दमक/ दमक नगरपालिका–३ स्थित ढुकुरपानीमा बन्दै गरेको १८ तलाको भ्यू टावर निर्माण सम्पन्न गर्न एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ रुपैयाँ कूल बजेट खर्च हुने भएको छ । भ्यू टावरको निर्माणमा रु एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता भए पनि पछि नौ प्रतिशत लगानी बढेर कूल लागत भ्याटबाहेक रु एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ खर्च हुने सघन सहरी विकास तथा भवन निर्माण आयोजनका इन्जिनियर भूपेन्द्र यादवले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजना भएकाले यसको सम्पूर्ण लागत नेपाल सरकारले व्यहोरेको छ । चालू आर्थिक वर्षमै निर्माण सकेर हस्तान्तरण गरिने लक्ष्यका साथ अन्तिम चरणको कार्य भइरहेको जनाउँदै उनले परियोजनामा रु ४५ करोड बजेट अपुग रहेको बताए । ‘चालू आवमा सरकारले रु १० करोड मात्र बजेट भ्यू टावरका लागि विनियोजन गरेको छ, यसले पुग्दैन,’ उनले भने ।
नेस्ट, पिकासो र नेपाल आर्किटेक्चर कम्पनीले नक्साङ्कन गरेको दमक भ्यू टावरको अग्लाइअनुसार १८ तलाको भवन निर्माण भइसकेको छ । आयोजनाका इन्जिनियर यादवका अनुसार हालसम्म १८ तलाको क्रङ्क्रिट ढलान कार्य सकिएर त्यहाँभन्दा माथिको २८ मिटर अग्लो स्टिल टावर निर्माण भइरहेको छ । दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने हल्ला सुन्दा उनीजस्तै ढुकुरपानीका बासिन्दाले सुरुमा पत्याएका थिएनन् । ‘हेर्दाहेर्दै १८ तलाको टावर बनिसक्यो, बाहिरका मानिसहरु के छ, कसो हुँदैछ भनेर सोधीखोजी गर्न दिनहुँ आइरहन्छन्,’ गौतम भन्छन्, ‘तीन वर्षअघि सम्झिदा यो ठाउँ धान खेतीका लागि पनि त्यति उब्जाउ थिएन, अहिले ठूलो सहर बस्लाजस्तो भइसक्यो ।’
नेपालकै राष्ट्रिय गौरवको परियोजनाका रुपमा दमक भ्यू टावरको निर्माण दमक बजारभन्दा तीन किलोमिटर टाढा ढुकुरपानी गाउँमा २०७६ साल असार २७ गते सुरु भएको थियो । ३० महिनाभित्र कार्य सम्पन्न गर्ने सम्झौताका साथ चिनियाँ कम्पनी सिजिआइइसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका थिए । कोभिड–१९ को महामारीको दुई लहर, कन्स्ट्रक्सन होलिडे र बजेट अभावका कारण यसको निर्माण अवधि डेढ वर्ष धकेलिएको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले जनाएको छ । विसं २०८० असार मसान्तभित्र भ्यू टावरको निर्माण सम्पन्न भइसक्ने आयोजनाको चन्द्रगढी कार्यालयका इन्जिनियर भूपेन्द्र यादवले बताए । उनका अनुसार परियोजनाको ७५ प्रतिशत भौतिक प्रगति छ भने कूल लागतको ६८ प्रतिशत रकम खर्च भइसकेको छ । दमक भ्यू टावरको निर्माणले गाउँको नाम नै फेरिएको स्थानीय उमानाथ ढकाल बताउँछन् । राष्ट्रिय गौरवको दमक भ्यू टावरलाई समृद्धिको प्रतीकका रुपमा