मुख्य

दमक अस्पतालको सेवा सुधारोन्मुख

फागुनदेखि अधिकतम सेवा नयाँ भवनबाट

दमक/ दमक अस्पतालले दिँदै आएको सेवा अत्याधुनिक नयाँ भवन र उपकरणका साथ सुधारोन्मुख अवस्थामा रहेको छ । १५ वेड क्षमताको सो अस्पतालमा विरामीहरुको व्यवस्थापनमा कमी कमजोरी रहेको भनेर बारम्बार टिप्पणी भइरहेका बेला २२ करोडको लागतमा बनेको ३ तले नयाँ भवनबाट सेवा दिन शुरु भइसकेको छ । साथै अहिलेसम्म साँघुरो कोठामा संचालन भइरहेको प्रयोगशाला र एक्स–रे लगायतका चेक जाँचका कामहरु अब चाँडै नै नयाँ र व्यवस्थित भवनमा सारिने भएको छ । यसबाट विरामीहरुलाई विगतमा पर्दै आएको पीडा, झन्झट र लामो समयसम्म पालो पर्खिनुपर्ने अवस्थाबाट मुक्ति मिल्न सक्ने कुरा आइतबार पूर्वसन्देश दैनिकले गरेको अवलोकन भ्रमणका क्रममा पाइएको छ ।

‘अब फागुनदेखि ८० प्रतिशत चेकजाँच र प्रयोगशालाको काम नयाँ भवनबाट हुनेछ । केही सेवाहरु प्रदान गर्न अब तीन महिनाको समय कुर्नुपर्ने हुन्छ । त्यसपछि उत्तरतर्फका केही पुराना भवनहरु भत्काइने छ भने सबै सेवा नयाँ भवनबाट संचालन हुने हुँदा विरामीहरुलाई निकै राहत दिन सकिने मलाई लागेको छ ।’ अस्पतालको सेवाका बारेमा आएका गुनासाका बारेमा जिज्ञासा राख्दा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले भने– सबै सेवाग्राही र सरोकारवालाहरुले अस्पतालको व्यवस्थापनमा कमजोरी देखिएको भन्दै विगतदेखिनै नगरपालिकामा व्यापक दबाब दिइरहेको अवस्था छ । यसको सुधार गर्न अहिले हामी युद्धस्तरमा लागेका छौं, केही पक्षमा सुधार पनि भएको छ । तर त्यो पूर्ण छैन, ओपीडी, डेन्टल, नसर्ने रोगहरुको उपचारको सेवा नयाँ भवनमा सरिसके पनि सबै सेवा नयाँ भवनबाट दिनका लागि पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ ।’

अस्पतालमा बोलाएरै आएका नगर प्रमुख थापाले नयाँ भवनमा भइरहेको काम, अहिले सो भवनबाट प्रवाह गर्दै आएको सेवा र आगामी दिनमा विरामीहरुलाई दिइने सेवा सुविधाका बारेमा स्थलगत रुपमा जानकारी गराए । यो अस्पताल दमक नगरपालिकाको मातहतमा रहेको छ । संघीय सरकारको २२ करोडको बजेटमा नयाँ तीन तले अपाङ्गमैत्री भवन बनेको छ, जुन निकै सुविधासम्पन्न र अत्याधुनिक हुने भवनका प्रायः सबै कोठाहरुको अवलोकन गर्दा पाइयो । तर सो बजेटमा तीन वटा छुट्टा छुट्टै ब्लकका नयाँ भवनहरु बनेको तर तिनका बिचमा एक्सापन्सन जोइन्ट नभएकोमा सो बनउँदा समय लागेको बताइएको छ । साथै संघीय सरकारले नगरपालिकालाई नयाँ भवन मात्र बनाएर हस्तान्तरण गरेको तर त्यसमा सुरक्षाका लागि चाहिने झ्याल ढोकामा लाउने ग्रील, प्लम्बिङ, पाइपिङ, लाइटिङ, पंखा, भवनका भ¥याङ लगायतका आवश्यक ठाउँमा ग्रील, वायरिङ, भवन सुहाउँदो फर्निचरको व्यवस्था, रंगरोगन लगायतको व्यवस्था भने अस्पताल र नगरपालिकाको आन्तरिक स्रोतको बजेटबाटै गरिरहनु परेको पनि अस्पताल प्रशासनले जनाएको छ ।

