लेख विचार/वहस

विभूषण वितरणमा पारदर्शिताको खाँचो

  हरेक बर्ष हुने विभूषण सिफारिस निष्पक्ष र विवादरहित बनाउनुपर्ने माग जनस्तरबाट उठिरहेकै हो, यतिबेला सामाजिक सञ्जालमा यिनै कुराले चर्चापरिचर्चा पाएको छ । कतिले सकारात्मक र कतिले नकारात्मक टिप्पणी गरेका छन् । कतिले त फेरि अर्को बिद्रोह पो हुने हो कि जस्तो गरेर नकारात्मक टिप्पणी गरेका छन् । यो गर्नु एक अर्थमा सरासर गल्ती हो ।

———————————————————–

ओमप्रकाश गौतम
संसारमा रहेका सम्पूर्ण प्राणीहरु मध्येको एउटा सामाजिक प्राणी मानव हो । मानिसको जति बुद्धि, विवेक र शिल्पकला यो जगतमा अरु कुनै प्राणीको हुन सक्दैन । मानवले मात्रै सत्यकुरालाई शिरोधार्य गरेर कर्तव्य पथमा अघि बढ्न सक्छ । कुन कुरा बोल्न, लेख्न, पढ्न सकारात्मक छ र कुन नकारात्मक छ, यो सबै बोध गरेर उ आफै विबेकी बनेर अघि बढ्ने भनेकै असली मानव हुन् । सच्चा , देशभक्त मानवले आफ्नो गुणको परिचय होइन, अर्को ब्यक्तिको यी गुणहरु छन भने उसले उसैको बखान गर्छ । आफ्नो भने पटक्कै गर्दैन, यो शाश्वत सत्य हो । योग्यता, काम वा महत्व अनुसारको नियत स्थान आफैले सही रुपमा मुल्यांकन गरेर अधि बढने ब्यक्ति महान विचारक बन्दछ र ‘मै खाउँ, मै लाउँ सुख सयल या मोज म गरौं’ भन्ने सोच राख्ने मानव कहिल्यै प्रगतिको थुम्को चढ्न सक्दैन । यो त हामीले गाउँ र नगरभित्रकै दैलोमा देखिँदैआएका कुरा हुन् । यति हुँदाहुँदै पनि आजको सभ्य र सम्माननीय मानव, विविध लोभ, मोह, काम, क्रोध, अहंकारले गर्दा मानवको गरिमालाइनै ध्वस्त बनाउँदैछ । कित्ताकाट गर्दैछ । मानवीय मूल्य र मान्यतालाई क्रमशः क्षयीकरण गर्न उद्दत छ । आजको आधुनिक मानव धनदौलतको पछि दगुर्ने भएकाले उसैले गरेको पुण्य कार्यपनि उसैले सही दिशामा लैजान सकेन । शक्ति र सत्ताका पछिपछि दगु¥यो । आफ्नो योग्यता र गरिमालाई जी, ज्यू र हजुरी गरेर आफ्नो मान लिलाम बढाबढ गर्नेहरुको पनि कमी छैन । आज यसरीनै मानवहरुका विविध प्रवृत्तिहरुमा ठेस लाग्न थाल्या छ । को असल को खराब कोही कसैले बुझ्नसक्ने अवस्था छैन । एकले अर्कालाई सानो या ठूलो हो भन्ने कुरामा बजारमा मोलमोलाई हुन थालेको छ ।
मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएदेखि यता आज बिशिस्ट पददेखि लिएर मान–सम्मान, विभूषण पाउने सवालमा राजनीतिक लेप लाग्न थालेको छ । जो चाकडी र हजुरी गर्छ उसैले सबैभन्दा ठूलो पद ग्रहण गर्दैछ । हिजो खुकुरीको धारमा जीवन राखेर आउनेहरुको नाम गुमनाम छ । उनीहरूको नामनै हराउँछ । तपाईं हामीले मुल्यांकन गरेका एउटा प्रबद्य बर्गका मानिसहरु हेरौ उनीहरूको नाम कसैले उच्चारण गर्दैन । फलानो हाम्रो पार्टीको हो, हामीलाई सहयोग गरेको हो चुनावमा उसैलाई सम्मान तथा विभूषित गर्नुपर्छ भन्नेहरुको भीड बढेको देखिन्छ । हिजोआज यही कुरा गत असोज ३ गते संविधान दिवसमा सरकारले ९ सय ३ जनाले मानपदवी दिने घोषणा सँगै पद पनि प्राप्त गरेको अवस्था छ । सरकारले राजनीतिक आस्थाका आधारमा मानपदवी विभूषण सिफारिस गर्नु शोभनीय हुँदैन । अनि तत्कालिन केपी शर्मा ओली नेतृत्व सरकारको पालामा अघि बढेको विभूषण सिफारिस उल्ट्याएर शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि दलीय भागबण्डालाई नै बढवा दिनु कति लज्जाको बिषय हो, हामी एउटा सचेत बर्गले मूल्यांकन गरौं त ? यो लोकतान्त्रिक हो कि अलोकतान्त्रिक गतिविधि हो ? गत असार २० गतेअघि नै विभूषण पाउनेको नाम संकलन गरिसक्ने मिति तोकिसकेको थियोे तर ओली नेतृत्वको सरकार हटेर २९ गते देउवा प्रधानमन्त्री बने, त्यसपछि गृहमन्त्रालयले पहिले परेका नामहरु व्यापक कटौती गरि नयाँ छनौट प्रक्रिया अघि बढायो । त्यसैका आधारमा विभूषण पाउनेको नाम टुंगो लागेको हो ।
