कार्तिक २७ गते एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन
दमक/ नेकपा एमालेको समग्र पार्टी पंक्ति र कार्यकर्ताहरु यतिबेला १० औं राष्ट्रिय महाधिवेशनतर्फ केन्द्रीत भएका छन् । एमालेको यसपालीको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनका लागि प्रतिनिधि छनौट कार्यक्रमको प्रकृया बुधबारदेखि शुरु भएको छ । जसमा देशभरिका पार्टी सदस्यहरुको नामावली प्रकाशन गर्नेदेखि यही कार्तिक २७ गते पार्टी सदस्यहरुले देशभर एकैदिन महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यक्रम रहेको छ । यसपटक महाधिवेशनमा भने विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरिएको छ ।
यस्तो छ महाधिवेशन प्रतिनिधि चयनको व्यवस्था
नेकपा एमाले १ नम्वर प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार महाधिवेशन प्रतिनिधि छनोटका लागि मजदूरहरुको निर्वाचन इकाई प्रदेश हुने र त्यहाँबाट २ महिलासहित ७ जना प्रतिनिधि चयन हुनेछन् । दलितहरुको निर्वाचन इकाई जिल्ला हुने र त्यहाँबाट ५ सय दलित पार्टी सदस्य बराबर १ १ जना प्रतिनिधि र थप ५ सय बराबर १ जना महिला प्रतिनिधि थपिँदै जाने व्यवस्था गरिएको छ ।
देशभर २२ वटा जनसंगठन भएकोमा प्रत्येकबाट २ महिलासहित ५ जना प्रतिनिधि रहने र सबैबाट गरी जम्मा ११० जना महाधिवेशन प्रतिनिधि रहनेछन् । प्रदेश कमिटीबाट २ महिला सहित ५ जना र ५ प्रतिशत केन्द्रीय कमिटीबाट मनोनित हुने व्यवस्था रहेको जानकारी गराइएको छ ।
थापाका अनुसार झापामा जम्मा २९ हजार १८३ पार्टी सदस्य रहेको र त्यसमा दलितको संख्या १ हजार १९७ तथा अन्यको संख्या २७ हजार ९८६ जना रहेका छन् । एमालेको वार्ड र पालिकाहरुको अधिवेशन भने सम्पन्न भइसकेको छ । जिल्ला र प्रदेशको भने केन्द्रीय कमिटीले मिति तोकेपछि अधिवेशन हुने जनाइएको छ । यसैक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा भने दलित २२६ र अन्य ६ हजार २५७ जना पार्टी सदस्य रहेका छन्, जसले १० जना महाधिवेशन प्रतिनिधि चयन गर्नेछन् ।
दमकमा जम्मा २ हजार ९५९ पार्टी सदस्य रहेका छन् । दमकमा ४ ठाउँमा, कमलमा ३ ठाउँमा, गौरादहमा ४ ठाउँमा र गौरीगञ्जमा १ ठाउँमा महाधिवेशन प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको जानकारी गराइएको छ । महाधिवेशन प्रतिनिधि हुनका लागि पुरुषहरुका लागि पार्टी सदस्य भएको १० वर्ष, महिला र दलितका लागि ७ वर्षको समय पुगेको हुने व्यवस्था रहेको छ ।
कार्तिक २७ गते देशभरिबाट १ हजार ९९९ जना महाधिवेशन प्रतिनिधिहरु चयन गरिने कार्यक्रम रहेको छ । केन्द्रीय कमिटीका सदस्य, लेखा र अनुशासन आयोगका पदाधिकारी तथा सदस्यहरु भने स्वतः प्रतिनिधि रहनेछन् । त्यस्तै सल्लाहकार समितिबाट १५ जना महाधिवेशन प्रतिनिधि रहनेछन् । जसअनुसार महाधिवेशन प्रतिनिधिको संख्या २ हजारको हाराहारीमा हुनेछन् । यसपटकको महाधिवेशन प्रतिनिधि चयन भने सकेसम्म सर्वसम्मत हुने एमाले झापा जिल्ला कमिटी सचिवालय सदस्य शिव ढुंगेलले जानकारी गराए ।
महाधिवेशनमा विद्युतीय मतदान
एमालेको नवौं महाधिवेशनमा विद्युतीय मेसिनको प्रयोग गरी मतदान गर्ने भनिएपनि अन्तिम अवस्थामा हुन सकेको थिएन । विद्युतीय मतदानका लागि राम–लक्ष्मण इनोभेसेनले १०० वटा विद्युतीय मेसिन राख्ने तयारी गरेको छ । एक मेसिनमा दुई जनाले मतदान गर्ने व्यवस्था मिलाइने छ । एमालेको महाधिवेशनमा २ सय २५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५÷१५ जना गरी कुल २ सय ५५ पदका लागि निर्वाचन हुनेछ । विद्युतीय मेसिनबाट निर्वाचन हुने भएकाले मतदान सकिएको ३÷४ घण्टामा नतिजा आइसक्ने बताइएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको निर्वाचन अधिकृतले रुजु गरेपछि मात्र विद्युतीय मेसिनमा मतदान गर्न पाउने छन् । निर्वाचन अधिकृतले नाम रुजु गरिसकेपछि मतदानका लागि प्रतिनिधिलाई कुपन दिइनेछ । सोही कुपनका लागि मेसिनमा प्रतिनिधिले मतदान गर्नेछन् ।
प्रतिनिधिले ४८ स्थानका लागि तयार मतपत्रमा ४८ पटक स्क्रिनमा देखिने उम्मेदवारलाई मतदान गर्ने छन् । एउटा स्क्रिनमा मतदान गरेपछि स्वतः अर्को स्क्रिन देखिने छ ।
यसरी एकवटा स्क्रिनमा देखिका उम्मेदवारलाई मतदान गरिसकेपछि क्रमशः उम्मेदवारलाई मतदान गर्ने छ । मतदानका लागि विभिन्न ठाउँमा मतदान केन्द्र राखिने छ ।
एक वटा मतदान केन्द्रमा आठ वटा मेसिनबाट मतदान गरिने बताइएको छ । ती मतदान केन्द्रमा एक निर्वाचन अधिकृत, एक प्राविधिक र दुई उम्मेदवारका प्रतिनिधि रहने छन् । विद्युतीय मतदान गर्नका लागि ४० जनाको प्राविधिक टोली खटिने भएको बताए । मतदान भएको चार घण्टामा सबै परिणाम घोषणा गरिने विद्युतीय मतदानको व्यवस्था गर्ने राम लक्ष्मण इनोभेशनका निर्देशक लक्ष्मण रिमालले जानकारी दिएका छन् ।
मतदान गरिसकेपछि सबै मेसिनबाट कसले कति मत पाए भन्ने नामावलीसमेत प्रिन्ट गरिन्छ । सय वटा मेसिनबाट प्रिन्ट भएका मतलाई जोडेर परिमाण घोषणा गरिने उनले बताए । सो इनोभेसनले हालसम्म ९२ वटा संस्थाको निर्वाचन गराइसकेको छ ।