समाचार

अशक्तको घर बनाउँदै काँग्रेस

दमक/ नेपाली काँग्रेसले कमल गाउँँपालिका– १ सराङ्गपाडा बस्ने एक जना अशक्त परिवारलाई घर बनाई दिने भएको छ । लामो समयदेखि त्यहाँ बस्दै आएपनि आर्थिक अभावका कारण घर बनाउन नसकेका बोल्न नसक्ने दिनानाथ न्यौपानेलाई काँग्रेसको अगुवाईमा घर निर्माण गरिदिने भएका हुन् ।
उक्त निर्माण हुने घरको मंगलबार काँग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले शिलान्यास गरे । कमल–१ का वडाध्यक्ष समेत काँग्रेस कमलका उपसभापति केदार कटुवालका अनुसार अति विपन्न आर्थिक अवस्था भएका न्यौपानेको घर निर्माण कार्य शुरु गरिएको छ । दुई कोठे पक्की आवास गृह बनाउन ५ लाख लाग्ने अनुमान गरिएको छ । ओत लाग्न समस्या झेल्दैआएका न्यौपाने परिवारको दैनिक जीवनयापन सहज बनाउन घर निर्माण शुरु गरिएको उनले बताएका छन् ।
घर निर्माण गर्न काँग्रेस महाधिवेशन प्रतिनिधि सत्यनारायण चौधरीले रु १ लाख ११ हजार १११ रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् । काँग्रेस कार्यकर्ताहरु, शुभेच्छुकहरुको सहयोग जुटाएर घर निर्माण सम्पन्न गरिने बताइएको छ । घर शिलान्यास कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधिहरु डा. खगेन्द्र पाण्डव अधिकारी, टिकाराज सापकोटा, राजन ढुंगाना, प्रदेश सभा (क) का सभापति जीवन राई, प्रदेश (ख) का सभापति रवि केसी, कमल–१ का वडाध्यक्ष केदार कटुवाल, गौरादह– २ का वडाध्यक्ष हेमन्त कार्की, जिल्ला सदस्य शेरबहादुर श्रेष्ठ, पार्टीका कमल उपसभापति पदम निरौला, युवा व्यवसायी दिनेश अधिकारी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Author

You may also like