मुख्य सम्पादकीय

सहिदभूमि विवादित बन्नुहुँदैन

झापा विद्रोहका नेताहरु सहादत भएको क्षेत्र सुखानी विवादित हुनु दुखद् पक्ष हो । सहिद सबैका साझा हुन् । सहिद उसको या त्यसको भनेर अंशवण्डा गर्ने कुरा होइन । सहिदको रगतले भिजेको माटो पनि साझा नै हुनुपर्दछ । सहिदभूमि विवादित हुनु विकास संरचनाका हिसावलेमात्र नभएर नैतिकता, इमान्दारिताका हिसावले पनि लज्जाको विषय हो ।
पछिल्लो समय सुखानी क्षेत्रलाई आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने भनेर यसअघिनै सो क्षेत्र सामुदायिक बनलाई हस्तान्तरण गर्ने सहमति भइसकेको छ । अहिले विवादित सीमाको विषय वाहिर आएको हो । सामुदायिक बनसँग पर्यटन प्रवर्धन गर्ने योजना सहित वनलाई सो क्षेत्र हस्तान्तरण गरिएको भएपनि अहिलेसम्म पर्यटन प्रवद्र्धनका लागि भने कुनै पहल भएको छैन । केही संरचना बनाउन अब सामुदायिक वनसँग सहमति लिनुपर्ने हुन्छ ।
सुखानीका सहिदले सहादत प्राप्त गरेको ठाउँ भौगोलिक हिसावले इलामको भूमि भएपनि सहिदहरुको स्मृतिमा गरिने कार्यक्रमहरु र संरचनागत हिसावले झापाले उपयोग गर्दै आएको सो क्षेत्र पछिल्लो समय सामुदायिक वनलाई हस्तान्तरण गरिएपछि सहिद भूमि थप विवादित भएको हो ।
झापा आन्दोलन या विद्रोह कुनै आकस्मिक घटना होइन । वास्तवमा झापा विद्रोह सामन्तवाद र साम्राज्यवादका विरुद्ध हतियार उठाएको नेपाल कम्युनिष्ट आन्दोलनभित्रको पहिलो ऐतिहासिक घटना भने अवश्व हो ।
विद्रोहकै माध्यमबाट वर्गसत्रु खतम गर्ने अभियान लिएर सुरु भएको झापा विद्रोहको पहिलो कारबाही २०२८ साल जेठ २ गते रामनाथ दाहालको नेतृत्वमा झापा ज्यामिरगढीका एक जमिनदारको हत्या गरेर भएको थियो । यसलाई झापा विद्रोहको पहिलो कारबाही मानिएको छ ।
सुखानी हत्याकाण्ड आफैमा एक दुःखद् तथा विभत्स घटना भए पनि नेपाली राष्ट्रिय राजनीतिमा यसलाई एउटा ऐतिहासिक कडीको रुपमा मान्न सकिन्छ । यो घटनाले झापा आन्दोलनलाई राष्ट्रिय राजनीतिमा केन्द्रको रुपमा स्थापित गरेको छ ।
तर अझैपनि नेपाली कम्युनिष्ट आन्दोलन विगतको अवसरवाद, वैधानिकतावादी चिन्तन, दक्षिणपन्थी रुझान तथा आत्मसमर्पणवादबाट मुक्त भई कार्यनीतिक तथा रणनीतिकरुपले नेपाली सर्वहारा जनताको लडाकु तथा भरपर्दो राजनीतिक सम्पत्ति बन्न सकेको छैन ।
हुन त केन्द्रीकृत सामन्त शाही राज्यसत्ताले नेपालमा लामो समयदेखि जातीय, वर्गीय, क्षेत्रीय, लिङ्गीय विविध खाले चरम शोषण र उत्पीडन थोपर्दै आएको थियो । विश्वका धेरै देशहरुमा त्यहाँका जनताले शिक्षा तथा प्रगतिको अनुभूति गरिरहेको अवस्थामा नेपाली जनता भने निरंकुश शाह र राणाको अन्धकार शासनमुनि तड्पाइरहेका थिए । परिणाम स्वरुप विद्रोह शुरु भएको थियो, भएपनि झापा आन्दोलनले आफ्नो क्रान्तिकारी कार्यदिशा या कार्यनीतिलाई एक दशकभन्दा बढी लिएर जान सकेन । तर, पनि यसको ऐतिहासिकता भने नेपाली वाम आन्दोलनमा चिरस्थायी बन्न पुग्यो र पछिल्लो पुस्तालाई यसले चलाएको वर्गसंघर्षले प्रभावित गर्दै आएको छ ।
पछिलो समयमा कम्युनिष्ट नामधारी पार्टीका नेतृत्वले झापा विद्रोह र सुखानी हत्याकाण्डका सहिदहरुको सपनालाई भुल्दै गएका छन् । सहिदहरुको त्याग र वलिदानीलाई अंशवण्डा गरिनुले परिर्वतनका पक्षधरहरुको समेत अपमान र लज्जाबोध भइरहेको आभास हुन्छ । सुखानीका सहिदहरुको सपना किसान, मजदुर र उत्पिडितहरुलाई एकताबद्ध गराएर परिर्वतन र अग्रगमनका पक्षमा डोहोर्याउँदै गरिखाने वर्गको राज्यसत्ता स्थापना गर्नु हो, यो अभियान छरपष्ट भएर आफ्नो आफ्नो ढंगले डम्फु बजाएर सम्भव छैन ।

Author

You may also like