मुख्य

सिंहदेवी देवस्थलको साधारण सभा (फोटो)

दमक/झापाको दमक–१० स्थित सिंहदेवी देवस्थलको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाका अवसरमा पूर्वअध्यक्ष तथा स्थानीय सामाजिक व्यक्तित्व टेकनाथ दाहाल र दानाकुमारी दाहालले उनीहरुको पहलमा अमेरिकाबाट संकलन भएको २ लाख ७६ हजार ८० रुपैयाँ सो देवस्थल मन्दिरको अक्षयकोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेका छन् । टेकनाथ दाहालले सो अक्षयकोषका लागि गत वर्ष मात्र ५ लाख १ हजार १५१ रुपैयाँ सहयोग स्वरुप प्रदान गरेका थिए । उनको पहलमा देवस्थललाई हालसम्म ७ लाख ७७ हजार २३१ रुपैयाँ सो अक्षयकोषमा जम्मा भएको जानकारी गराइएको छ ।

साधारण सभाका अवसरमा देवस्थल समितिका ज्येष्ठ सदस्य महिला तर्फ अच्युतदासी सापकोटा र पुरुष तर्फ माधव भण्डारीलाई सम्मान गरियो । यसका साथै दाताहरु रोमनाथ भण्डारी, दुर्गा ढुंगाना, मोहन बाँस्कोटा, बालकृष्ण खनाल, हरि प्रसाद अधिकारी, लक्ष्मी प्रसाद बराल लगायतलाई सम्मान गरिएको थियो । देवस्थललाई भौतिक सामग्री सहयोग गर्नेहरुलाई पनि त्यस अवसरमा सम्मानित तथा अभिनन्दित गरिएको बताइएको छ ।

देवस्थल समितिका अध्यक्ष जिवनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगरपालिका–१० का वडाध्यक्ष राजेन्द्र भण्डारी प्रमुख अतिथि, दमक बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष देवी प्रसाद दाहाल र शिक्षिका दुर्गादेवी काफ्ले विशिष्ट अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा देवस्थलको आव २०७८÷०७९ को प्रगति प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएकोमा आवश्यक छलफल पछि पारित गरिएको छ । उपाध्यक्ष नरमाया दाहालले स्वागत मन्तव्य राखेकोमा कार्यक्रम संचालन सचिव राजेन्द्र अधिकारीले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष भण्डारीले सिंहदेवी देवस्थलको सम्बद्र्धन र प्रवद्र्धनका लागि वडाले सक्दो सहयोग गर्ने बताएका थिए ।

Author

You may also like