मुख्य सम्पादकीय

विद्यार्थी सुरक्षाको प्राथमिकता आवश्यक

नेपाली युवा विदेशिनु रहर नभएर बाद्यता भएको छ । श्रमिकका रूपमा गएका हजारौँ नेपाली विदेशिएका छन् । अहिले इजरायलमा रहेका नेपालीको जीवन जोखिममा परेपछि सिंगो नेपाल शोकमा परेको छ । गत शनिबार बिहान इजरायलमाथि प्यालेस्टिनी कट्टरपन्थी इस्लामिक समूह हमासले आक्रमण गर्दा दस जना नेपाली विद्यार्थीको हत्या भयो । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका दस जना विद्यार्थीको मृत्यु, चार जना घाइते र एक जना हराइरहेकाले आमनेपाली यतिबेला चिन्तित छन् । मर्नेहरुको श्रदाञ्जली स्वरुप सरकारले राष्ट्रिय शोकको घोषणा गरेको थियो ।
मित्रराष्ट्र इजरायलमा ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत नेपालका कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गरी २६५ जना विद्यार्थी इजरायलमा गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयका १७ जना इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययन गरिरहेका अवस्थामा यो दुःखद घटना भएको हो ।
हमासले गरेको आक्रमणको घोर भत्र्सना गरेको नेपाल सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निणर्य गरेको छ । मन्त्रीपरिषदले उद्धारको निम्ति जहाज पठाउने निणर्य गरिसकेको छ ।
यस अघि इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निणर्य लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले समन्वय र उद्धारको निणर्य गरिसकेको छ । बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निणर्य पनि गरेको छ ।
इजरायलमा नेपाली काम गर्न जान थालेपछि र त्यहाँ नेपाली कामदारको माग बढेपछि नेपालले सन् २००७ अगस्त १३ मा इजरायलमा दूतावास खोलेको थियो । त्यहाँस्थित दूतावासले हमासको निसाना बनिरहेका र सम्भावित अन्य क्षेत्रमा रहेका आफ्ना नागरिकको अवस्थाबारे जानकारी लिई उनीहरूको चाहना अनुसार स्थानान्तरण वा स्वदेश फर्काउने प्रबन्ध मिलाउन तीव्र सक्रियता देखाउन आवश्यक छ ।
द्वन्द्व लम्बिने सङ्केत देखिइरहेको यो अवस्थामा विप्रेषणभन्दा ज्यान ठुलो ठानेर शव मात्र होइन, स्वदेश फर्कन चाहनेलाई पनि विमानमार्फत ल्याउन कूटनीतिक पहल अगाडि बढाइनु जरुरी छ ।
अहिलेसम्म नेपालीको सुरक्षित श्रम गन्तव्य मानिएको इजरायलमा रहेका साढे पाँच हजार नेपाली कुनै हिंसात्मक द्वन्द्वमा संलग्न हुन गएका होइनन् । हमास चरमपन्थीहरूले एक्कासि गरेको आश्चर्यजनक आक्रमण र इजरायलले गाजापट्टीमा गरिरहेको प्रत्याक्रमणमा सयौँ जनाको ज्यान गइसकेको छ, कैयौँ घाइते र हजारौँ विस्थापित बनेका छन् ।
सरकारले नेपाल इजरायल र इजरायली जनताको पक्षमा रहेको सन्देश दिएको छ । मित्रराष्ट्र इजरायल सरकारले पनि त्यहाँ लगेका नेपाली कामदार तथा विद्यार्थीको जीवनप्रति संवेदनशील भएर तिनको सुरक्षालाई प्रााथमिकता देओस् भन्ने आम नेपालीको अपेक्षा छ ।

Author

You may also like