हरेक बर्ष हुने विभूषण सिफारिस निष्पक्ष र विवादरहित बनाउनुपर्ने माग जनस्तरबाट उठिरहेकै हो, यतिबेला सामाजिक सञ्जालमा यिनै कुराले चर्चापरिचर्चा पाएको छ । कतिले सकारात्मक र कतिले नकारात्मक टिप्पणी गरेका छन् । कतिले त फेरि अर्को बिद्रोह पो हुने हो कि जस्तो गरेर नकारात्मक टिप्पणी गरेका छन् । यो गर्नु एक अर्थमा सरासर गल्ती हो । हुन सक्ला विभूषण प्राप्त गर्ने ब्यक्तिहरुमा कुनै कुनै ब्यक्तिको नाम सिफारिस गर्नु गलत थियोे होला तर हिजोको राजनीतिक द्वन्दको बेलामा उनीहरूले गरेको बलिदान र जीवन उत्सर्गलाई कोहीकसैले भुल्नु भने पटक्कै हुन्न । यहाँ त तजबिजीको अधिकार ल्याएर आसेपासेलाई तक्मा दिने बाटो खुलाउनु आफैमा गलत संस्कार हो । यस्तो काम कुनैपनि सरकारले गर्नुहुन्न । योगदानका आधारमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, न्यायाधीश, राजनीतिकर्मी, उधमी र पेशाकर्मीलाई मात्र होइन, पहुँचका आधारमा केही ब्यक्तिलाई पदक बाडेकोमा आलोचना हुनु राम्रो कुरा होइन । यसरीनै मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिबाट घोषणा गरिएका विभूषणमध्ये सबैभन्दा ठूलो नेपाल रत्न काँग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई र काँगेसका दिवंगत नेता सुवर्णशमशेर राणा, पूर्वप्रधानमन्त्री एकीकृत समाजवादीका वरिष्ठ नेता झलानाथ खनाललाई राष्ट्र गौरवबाट विभूषित गर्ने निर्णय भएको छ । सरकारले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीतालाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री घोषणा गरेको छ, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बुबा स्वर्गीय मङ्गलकुमार उपाध्याय (नेपाल) लाई साहित्यकारका रूपमा प्रबल जनसेवाश्री (मरणोपरान्त) प्रदान गर्ने निर्णय बिवादित बन्यो । यसरीनै कुनैपनि सत्ता सञ्चालकले आ–आफ्ना नातेदार मात्रै हैन जुनसुकैको सरकार बनेपनि कुनैपनि दलका शिर्ष नेताहरुको योगदानलाई मूल्यांकन गरेर विभूषणमा देखिएको पारदर्शिताका अनेकन प्रश्नहरुको समाधान गर्दै पदवी बाँढ्न सक्नुपर्ने हो ।
पछिल्लो पटक ओली सरकारले संविधान दिवसका दिन विभूषित हुनेको विवरण २०७८ असार २० गते अगावै सङ्कलन गरिसकेको थियो । नाम छनौटको काम अधि बढ्नै लाग्दा सर्वोच्चको परमादेशबाट ओली प्रधानमन्त्रीबाट हटे पश्चात असार २९ मा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा आसिन भएपछि त्यसको तीन सातापछि गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा प्राध्यापक भूषण श्रेष्ठ, ब्यवसायी कुशप्रसाद मुल्मी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, पूर्व उपरथी नरबहादुर कडेल, त्रिभुवन बिश्वविद्यालयका पूर्व रजिष्ट्रार गोबिन्द शर्मा र इन्जिनीयर ओमप्रकाश महतो र गृह सचिव टेकनारायण पाण्डे सदस्यसचिव सम्मिलित विभूषण समिति गठन गरेको थियो ।
हरेकवर्ष विभूषण पाउनेको संख्या २ सय नबढ्ने गरी मापदण्ड बनेकामा गत बर्षनै मापदण्ड संशोधन गरी आवश्यक मात्रामा दिनसक्ने ब्यबस्था गरिएको हो । विभूषण बाढ्ने क्रममा कतिजना छुटेकापनि जो महान जनयुद्धदेखि २०६२/६३ को आन्दोलनमा घाइते तथा अपाङ्ग जीवन ब्यतित गर्नेहरु धेरै छुटेको देखियो अनि आफ्नो नाम परेर पनि पदवी नलिने सामाजिक तथा राजनीतिक ब्यक्तित्व धेरै भए, यो एउटा दुखद् पक्ष हो । यसलाई बर्तमान सरकारले समायोजन गरेर लान सकेन । सरकार गठन प्रक्रियामै अलमलमा छ । अन्त्यमा यसरी प्रत्येक बर्ष वितरण गरिँदै आएको यो विभूषण राजनीति र नातागोताको आधारमा बितरण कुनैपनि सरकारले नगरोस् विभूषण बितरणमा पारदर्शिता होस् ।

omgautam497@gmail.com

Author

You may also like