पंकज दाहाल-
दमक, ३० भदौ-

५९ औं राष्ट्रिय बाल दिवस देशभरका विद्यालय तथा समुदायमा विभिन्न कार्यक्रम गरी भव्य र सभ्य ढंगबाट मनाइएको छ ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ विद्यार्थीहरुबीच सृजनात्मक कार्यक्रम गरी शुक्रबार बाल दिवश मनाइएको छ । यसैक्रममा झापाको दमक र गौरादहमा पनि विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयहरुले नृत्य, गायन, सम्मान, पुरस्कार, तीज विशेष गीत, नृत्य, प्रभातफेरि, कोणसभा लगायतका कार्यक्रम साथै तीजको उपलक्ष्यमा बालबालिकालाई दर खुवाएर बाल दिवस मनाइएको हो । त्यस अवसरमा आयोजित औपचारिक कार्यक्रममा वक्ताहरुले बाल दिवसलाई वर्षमा एक दिन मात्र सम्झेर नभइ बालबालिकाको हक, हित, अधिकार, कल्याणका लागि निरन्तर आवाज उठाउनुका साथै आवश्यक काम कारवाही गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
दमक–६ स्थित कोशी प्रदेशकै उत्कृष्ट विद्यालय ग्लोबल एजुकेशनल एकेडेमीले विद्यालय परिसरमा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रम, सम्मान र पुरस्कार वितरण समारोहका प्रमुख अतिथि प्रदेश सांसद होम बहादुर थापाले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गरी उनीहरुलाई निरन्तर मिहेनतका साथ अध्ययनको कार्यमा लाग्ने उत्प्रेरित गर्नुपर्ने बताए । उनले ग्लोबल एकेडेमीले बालबालिकालाई ज्ञान र असल संस्कार दिलाएर महत्वपूर्ण सामाजिक तथा शैक्षिक योगदान पु¥याएको भन्दै भावी दिनका लागि उत्तरोत्तर प्रगतिको शुभकामना दिए । कार्यक्रमको अध्यक्षता गरेकी सो विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष इन्दिरा बस्नेतले प्रविधि मैत्री वातावरण सिर्जना गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा आफूहरु प्रयत्नशील रहेको बताइन् । तर यस्तो कार्यका लागि दैनिक योजना बनाउने, कार्यक्रम तय गर्ने र तिनलाई कार्यान्वयन गर्ने दिशामा लाग्नुपर्नेमा उनीहरुको जोड थियो । ग्लोबल एकेडेमीले समाजका विभिन्न क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने ४ जना व्यक्तित्वहरुलाई नगद जनही ५ हजार, दोसल्ला र सम्मान पत्रले सम्मानित पनि गरेको छ । यसरी सम्मानित हुनेहरुमा प्याब्सन झापाका पूर्वअध्यक्ष मनोज कुमार साम्पाङ राई, साहित्यकार तोया चापागाइँ, चलचित्र कलाकार हेमन्त बुढाथोकी र डाइनामिक पब्लिक लाइब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपाने रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि थापा, कार्यक्रमकी अध्यक्ष बस्नेत, शिक्षा समिति संयोजक तथा पूर्व विव्यस अध्यक्ष खेम भण्डारी र सो विद्यालयका प्रिन्सिपल गुणराज अधिकारीले सम्मान गरेका थिए । सम्मानित हुनेहरुका तर्फबाट चलचित्र कलाकार बुढाथोकी, साहित्यकार चापागाइँ र भेषराज न्यौपानेले आफ्नो कला सहित शुभकामना मन्तव्य राखेका थिए ।


