मुख्य स्थानीय

फूटसलमा दमकका व्यवसायीहरुको भिडन्त

दमक/ दमक उद्योग वाणिज्य संघले आफ्नो ३३ औं स्थापना दिवसका अवसरमा बुधबार आयोजना गरेको एकदिवसीय अन्तरवस्तुगत फूटसल प्रतियोगिता उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा जुत्ताचप्पल व्यवसायी संघले प्रथम स्थान हासिल गरेको छ भने दोश्रो स्थानमा गल्ला किराना व्यवसायी संघले पुरस्कार हात पारेको छ । दमकका व्यवसायीहरुको उत्साहपूर्ण उपस्थितिमा भएको सो खेलामा प्रथम हुनेले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने दोश्रो हुने गल्ला किराना व्यवसायी संघलाई नगद १० हजार, ट्रफी मेडल र प्रमाण पत्र दिइएको छ ।
दमक–५ को गोर्खाली टोलस्थित विष्ट फूटसल ग्राउण्डमा भएको खेलकूद प्रतियोगिताको उद्घाटन दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले र समापन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठले गरे  । प्रतियोगितामा उत्कृष्ट खेलाडी जुत्ताचप्पल व्यवसायी संघका कृष्ण श्रेष्ठ र उत्कृष्ट गोल रक्षकमा गल्ला किराना व्यवसायी संघका खड्ग राई घोषित भए । श्रेष्ठ र राई दुवैलाई २१÷२१ सय नगद र ट्रफी पुरस्कार स्वरुप दिइयो । सहभागी सबै वस्तुगत संघहरुलाई प्रशंसा पत्र दिइएको छ । समापन कार्यक्रममा प्रमुख अतिथि रहेको उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य श्रेष्ठले प्रथम र दोश्रो हुने तथा उत्कृष्ट घोषित हुने खेलाडीहरुलाई पुरस्कार वितरण गरे भने सहभागी ८ वटै टिमहरुलाई प्रशंसा पत्र वितरण गरे । फाइनल खेलको अघि भएको दमक उवासंघ कार्यसमिति र पत्रकार मञ्च दमकको कार्यसमितिबीच भएको मैत्रीपूर्ण खेलको बिजेता टिम दमक उवासंघ कार्यसमितिलाई ट्रफी र पत्रकार मञ्चको टिमलाई प्रशंसा पत्र प्रदान गरियो ।
प्रतियोगिताको पहिलो राउण्डमा थान कपडा व्यवसायी संघ र सुनचाँदी व्यवसायीबीच प्रतिष्पर्धा भएकोमा सुनचाँदी व्यवसायी संघले, रेडिमेड व्यवसायी संघ र अटोमोबाइल व्यवसायी संघबीच भएको खेलमा रेडिमेड व्यवसायी संघले, मोबाइल व्यवसायी संघ र जुत्ताचप्पल व्यवसायी संघबीच भएको खेलमा जुत्ताचप्पल व्यवसायी संघले तथा गल्ला किराना व्यवसायी संघ र होटल व्यवसायी संघ बीच भएको खेलमा गल्ला किराना व्यवसायी संघले जित हात पारेका थिए ।
दोश्रो राउण्डमा सुनचाँदी व्यवसायी संघ र जुत्ताचप्पल व्यवसायी संघबीच भएको खेलमा जुत्ताचप्पलले तथा रेडिमेड कपडा व्यवसायी संघ र गल्ला किराना व्यवसायी संघबीच भएको खेलमा गल्ला किराना व्यवसायी संघले जित निकालेका थिए । त्यसपछि सेमीफाइनलमा पुगेका जुत्ताचप्पल व्यवसायी संघको टिम र गल्ला किराना व्यवसायी संघबीच अन्तिम प्रतिष्पर्धा भएको दमक उवासंघका कार्यालय प्रमुख निरज विष्टले जानकारी गराए । उद्घाटन र समापन कार्यक्रमको अध्यक्षता आयोजक दमक उवासंघका अध्यक्ष गोपाल गुरागाईले गरेका थिए । खेल कार्यक्रमका संयोजक दमक उवासंघका खेल संयोजक तुलसीराम तिम्सिनाले उद्घाटनमा स्वागत मन्तव्य राखेका थिए भने दुवै कार्यक्रमको संचालन प्रथम उपाध्यक्ष राज कुमार योङ्याले गरेका थिए  ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दमक नगर प्रमुख राम कुमार थापाले यस्ता गतिविधिले व्यक्तिको शारीरिक स्वास्थ्य ठीक राख्न मद्दत मिल्ने, सकारात्मक सोचको विकास गराउने र व्यवसायीहरु बीच भाइचाराको सम्बन्ध विकास गर्ने बताए । मेयर थापाले नगरपालिका र दमक उवासंघ मिलेर आगामी दिनमा विभिन्न रचनात्मक गतिविधि गर्ने प्रतिवद्धता व्यक्त गर्दै खेलमा सहभागी टिमहरुलाई शुभकामना दिए  । सो अवसरमा दमक उवासंघका पूर्वअध्यक्ष विजय बराल र बर्तमान अध्यक्ष गोपाल गुरागाईले शुभकामना मन्तव्य राखेका थिए । समापनमा भने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्रेष्ठले महासंघले शाखाले गर्ने हरेक सकारात्मक र रचनात्मक गतिविधिहरुमा निरन्तर सहयोग गर्ने बताए । उनले खेल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई बधाई समेत दिए  । दमक उवासंघका कार्यालय प्रमुख निरज विष्टले बुधबारको खेल प्रतियोगिता व्यवसायीहरुबीच भाइचाराको सम्बन्ध विकास गर्ने र वस्तुगत संघहरुको संस्थागत विकासमा ठोस योगदान पुग्ने उद्देश्यले आयोजना गरिएको प्रष्ट पारे  ।

Author

You may also like