दमक/ राष्ट्रिय भूमि आयोग झापाले दमक नगरपालिका संगको सहकार्यमा वडा नम्वर १० बाट भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको निस्सा
वितरण शुरु गरेको छ । आइतबार दमक–१० को वडा कार्यालयको आयोजनामा एक औपचारिक कार्यक्रम गरी आयोगको कम्युटरमा प्रविष्टि भएका मध्ये ३० जना भूमिहीन सुकुम्बासी, दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई यस खालको निस्सा दर्ता वितरण गरिएको हो । ‘यो एक खालको अस्थायी धनीपूर्जा नै हो । अब जुनसुकै आयोग र सरकार आएपनि निस्सा प्राप्त गर्नेलाई सुकुम्बासीको सूचीबाट हटाउन सक्दैन ।’ राष्ट्रिय भूमि आयोग झापाका अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि तिलकसिंह पाण्डेल भने– अब एकाध महिनाभित्रै निस्सा पाउनेलाई स्थायी धनीपूर्जा वितरण गरिन्छ । तर यसमा पालिकाको भूमिका पनि महत्वपूर्ण हुन्छ ।’
दमक–१० मा ५ सय ६० जना सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको निवेदन परेको थियो । त्यसमध्ये अधिकांशको निस्सा आएको र बाँकीलाई आजै सोमबारदेखि कार्यालय समयमा आइ निस्सा पत्र बुझ्न अनुरोध गरिएको छ । आइतबार १२ जना भूमिहीन सुकुम्बासी, ११ जना दलित सुकुम्बासी र १५ जना अव्यवस्थित बसोबासीले निस्सा पत्र बुझेर लगेको जानकारी गराइएको छ । आयोग झापाका अध्यक्ष पाण्डेले यो निस्सा आयोगको कम्युटरमा स्थायी इन्ट्री भएको र मालपोत, नापी लगायतका कार्यालयसंगको समन्वय र सहकार्यमा अब चाँडै नै धनीपूर्जा वितरण गरिने बताए । कार्यक्रमका प्रमुख अतिथि तथा दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले आफूले नगर प्रमुखको पदभार ग्रहण गरेको ७ हप्तामा नै धनीपूर्जाका लागि निस्सा दिन सफल भएको बताए । अब चाँडै नै दमक–४ र ७ मा पनि यसखालको अस्थायी धनीपूर्जा मात्र होइन, त्यसपछि धनीपूर्जानै वितरण गर्नेगरी काम भइरहेको जानकारी गराए ।
आफूले चुनाव जितेका दिनदेखिनै सबैभन्दा पहिलो प्राथमिकतामा सुकुम्बासीहरुको समस्या समाधाको विषय उठाएको र त्यसमा सफलता मिल्ने विश्वास रहेको उनले बताए । तर कतिपय वडाहरुमा त्यहाँको नेतृत्वले भनेजति रफ्तारमा काम गर्न नसकेको हुँदा सम्बन्धित वडाको नेतृत्वलाई चाँडो काम गर्न भनिरहेको उनको भनाई थियो । सुकुम्बासीहरुलाई दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा, राष्ट्रिय भूमि आयोग झापाको अध्यक्ष पाण्डे र नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले जग्गाको निस्सा प्रमाण पत्र वितरण गरेका थिए । सो अवसरमा सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्ने काम तुहाउने या असफल गराउने कार्य गर्न खोजै कारवाही गरिने
दमकमा…..समेत नगर प्रमुख थापाले चेतावनी दिए । कार्यक्रममा नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले विसं २०३६ सालदेखि हालसम्म देशमा २२ वटा सुकुम्बासी आयोगहरु बनेको तर पनि समस्याको पूर्ण समाधान हुन नसकेको अब त्यस्तो नहोस् भन्ने कामना गरिन् । धेरै जनाको निवेदनमा समस्या देखिएको भएपनि छानविन गरेर सुकुम्बासीहरुलाई धनीपूर्जा दिइने पनि उनले प्रष्ट पारिन् । सो अवसरमा नेपाली काँग्रेसका महाधिवेश प्रतिनिधि सुरेश सुब्बाले सुकुम्बासीले धनीपूर्जा अर्थात् जग्गाको स्वामित्व पाउने कुराले शुभसंकेत गरेको बताए । नेकपा माओवादी केन्द्रका प्रदेश नम्वर १ का कोषाध्यक्ष रेवतराज पुरी (गगन) ले सुकुम्बासीहरुलाई धनीपूर्जा बाँड्ने कुरामा कसैले पनि ढिलासुस्ती गर्न नहुने धारणा राखे । उनले अहिले धनीपूर्जाको काम अघि बढ्दा दमकेली सुकुम्बासी जनतामा खुशियाली छाउन थालेको बताए । कार्यक्रममा राप्रपाका झापा जिल्ला उपाध्यक्ष विजय बराल, वडा नम्वर १० का पूर्व वडाध्यक्ष बोधराज न्यौपाने र जनता समाजवादी पार्टी (जसपा) का खेम दाहालले पनि आफ्ना धारणाहरु राखेका थिए । वडा नम्बर १० वडाध्यक्ष राजेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य जंग बहादुर राई र कार्यक्रम संचालन वडा सदस्य भूमिका आचार्यले गरेकी थिइन् । कार्यक्रममा सो वडालाई पूर्ण खोप सुनिश्चितता वडा पनि घोषणा गरिएको छ ।
हामी खुशी छौं
कार्यक्रममा आफूले हकभोग गर्दै आएको जग्गाको निस्सा पाएपछि खुशी लागेको सम्बन्धित व्यक्तिहरुले बताएका छन् । निस्सा पत्र पाउनेहरुमध्ये प्रेम बहादुर वि.क., चन्द्रमाया वि.क., रेनुकादेवी दर्जी लगायतले यस्तो बताएका हुन् । निस्सा पाउने मध्येकी रेनुकादेवी दर्जी दमक–१० की वडा सदस्य पनि हुन् । उनीहरुले आफूहरुले १० वर्षदेखि हकभोग गर्दै आएको जग्गाको जतिसक्दो चाँडो धनीपूर्जा पाउनुपर्ने माग पनि गरेका छन् ।