कार्यक्रममा उत्कृष्ट केही अभिभावकहरुलाई पनि नगद सहित सम्मान गरियो भने शैक्षिक सत्र २०७९ मा कक्षामा प्रथम, द्वितीय र तृतीय हुने तथा अनुशासनमा अब्बल विद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो । मण्टेश्वरी हुँदै कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्यहरु समेत पस्किएका थिए । स्वागत मन्तव्य शिक्षक शंकरराज गौतमले राखेका थिए भने कार्यक्रममा ठूलो संख्यामा विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
हिमालयमा ३ कार्यक्रम-
बाल दिवशको अवसरमा दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा शुक्रबार एकै दिन तीनवटा कार्यक्रम सम्पन्न भएका छन् । बिहान प्लस टुतर्फ कक्षा ११ का नवागन्तुक विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम गरिएको थियो भने दिउँसो ५९ औँ बालदिवसको अवसरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको थियो ।
बिहान भएको कार्यक्रममा उपस्थित दमक नगरपालिकाका नगर प्रमुख रामबहादुर थापाले समाजमा शिक्षाको महत्व दर्साए । सो कार्यक्रममा युवा रेडक्रस सर्कलका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न गीत, नृत्य तथा कविता प्रस्तुत गरिएको थियो ।
दिवा सत्रमा भने कक्षा ५ सम्म र कक्षा ६ देखि १० सम्म भिन्नाभिन्नै कार्यक्रम सम्पन्न भए । ६ देखि कक्षा १० सम्मका विद्यार्थीले सञ्चालन गरेको कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको थियो । नगर उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्य र प्रअ द्रोणबहादुर श्रेष्ठको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा ०७९÷०८० को एसईईमा जीपीए ४ ल्याएर विद्यालयकै गरिमा बढाएको भन्दै हाल इन्जिनियरिङ कक्षा ११ मा अध्ययनरत स्वस्तिका श्रेष्ठ, उनका मातापिता तथा उनलाई अध्यापन गराउने शिक्षकहरूलाई विशेष सम्मान गरिएको थियो । उत्कृष्ट छात्रा श्रेष्ठलाई कक्षा ११ र १२ मा अध्ययन गर्दा पोसाक, कापीकलम, किताब तथा शुल्क समेतमा छात्रवृत्ति प्रदान गरिएको छ । सोही अवसरमा कोसी प्रदेश स्तरीय ‘इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस’मा प्रथम भएकी कक्षा ९ की छात्रा मञ्जिला ढुङ्गानालाई प्रतियोगिताका आयोजकले ब्यानर, ट्रफी, क्राउनसहित तिस हजार रुपैयाँले पुरस्कृत गरेको थियो । उनलाई पनि विद्यालयको तर्फबाट छात्रवृत्ति प्रदान गरिएको छ । सो कार्यक्रमा नृत्य, गायन तथा अन्य विधामा विद्यार्थीको उत्साहपूर्ण सहभागिता थियो ।


कक्षा ५ सम्मको कार्यक्रममा गीत, नृत्य लगायतका प्रतिभालाई प्रस्तुत गरिएको थियो । जसमा नृत्यतर्फ नमुना मगर, मेघना राई तथा उषा कार्कीको समूह र साधना भट्टराई क्रमशः प्रथम, द्वितीय र तृतीय भए । गायनतर्फ सृजन सिवाकोटी, दिवाकार भट्टराई र मोनिका खनाल तथा ममता विक क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।
सरस्वतीमा पनि भव्य कार्यक्रम-
यता दमक–९ स्थित सरस्वती माध्यमिक विद्यालयमा पनि बाल दिवस मनाइएको छ । दमक नगरपालिका उप–प्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा विद्यालयको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता सरस्वती बाल क्लबका अध्यक्ष अप्सन खनालले गरेका थिए भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेवतराज (गगन) पुरी, विद्यालयका प्रधानाध्यापक सिताराम ढकाल, पूर्व प्रअ नर बहादुर थापा, सहायक प्रअ भगीरथ मिश्र, शिक्षकहरु र विव्यस सदस्यहरुको आतिथ्यता रहेको थियो । त्यस क्रममा सरस्वती बाल क्लबका सदस्य युनिक घिमिरेले स्वागत मन्तव्य र कार्यक्रम संचालन युनिश अधिकारी र कल्पना बाँस्तोलाले गरेका थिए । कार्यक्रममा बालबालिकाहरुले विभिन्न गीत, नृत्य प्रस्तुत गरेका थिए भने उत्तराद्र्धमा दरका रुपमा खिर खाएर तीज मनाइएको थियो । यसैगरी बाल दिवसकै दिन सो विद्यालयमा मासिक भित्ते पत्रिका ‘सरस्वती’ को प्रकाशन पनि आरम्भ गरिएको शिक्षक शिव रेग्मी प्रणतले जानकारी गराए ।
प्रभातफेरि पछि कोण सभा-
यसैगरी बाल दिवशको अवसरमा गौरादहमा प्रभातफेरि कार्यक्रम गरिएको छ । गौरादह नगरपालिकाको सहयोग र नगर बाल सञ्जाल गौरादहको आयोजनामा कार्यक्रम गरिएको हो । गौरादह बजारबाट निकालिएको ¥यालीले कृषि क्याम्पस, शहीदगेट डिपु चोक हुँदै पुनः बजारमा आइ कोण सभा गरी सम्पन्न भएको थियो । गौरादह नगरपालिका वडा नं १ का वडाध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीले शुभकामना मन्तब्य राखी ¥यालीको उद्घाटन गरेका थिए । कार्यक्रममा नगरपालिका भित्रका शिक्षक, विद्यार्थी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा अरुणोदय आधारभूत विद्यालयमा पनि विद्यार्थीहरु बिच दौड, हिसाब दौड, कुर्सी घुमाई खेल खेलाइएको थियो ।
यसैबीच बाल दिवशकै सन्दर्भमा कमल गाउँपालिकास्थित बाल सञ्जालको आयोजनामा कविता, हाजिरी जवाफ तथा अन्य प्रतिस्पर्धात्मक बाल कार्यक्रम सम्पन्न भएका छन् ।
मोरङको उर्लाबारी, पथरीशनिश्चरे लगायतका स्थानमा पनि बाल सृजनात्मक कार्यक्रम भएका छन् । पञ्चायत मावि पथरीले विद्यार्थीबीच नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

Author

You may also like