देश–समाज मुख्य

१७ वर्षसम्म पनि कार्यान्वयन भएन ज्येष्ठको ऐन

पंकज दाहाल-
दमक, १६ असोज-
ज्येष्ठ नागरिक ऐन २०६३ बनेको १७ वर्ष वितिसक्दा पनि पूणर् कार्यान्वयनमा आउन सकेको छैन । स्वास्थ्योपचारमा ५० प्रतिशत छुट भनेपनि सीमित सरकारी अस्पताल बाहेकका स्वास्थ्य संस्थाहरुमा यो व्यवस्था व्यवहारमा आउन सकेको छैन, निजी अस्पतालहरुमा त यो शत प्रतिशत लागु छैन, अर्कातर्फ सार्वजनिक सवारीका साधनहरुमा यातायात भाडामा ऐनमा भएको ५० प्रतिशत छुटको व्यवस्था सरकारले लागु गर्न सकेको छैन । त्यस्तै अधिकांश नवयुवाहरु काम र पढाईको सिलसिलामा विदेश पलायन भइरहँदा यहाँका ज्येष्ठ नागरिकहरुको लालन पालन, स्याहार सुसार, संरक्षण र सम्मानको सवाल दयनीय बन्दै गएको मोरङको विराटनगर महानगरपालिका-१ विष्णुमाया चौकस्थित विष्णुमाया पुस्तकालयका अध्यक्ष केशव गौतमले बताएका छन् ।

ऐनमा ६० वर्षमाथिकालाई ज्येष्ठ नागरिक भनिएकोमा सामाजिक सुरक्षा भत्ता भने ७० वर्षमाथिकालाई दिएर विभेद गरिएको पनि उनले बताएका छन् । अहिले मासिक ४ हजार मात्र दिइरहेको सामाजिक सुरक्षा भत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्ने उनको सुझाव छ । ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने सन्दर्भमा शनिबार (अक्टोबर १ तारिख) का दिन ज्येष्ठ नागरिक महासंघ कोशी प्रदेश समितिले विष्णुमाया पुस्तकालयको सभाहलमा आयोजना गरेको मूल समारोहमा कार्यपत्र पेश गर्दै प्रस्तोता गौतमले यस्तो सुझाव दिएका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ज्येष्ठ नागरिकको जनसंख्या २९ हजार ७७ लाख ३१८ रहेको छ । यो कुल जनसंख्याको झण्डै १० प्रतिशत हुन आउने जनाउँदै बढ्दो औषत आयु र घट्दो जन्म दरका कारण यो जनसंख्या अझै बढेर जाने र ज्येष्ठ नागरिकको व्यवस्थापन भविष्यमा चुनौतीको विषय बन्ने उनले त्यस अवसरमा प्रकाश पारे । ऐनमा भनेअनुसार ज्येष्ठ नागरिकका लागि सबै पालिकामा दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक क्लब, हेरचाह केन्द्र, पौडी पोखरी, मनोरञ्जन स्थल केहीको पनि व्यवस्था भनेजति हुन नसकेको उनको कार्यपत्रमा उठाइएको विषय हो । अल्जाईमर, पार्किन्सन र बुढ्यौलीमा लाग्ने रोगको निदानका लागि छुट्टै अस्पताल बनाउने कार्य गर्नुपर्ने सुझाव पनि उनले राखेका छन् ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा आयोजना गरिएकोे सो कार्यक्रममा मानवअधिकार अभियन्ता देवी बाँस्कोटाले ‘अन्तर-पुस्ता दूरी ः अवधारणा, अभ्यास र भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा नयाँ पुस्ता र पुरानो पुस्ता बीचको बढ्दो दूरीलाई कम गर्न अन्तरघुलन लगायतका अभ्यासहरु गर्नुपर्ने उल्लेख गरिएको छ । उनले ज्येष्ठ नागरिकको सम्मानित र मर्यादित जीवनका लागि नयाँ पुस्तालाई के कस्तो व्यवहार गर्ने भनेर सचेतना जगाउने खालका कार्यक्रमहरु गर्नुपर्ने कुरा अघि सारेका छन् । उल्लिखित दुवै कार्यपत्रहरुमाथि प्रा. डा. भेषराज धमला र प्रा. कविराज न्यौपानेले सटिक टिप्पणी गरेका थिए ।

आयोजक ज्येष्ठ नागरिक महासंघ कोशी प्रदेश समितिका अध्यक्ष मणिकुमार अज्र्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सिर्जना राईले ज्येष्ठ नागरिकहरु जिउँदा देवता भएकाले उनीहरुलाई सम्मानित र मर्यादित व्यवहार गर्नुपर्ने बताइन् । त्यसका लागि नयाँ पुस्ता अझ त्यसमा पनि परिवारका सदस्यहरुलाई ज्येष्ठ नागरिकहरुको योगदान र महत्वका बारेमा अवगत गराउन र उनीहरु प्रति सम्मानको भावना जगाउन सचेतना अभियान चलाउनुपर्ने उनको भनाई थियो । वैचारिक र व्यवहारिक हिसावले परिपक्व ज्येष्ठ नागरिकको संरक्षण र सम्वद्र्धनका लागि आवश्यक नीति, कार्यनीति बनाउने पक्षमा आफूहरु रहेको साथै सरकारमा रहे पनि र नरहेपनि सदैव उनीहरुको हक, हित र कल्याणका लागि आफूहरुले सदैव काम गर्ने राज्यमन्त्री राईले प्रष्ट पारिन् । त्यस्तै सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले नेपालका ज्येष्ठ नागरिकहरुले हाल एक्लो र एकांगी जीवन विताउनु परेको यथार्थ केलाउँदै उनीहरुको सम्मानित र मर्यादित जीवनका लागि परिवारका सदस्यहरुले आफ्नो कर्तव्य र दायित्व पूरा गर्नुपर्ने बताइन् । राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेशका प्रमुख पवन भट्टले ज्येष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभवको राज्य र समाजले सही सदुपयोग गर्नुपर्ने बताए । कार्यक्रमको संचालन ज्येष्ठ नागरिक महासंघ कोशी प्रदेश समितिका सचिव जय प्रसाद संग्रौलाले गरेका थिए भने ज्येष्ठ नागरिकहरु क्रमशः झापाका विश्वप्रसाद अधिकारी, उदयपुरका भिमप्रसाद पोखरेल, मोरङका भादनरसिंह कार्की, सुनसरीका गोविन्द बहादुर अधिकारी, इलामका तोयानाथ भट्टराई, पाँचथरका भानुभक्त गुरागाई, धनकुटाका टिका प्रसाद गुरागाई, ताप्लेजुङका पुष्पलाल ओझा र खोटाङका भिम बहादुर कार्कीलाई नगद सहित सम्मान-पत्र र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तिहरुका तर्फबाट उदयपुरका भिमप्रसाद पोखरेलले आफ्ना अनुभव र अनुभूतिहरु सुनाएका थिए ।

Author

You may also like