लिनुपर्ने उनको धारणा छ । टावर निर्माणस्थल रहेको दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालले पनि सरकारले चालू आवमा बजेट कटौती गरिदिँदा निर्धारित अवधिमा निर्माण सम्पन्न गर्न कठिनाइ भएको बताए । भ्यू टावरका लागि स्थानीयवासीले पाँच बिघा जग्गा दानमा दिएका थिए । तीन वर्षअघि कट्ठाको दुई लाखमा नबिक्ने यस ठाउँको रुखोपाखो जग्गा अहिले धुरको चार लाखमा नपाइने भइसकेको स्थानीयवासी बताउँछन् । भ्यू टावरको पूरै भवनको संरचना एक सय मिटर अग्लो हुनेछ । यो काठमाडौँको पुनःनिर्माण भएको भीमसेन धरहराभन्दा १६ मिटर अग्लो हो । हालसम्म १८ तलाको भवन निर्माणसँगै परिसरको टिकट काउन्टर, कोसेली घर, चिल्ड्रेन पार्क, सार्वजनिक शौचालय र खुला ठाउँ थिएटरको निर्माण सम्पन्न भइसकेको छ । टावरको हरेक तला चार मिटर उचाइको छ । भूकम्प, चट्याङ र आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरेर निर्माण गरिएको हुँदा यो भ्यू टावर सबै जोखिमका दृष्टिले सुरक्षित र अत्याधुनिक रहेको छ । चट्याङ नलागोस् भनेर ‘लाइटिङ एरेस्टर’ उपकरण र आगलागी रोक्न स्वचालित ‘स्प्रिङ्कल सिस्टम’ समेत भवनमा जडान गरिएको छ । स्प्रिङ्कल सिस्टम भनेको आगलागी भएको आफैँ थाहा पाउने र आफैँ पानी हालेर निभाउने प्रविधि हो । भवनका सबै तलामा पिउने पानी पु¥याउने प्रशोधन प्लान्ट जडान गरिएको छ भने शौचालयमा प्रयोग भइसकेको पानीलाई प्रशोधन गरेर बगैँचामा प्रयोग गर्न सकिन्छ ।
दमक भ्यू टावरसँगै पूर्वतर्फ टाँसिएको ५९ बिघा जग्गामा दमक नगरपालिकाले ‘स्मार्ट सिटी’ बनाउने योजनाअन्तर्गत एकीकृत जग्गा व्यवस्थापन प्रक्रिया सुरु गरेको छ । ‘नयाँ दमक’ नामाकरण गरिएको सो योजना नयाँ र व्यवस्थित ‘स्मार्ट सिटी’ परियोजना हो । यसका लागि चालू आर्थिक वर्षमा दमक नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको वडाध्यक्ष नविन बरालले जानकारी दिए । यस परियोजनामा नगरपालिका र स्थानीयवासीबीच साझेदारी हुनेछ । जग्गा स्थानीयवासीले उपलब्ध गराउने र त्यसमा नगरपालिकाले सडक, विद्युत्, खानेपानी, ढल, बगैँचा, विद्यालय, स्वास्थ्य चौकीलगायत संरचना व्यवस्थित ढङ्गले निर्माणमा सघाउने बरालले बताए । परियोजना निर्माणका लागि स्थानीय जग्गादाताहरु मध्येबाट शान्तिराम गौतमको अध्यक्षतामा १५ सदस्यीय दमक भ्यू टावर जग्गा एकीकरण तथा व्यवस्थापन सहयोग समिति गठन भएको छ । परियोजनाका लागि स्थानीयवासीले १२ धुरदेखि तीन बिघासम्म जग्गा दिएको र सबै ५९ बिघा जग्गालाई एकीकरण गरी आधुनिक सहरी पूर्वाधार निर्माण गरिने अध्यक्ष गौतमले बताए । नगरपालिकाका प्रमुखको संयोजकत्वमा मालपोत, इलाका प्रशासनलगायत कार्यालयका प्रमुखहरु रहने गरी छुट्टै अनुगमन समितिसमेत गठन भइसकेको छ ।