दमक/ झापाको विर्तामोड नगरपालिका–२ चारपानेमा केन्द्रीय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार दमकमा इकाइगत २६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यता र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको विशिष्ट आतिथ्यतामा साधारणसभाको उद्घाटन समारोह भएको थियो । सो अवसरमा वितरित संस्थाको वार्षिक प्रतिवेदनका अनुसार गत आव २०७८÷०७९ मा संस्थाले ४९ करोड नाफा गरेको छ । १ लाख ५९ हजार ७७८ जना शेयर सदस्य रहेको सो संस्थाको शेयर पुँजी १ अर्व ६३ करोड, जगेडा कोष १ अर्व ११ करोड, बचत ९ अर्व ८५ करोड, आय २ अर्व ५ करोड र व्यय १ अर्व ५५ करोड रहेको छ । संस्थाका संचालक समितिका कोषाध्यक्ष डम्बर बहादुर देउजाको अध्यक्षतामा भएको सो कार्यक्रममा परिवार राहत कोष अन्तर्गत गत भदौमा निधन भएका शेयर सदस्य युवराज काफ्लेकी धर्मपत्नी निर्मला काफ्लेलाई प्रमुख अतिथि भट्टराईको हातबाट २ लाखको चेक हस्तान्तरण गरियो । कार्यक्रममा संस्थाका संचालक समितिका अध्यक्ष हरिबहादुर राजवंशीको प्रतिवेदन संचालक सदस्य शंकर रिजालले, सदस्य सचिव महेन्द्रकुमार गिरीद्वारा तयार पारिएको प्रस्तावित नीति तथा कार्यक्रम संचालक सदस्य विन्दु श्रेष्ठले, लेखा सुपरिवेक्षण प्रतिवेदन संयोजक उपेन्द्र प्रसाद ओलीले र लेखा परीक्षण प्रतिवेदन गोपाल भट्टराईले पेश गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै दमक उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले संघका सदस्यहरुलाई ऋण प्रवाह गर्दा संस्थाले लिने सेवा शुल्कमा छुटको सुविधा दिन आग्रह गर्दै सो सहकारीसंग सहकार्य गरेर काम गर्न आफूहरु तयार रहेको बताए । दमक सेवा केन्द्रका संयोजक केपी भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सोही केन्द्रका प्रबन्धक डम्बर बहादुर प्रधानले गरेका थिए । प्रबन्धक प्रधानले शेयर सदस्यहरुले दमक सेवा केन्द्रमा अक्सिजन बैंक र स्वास्थ्य सेवाको सुविधा समेत रहेकाले आवश्यक परेर शेयर सदस्यहरुलाई सो सेवा उपभोग गर्न आग्रह गरेका थिए । सहाराले हाल प्रदेश नम्वर १ का ११ जिल्लामा कार्य गर्दै आएको छ । सहारा सहकारीले आफ्ना शेयर सदस्यहरुका लागि सामाजिक सेवा तथा राहतका विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।