आज हरितालिका तीज । तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउदै आएका छन् । गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ ।
हरितालिका शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्या गरिरहिन् । तर, उनको तपस्या सफल हुन सकेन । जगतका पालनकर्ता भगवान विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भन्ने लागेर उनले भगवान विष्णु (हरि) को प्रार्थना गरिन् र विष्णुले भगवान शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलीविस्तार लगाए । सोही अनुरुप पार्वतीले पुनः शिवको आराधान जारी राखिन् । पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिए । यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजाआराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् । त्यसैले यो पर्व हरितालिका ‘हरिले दिएको तालिकाअनुसार गरिने पूजा’को नामले प्रचलित हुन पुग्यो । विवाह गरी पतिका घर गएका छोरीचेलीलाई यस दिन माइत ल्याउने चलन छ । अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै शिवको व्रत-आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत-आराधना गर्छन् ।
तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खाने चलन छ । महिलाहरूले भोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्छन् । तीजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान शिव खुसी हुने र परिवारमा सुखसमृद्धि मिल्ने जनविश्वास छ । यस दिन यस दिन महिलाहरू राता लुगा र गहनामा सजिएर विवाहित तथा अविवाहित महिलाहरू शिवमन्दिर अथवा ठूलो चौर तथा घर घरमा भेला भएर दिनभरि नाचगान गर्छन् । कन्याहरू पनि व्रत र नाचगानमा सरिक हुन्छन् । दिनभरि निराहार व्रत बसेका महिलाहरू साँझ शिवको पूजा गरेर कन्यालाई टीका लगाई दक्षिणा दिएर फलाहार खान्छन् ।

श्रीमद्भागवत महापुराणको अर्को प्रसङ्गअनुसार भाद्र कृष्ण अष्टमीको दिन भगवान श्रीकृष्णको जन्म भयो । श्रीकृष्णको जन्मभएको ११औं दिन अर्थात नामकरणको दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली साटासाट गरे । यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुग्यो । हिन्दुको पर्वका रुपमा सुरु भएपनि पछिल्ला समयमा सवै जातजाति यस पर्वमा सरिक हुने गरेका छन् ।
-गणेश चौथी-
तीजको भोलिपल्ट भाद्र शुक्ल चतुर्थीको दिन पर्ने गणेश चौथी विश्वभरिका हिन्दु धर्मावलम्बीले शिवपुत्र भगवान् गणेशको आराधना गरी मनाउने गर्छन् । यस दिन नेपालको कार्यविनायक, सूर्यविनायक, कमलविनायक आदि गणेशका मन्दिरहरूमा भगवानको आराधना गर्न भक्तजनहरूको भीड लाग्ने गर्छ । श्रीकृष्णको जन्मभएको ११औं दिन अर्थात नामकरणको दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली साटासाट गरेका थिए । यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुग्यो ।
-ऋषिपञ्चमी –
तीजको पर्सिपल्ट अर्थात पञ्चमीको दिन महिलाहरूले रजस्वलाको समयमा भएका त्रुटी तथा दोषको निवारण गर्न ऋषिहरूको पूजा गर्छन् । ऋषिपञ्चमीको दिनमा अरुन्धतीसहित सप्तर्षि कश्यप, अत्री, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वसिष्ठको पूजा गर्नाले रजस्वलाको समयमा भएका त्रुटिहरू नष्ट हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यस दिन महिलाहरू नजिकैको नदी तथा पोखरीमा गई ३६५ दत्तिउनले दन्तमञ्जन गर्दछन् । शरीरमा गाईको गोबर र माटो लगाएर स्नान गर्छन् । स्नान गर्दा ३६५ पटक नै नुहाइन्छ । त्यसको लागि गनौती अर्थात गनिएका जौ, तिल र चामल चाल्नीमा राखेर माथिबाट पानी खन्याई नुहाउने चलन छ । नुहाइसकेपछि महिलाहरू पवित्र भएर ऋषिपूजा गर्छन् ।
धार्मिक तथा सांस्कृतिक महत्व रहेको तीज पर्वले पुरुषप्रधान देश नेपालमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलाहरूलाई बाहिर निस्कन प्रेरित गर्ने र आफ्ना पीरमर्का अरुसमक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्व पनि त्यत्तिकै छ । तर अचेल उच्छृङ्खल र भड्किला गीत गाउने, शृङ्गारको नाममा गहनाको प्रदर्शन गरी समाजमा प्रतिष्ठित बन्न खोज्ने, नाचको निहूँमा अङ्गप्रदर्शन गर्ने जस्ता विकृतिहरू तीजको समयमा व्यापक भएको पनि टिकाटिप्पणी हुने गरेको छ ।

Author

You may also like