उर्लाबारी, २२ असोज-
सामुदायिक क्याम्पसमा विद्यार्थी आकर्षण बढाउने उद्देश्यले उर्लाबारी नगरपालिकाले नगरको एक मात्र सामुदायिक क्याम्पस उर्लाबारी बहुमुखी क्याम्पसलाई बस प्रदान गरेको छ ।
उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले आइतबार नगरपालिका परिसरमा एक कार्यक्रमकाबीच बससहित साँचो उर्लाबारी क्याम्पसका अध्यक्ष पुष्प ढकाललाई हस्तान्तरण गरेका हुन् ।
अघिल्लो कार्यकालमा विद्यालय तहमा शिक्षाको गुणस्तर खस्किएको स्थानीयको गुनासो रहेको थियो । तर नगरप्रमुख खरेलको आगमनसंगै उर्लाबारीको शिक्षामा बजेटको मात्रा बढाउँदै सरकारी तथा सामुदायिक विद्यालयको गुणस्तर सुधारको अनुभूति गर्न थालिएको छ । बस हस्तान्तरण कार्यक्रममा नगरप्रमुख खरेलले शिक्षा क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको भन्दै भौतिक पूर्वाधार, यातायातको व्यवस्थापनले विद्यार्थीहरुको शैक्षिक स्तर बढ्ने अपेक्षा रहेको बताए ।
नगरपालिकाको सिफारिसमा भैरहवा भन्सार कार्यालयले शुन्य प्रतिशत छुट गरेको अध्यक्ष ढकालले जनाउदै ३३ लाख रकम खरिद मूल्य पर्न गएको उल्लेख गरे । उनले नगरपालिकाको शतप्रतिशत अनुदान सहयोग रहेको टाटा मोटर्सको ‘मार्कोपोलो’ बसमा चालकसहित ५५ सिट रहेको छ ।
कार्यक्रममा उपप्रमुख मीना खतिवडा पौडेल, प्रशासकीय अधिकृत मुरारी घिमिरे, जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिना, क्याम्पसका तर्फबाट संचालक समिति अध्यक्ष पुष्प ढकाल, क्याम्पस प्रमुख खेमराज कार्की, सदस्य मुक्तिप्रकाश न्यौपाने, गजेन्द्र दंगाललगायतको उपस्थिति रहेको थियो ।