भ्रमणका क्रममा प्लम्बिङको काम निर्माण मजदूरहरुले धमाधम गरिरहेका थिए । एक्स–रे, प्रयोगशालामा उनीहरु खटिइरहेका थिए भने तीन तलामाथिको छतमा लुगा धुने (लन्ड्री) र सुकाउने ठाउँ बनाउने तयारी भइरहेको थियो । भवनबाहेकका सबै पूर्वाधारका काम नगरपालिका स्वयंले गर्नुपरेको तर त्यसको व्यवस्थापनमा आफूहरु तदारुकताका साथ लागीपरेको पनि नगर प्रमुख थापाले जवाफ दिए । अस्पतालमा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरिसकेको तर उनीहरुलाई काम गर्ने उपयुक्त कोठा र फर्निचर लगायतका अन्य पूर्वाधारको व्यवस्थापनको कार्य पूरा भएपछि विरामीहरुले विगतमा भोग्नुपरेको सास्ती हट्ने देखिएको छ । हाल अस्पतालमा दैनिक ७÷८ सयको हाराहारीमा विरामीहरु चेकजाँचका लागि आउने गरेको अस्पतालकी सूचना अधिकारी देवकुमारी दंगालले जानकारी गराइन् । झापाको माईपश्चिम, इलामको चुलाचुली, पाँचथर र मोरङको उर्लाबारी मधुमल्लादेखिका विरामीहरु यस अस्पतालमा आउने गरेका छन् । स्वास्थ्य बिमाको प्रथम विन्दुको अस्पताल रहेकाले पनि यहाँ विरामीहरुको अत्याधिक घुँइचो लाग्ने गरेको छ । तर अहिले नयाँ भवनबाट सेवा दिन शुरु गरिएको, करिब ४ सय अटने नयाँ यात्रु प्रतिक्षालय निर्माण गरिएको, १९ जना विशेषज्ञ र ८ जना एमबीबीएस डाक्टर रहेको, सोही अनुपातमा नर्सहरु रहेको र प्रयोगशालामा हाल १ जनाले रगत जाँचका लागि लिने काम गरिरहेकोमा अब फागुनदेखि ६ जनाले रगत लिने हुँदा बिरामीहरुको सेवामा शीघ्रता आउने अस्पतालका प्रशासन अधिकृत जीवराज भट्टराईले बताए । प्रयोगशाला प्रमुख लोकनाथ पौडेलले भने नयाँ भवनमा सरेपछि बिरामीहरुले हाल साँघुरो ठाउँमा परीक्षण गर्दा भइरहेको भीड हटेर जाने बताए । जिन्सी शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत श्यामनारायण राजवंशीले नयाँ भवनमा इनडोर कक्ष र बेड, आकस्मिक उपचार कक्ष, ५ वटा क्याविन, ९ वटा कोठाबाट ओपीडी सेवा, भव्य अण्डर ग्राउण्ड पार्किङ, ५६ वटा कमोट र २ वटा प्यान रहेका ५८ वटा व्यवस्थित शौचालय, ५ हजार लिटर क्षमताका ८ वटा पानी ट्याङ्की गर्दा ४ हजार लिटर पानीको संचय, ८ जना सरसफाईकर्मी, केन्द्र सरकारको पान परियोजना अन्तर्गतको मुटु, मधुमेह, उच्च रक्तचाप लगायत १० वटा नसर्ने रोगहरुको उपचार र जाँच लगायतको व्यवस्थाबाट अस्पतालको स्तरोन्नति हुने प्रकाश पारे ।

१९ कठ्ठा जग्गा रहेको सो अस्पतालमा १६२ किलोभोल्ट क्षमताको जेनेरेटर रहेको छ भने ४० घनमिटर प्रतिघण्टा क्षमताका दुई वटा अक्सिजन सिलिण्डर (जसबाट विरामीको बेडमा पाइपलाइनबाट सिधै अक्सिजन सप्लाई गर्न सकिन्छ) आगामी ३ महिनाभित्र सुचारु हुने अस्पतालकी सूचना अधिकारी दंगालले जानकारी गराइन् । अस्पतालमा फुल्ली अटोमेटेड एनालाईजर मेशिनबाट प्रयोगशालाको क्षमता अभिवृद्धि हुने, ३ महिनाभित्र इन्डोस्कोपी सेवा दिनेगरी मेशिन आइसकेको, दैनिक ७÷८ जनाको अपरेशन हुने गरेको, त्यसमा पनि मोडुलर अपरेशन थिएटरको व्यवस्था गर्न लागिएको, प्रदेश प्रयोगशालासंगको सहकार्यमा महिलाहरुको पाठेघर क्यान्सरको जाँच भइरहेको, मुटुको इको, नाक, कान र घाँटीको सेवा संगै इन्डोस्कोपी सेवाको मेशिन जडान भइसकेको, जनरल वार्डमा १४ वटा वेडको व्यवस्था गरिसकिएको, प्रसुती वार्डको छुट्टै व्यवस्था, अपरेशन पछाडिका लागि बिरामीलाई ७ वटा वेडको व्यवस्था, औषधिको भण्डारणका लागि व्यवस्थित कोठा, प्रयोगशालामा केमिकल अर्थिङको व्यवस्था, इमर्जेन्सीमा ५ वेड लगायतले गर्दा यो अस्पतालले अब काँचुली फेर्ने देखिएको छ । अस्पतालको व्यवस्थापन फितलो भएको भन्दै बिरामी, विभिन्न राजनीतिक दल, संघ संस्था लगायतका सरोकारवालाहरु सुधारका लागि नगरपालिकामा डेलिगेशन आउने गरेको, सामाजिक सञ्जालहरुमा व्यापक गुनासो आएको सन्दर्भमा त्यसको जस–अपजसको भागीदार आफूहरु भएपनि अब अस्पतालमा देखिएको समस्या समाधान र व्यवस्थापन सुधारमा नगरपालिका प्रतिवद्ध रहेको नगर प्रमुख राम थापाले त्यस अवसरमा जानकारी गराए । उनले समस्त नगरवासीको आवश्यकता र समस्याको पहिचान गरी त्यसको समाधान र निरुपण गर्दै सरल, सहज र सुलभ सेवा दिलाउने शुरुदेखिको वाचा अब चाँडै पूरा गर्ने विश्वास व्यक्त गरे ।

Author

You may also like