समाचार

बाढी पहिरोबाट उत्पन्न समस्या

दमक/ केही दिनदेखि पूर्वी पहाडी जिल्लाहरुमा परिरहेको वर्षाका कारण बाढी र पहिरो जाँदा विभिन्न समस्याहरु उत्पन्न भएका छन् । त्यसक्रममा कतै राजमार्ग अवरुद्ध भएका छन् भने कतै पुल बगाएर आवागमननै ठप्प भएको छ । कतै नदीले जमिन कटान गरिरहेको छ । यी समस्या र पीडितहरुको राहत, उद्धार र समस्याको समाधानका लागि सरकारले पनि आफ्नो सेवा कार्यमा तिब्रता दिएको छ ।
संखुवासभामा अविरल वर्षासँगै आएको बाढीले पहिरोले उत्तरदक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ । लगातारको वर्षाले उत्तरदक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको हो ।
बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी–किमाथांका सडक ठप्प भएको हो । पहिरोले विद्युत पोल बगाउँदा मकालु गाउँपालिकामा विद्युत सेवासमेत अवरुद्ध भएको छ । मंगलबार राति आएको वर्षापछिको पहिरोले उत्तरदक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको उत्तरदक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिए। कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ । मकालु गाउँपालिका–५ मा मुढे पहिरो हटाउन थालिएको सडक कार्यालयका प्रमुख कोइरालाले बताए ।
अहिले पनि त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको र पहिरो पनि खसिरहेकाले अवरोध हटाउन अझै केही दिन लाग्ने उत्तरदक्षिण सडक कार्यालयका प्रमुख कोइरालाले बताए । पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुन सकेको छैन । सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकाको खाँदबारीसँग सम्पर्क टुटेको छ । पहिरोका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दजनौं गाडीहरु बीच बाटामा अपलत्र परेका छन् । पहिरोले विद्युत पोल बगाउँदा मकालुमा विद्युत सेवासमेत अवरुद्ध भएको छ । विद्युत सेवा अवरुद्ध हुँदा मकालुवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।
हेवामा बेलीब्रिज निर्माण हुदै
वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थालिएको छ । भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो । सोमबारदेखि धमाधम बेलीब्रीजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए । बेलीब्रिज निर्माण सामग्री निर्माण स्थलमा पुगिसकेको उनले जानकारी दिए । ‘केही दिनभित्रै यातायात पुनः सुरु हुन्छ’, पोखरेलले भने । आइतबारको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो । त्यहाँको यातायात आवागमन ठप्प हुँदा बेपत्ता नागरिकको खोजीमा समस्या भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सहरी विकास मन्त्री सीता गुरुङलगायतले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले चाँडो पुल बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
श्रीलंका टापुमा कटान
सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुरको बीचमा पर्ने श्रीलंका टापुमा कटान सुरु गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को शिबाइ टोल क्षेत्र र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ को पश्चिमी भागमा पर्ने श्रीलंका टापुमा मंगलबार दिउँसोबाट कटान सुरु गरेको हो ।
बेलका–८ मा अघिल्लो वर्ष कटानमा परेको लाहुरे खोँचभन्दा केहीमाथि पश्चिमतर्फ पनि तीव्र रूपमा कटान भइरहेको बेलका नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जयकुमार राईले बताए । पूर्वी पहाडी जिल्लामा केही दिनदेखि परेको अविरल वर्षा पछि कोशी नदीमा अत्यधिक पानीको बहाव बढेको छ । कटान गरेको स्थानबाट बाढी गाउँ पसे बेलका नगरपालिकाको ३ वटा वडाको मानव बस्ती जोखिममा पर्नेछ । बेलकाको वडा नम्बर ८ र ९ अन्तरगत पर्ने सिमलटार र धौरीका साथै वडा नम्बर ३ को दुर्गा बन्दी, मिलन चोक, एबीसी टप्पु, बुधबारे लगायतका गाउँ प्रभावित हुने बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताए । नदीको कटान रोक्नका लागि तत्काल तार जाली लगाउने योजना बनाइएको उनले बताए ।

Author

You may also like