दमक/बिजुलीको पोलमा अब्यवस्थित रुपमा रहेका टेलिफोन, इन्टरनेट, केबुलका तारहरुलाई झापाको दमक–८ कार्यालयले ब्यवस्थित गर्न थालेको छ । वडाको विभिन्न टोलको बिजुलीको पोलमा लत्रिएको, चुँडीएको इन्टरनेट, केबुलहरुको तार ब्यवस्थापन गर्ने अभियान वडा कार्यालयले थालनी गरेको हो । दमक–८ को सहिद ,सेतुमारी, किरात र बिकास मार्ग, डाँफे मुनाल मार्ग टोलको तारहरु ब्यवस्थित गर्ने काम एक सातासम्म गरिएको ८ न.वडाका वडा सदस्य खेम श्रेष्ठले जानकारी दिए ।
सडकको पोलमा रहेको केबुल र इन्टरनेटको तारको उचित ब्यवस्थापन नहुँदा भै परि आउने घटनाले ठूलो क्षति पुग्ने अवस्थालाई मध्यनजर गरी अल्पकालिन रोकथामका लागि भएपनि तार ब्यवस्थापनको काम गरेको वडाअध्यक्ष दिपेश दाहालले प्रष्ट पारे । सो वडाका बाँकी टोलहरुको तार ब्यवस्थापन दमक नगर पालिकाले फेरी जेसिभी उपलब्ध गराएपछि केबुल र इन्टरनेट कम्पनीका प्राविधिकको सहयोगमा तार ब्यवस्थापन अभियान चलाउने वडा सदस्य श्रेष्ठले बताए । सो वडामा १७ विभिन्न कम्पनीले तार प्रयोगमा ल्याएको वडा कार्यालयले जनाएको छ ।