दमक/ आफ्नो पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गराउन साथ दिएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय नेतासहित प्रदेश १ का ६ दर्जन बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
दमकमा मंगलबार पार्टीका असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले पत्रकार सम्मेलन गरी सामूहिक रुपमा पार्टी त्यागेका घोषणा गरेका हुन् । उनीहरुले पार्टी भित्र कुनै छलफल नै नगरी अन्धाधुन्द ढंगवाट आप्mना पार्टीका सांसदले एमसीसीका पक्षमा मतदान गरी अनुमोदन गराउन सहयोग पुर्याएको भन्दै सामूहिक पार्टी त्यागेको विज्ञप्तिमा उल्लेख छ । यसरी पार्टी त्याग गर्नेमा पार्टीका केन्द्रीय नेता प्रेमदीप थाम्सुहाङ, लोसपा प्रदेश १ का अध्यक्ष फक्तालुङ योङहाङ, वरिष्ठ उपाध्यक्ष शरणहाङ जवेगु, सचिव दिपेश पालुङवा, लोसपा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष रञ्जन सुब्बा, उपाध्यक्ष गजेन्द्र लावती, किरात खम्बुवान राष्ट्रिय समितिका संयोजक हर्कराज राई लगायतका नेता तथा कार्यकर्ताहरु रहेका छन् ।
५१ जनाको सामूहिक हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ,–‘एमसीसी परियोजना देशका लागि राष्ट्रघाती भएको र त्यसमा पार्टी उभिएकाले स्वाभिमानी कार्यकर्ताहरुले आज (मंगलबार) का मितिदेखिनै साधारण सदस्य समेत नरहने गरी पार्टी त्याग गरेका घोषणा गर्दछौ ।’ यसैबीच, पार्टी त्यागेकाहरुले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नेता थाम्सुहाङको नेतृत्वमा उनीहरुले राष्ट्रिय जनता पार्टी नेपाल घोषणा गर्ने तयारी गरेको बुझिएको छ । स्रोतका अनुसार यहि फागुन २१ गतेनै दमकमा एक कार्यक्रम गरी नयाँ पार्टीको औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको छ ।