दमक/ गत वर्षको तुलनामा चैते धानले बढी मूल्य पाएपछि झापाका किसानहरुले केही राहत महसुस गरेका छन् । पानी नपर्दा गर्मी बढेर धेरै क्षेत्रमा असर भइरहेको बेला यस वर्ष चैते धानले भने अहिलेसम्मकै उच्च भाउ भेटेको छ । अघिल्लो वर्ष ५ सय ५० रुपैयाँ प्रति मन बिक्री भएको धानले यो वर्ष झण्डै दोब्बर मूल्य पाएको छ । अघिल्लो वर्ष भुसको मूल्यभन्दा सस्तोमा बिक्री भएको धानले यो वर्ष हिउँदमा बिक्री हुने धानको मूल्य पाएको हो । चैतेधान थन्क्याउने बेला पानी पर्ने भएकाले वर्षेनी भुसको दाममा पनि बिक्री गर्न समस्या भोग्दै आएका किसानले यो वर्ष अहिलेसम्मै उच्च मूल्य पाउनुको मुख्य कारण धान थन्क्याउने बेलामा पानी नपर्नु नै भएको बताएका छन् । जेठ महिना बित्न लाग्दा समेत पानी नपरेकाले धमाधम यतिखेर धान काट्ने र उठाउने काम भइरहेको छ ।
पानी नपरेपछि खेतमा मेशिन लगाउन र धान उठाउन सहजतासँगै मूल्य समेत राम्रो पाएको दमक वडा नं. १० का किसान कृष्ण क्षेत्रीले बताए । क्षेत्रीक अनुसार यो वर्ष १० कठ्ठामा रोपेको ६० मन धानले राम्रो मूल्य पाएको छ । उनले अघिल्लो वर्ष ५ देखि ५ सय ५० रुपयाँ प्रति मन बिक्री गरेको धान यसवर्ष ९ सय ५० रुपैयाँमा बिक्री गर्न सफल भएको बताए । उनका अनुसार धान खेतमै मेशिनले काटेर काँचै धान झारेर खेतबाटै ९ सय ५० मूल्यमा बिक्री गर्नु भनेको हिउँदे धान भन्दा उच्च मूल्य पाएको बताए । झापा जिल्लामा चैते धान प्रवर्धन र विकासका लागि कृषि ज्ञान केन्द्रले समेत सहयोग गर्दै आएको छ ।
धान खेती विस्तारका लागि जिल्लाकै सबैभन्दा धेरै विऊ धानमा खेती गर्ने गौरादह नगरपालिका क्षेत्रमा किसानलाई धान विकास ब्लक कार्यक्रम संचालन गर्न सहयोग गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए । विष्टका अनुसार केन्द्र मार्फत् चैतेधान खेती विकासका लागि जिल्लामा धान सुकाउने ड्रायरदेखि गोदाम घर निर्माणमा समेत अनुदान उपलव्ध गराइएको छ । यो वर्ष चैतेधान राम्रो उत्पादनसँगै मूल्य पनि जिल्लामा अहिलेसम्मकै उच्च भएको उनले बताए । धान उठाउने मौषममा पानी नपरेकाले धानले राम्रो मूल्य पाएको उनको बुझाई छ । खासगरी दक्षिणी झापाको भू–भागमा चैतेधान थन्काउने बेला समस्या हुने गरेको छ । होचो भूभाग तिर पानी पस्ने भएकाले धान थन्क्याउन समस्या भोग्दै आएका किसानले यो वर्ष पानी नपर्दा धान थन्क्याउन र बिक्री गर्न सहज भएको महशुस गरेका छन् । दमक वडा नं. १० की निर्मला अधिकारीको यो वर्ष ५ कठ्ठामा लगाएको धान झण्डै दोब्बर उत्पादन बढ्यो । राम्रो धान उत्पादन हुनु र मूल्य समेत झण्डै दोब्बर हुँदा यो वर्ष समयले साथ दिएको भन्दै उनले खुशी व्यक्त गरिन् । यस्तै अर्का किसान रुद्र खड्काका अनुसार पानी नपर्दा चैतेधानले उच्च मूल्य पाए पनि हिउँदे धानलाई भने समस्या हुने देखिएको छ । किसानले असारमा रोप्न राखेको कतिपय विऊ खेतमै सुकेर पुनः विऊ राख्नुपर्ने अवस्था समेत आएको छ । सिंचाई नहुने क्षेत्रमा पानी परेन भने खेती हुनै नसक्ने उनको गुनासो छ । झापा जिल्लामा अघिल्लो आर्थिक वर्ष १ हजार ९ सय हेक्टरमा झण्डै १ लाख मेट्रिक टन चैतेधान उत्पादन भएको थियो । यो वर्ष खेतीको क्षेत्रफलमा केही गिरावट आए पनि उत्पादन बृद्धिसँगै मूल्य समेत बृद्धि भएकाले किसानहरुले खुशी व्यक्त गरेका छन् ।