईं झर्ने क्रम सुरु हुँदै गएर सरकारले केहि क्षेत्रमा बस्ने अनुमति दिएपछि जंगल फाँडेर बसोबास गर्न थालेको अवस्था हो । कतिपय ठाउँमा सरकारले बस्न नदिएको परिस्थिती थियो । त्यो बेलादेखि झोडा फाँडेर ऐलानी जग्गामा बसोबास गरेको दशकौं भएपनि त्यसको दर्ता प्रक्रिया पुरा नगरिदिँदा झोडाबासीका रुपमा स्थानीयले समस्या भोगिरहेको विषयवस्तु नाटकमा छ ।
नटकमा, मनकुमार योङ्गहाङ, रमिला राई, उदय बेघा, मनिस मगर (प्रविण), बन्वो लामा, मिना नेम्बाङ, मनिक शंकर, युगल लिम्बू, दिपक खरेल, प्रविण भण्डारी, चेतना आचार्य, बविना राई, विपिसा राई प्रिन्स तामाङको अभिनय रहने छ । ध्वनी व्यवस्थापनमा बालकृष्ण राई, ताया राई, आशा सावा, दीपेश मगर, स्वस्तीका लिम्बु र एमपी मगर छन् । सुरस सम्पाहाङ राईको निर्माण, सुमन लिङदेनको नाट्य रुपान्तरण र सूर्य लिम्बूको व्यवस्थापनमा फरक तथा ऐतिहासिक विषयको नाटकले दर्शकले रुचाएका छन् ।