जीवन चौलागाईं
मुलुक विगत २ वर्षदेखि कोरोनाको महामारीको चपेटोमा पर्दै आएको छ । पछिल्लो समय खोपका कारण केही नियन्त्रण हुन सकेपनि पूर्ण नियन्त्रण हुनभने सकिरहेको छैन । समाजमा दोस्रो र तेस्रो लहर चलेको हल्लाले जनमानसमा थप अन्यौलता बढ्नुकासाथै जनजीवन प्रभावित हुँदै गएको छ । यसै सन्दर्भमा झापामा कोरोना महामारीको अवस्था र नियन्त्रणका योजनाहरुको विषयमा केन्द्रित रहेर स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंसँग गरिएको कुराकानी यहाँ प्रश्तुत गरेका छौं ।
=======================================
झापामा कोरोना संक्रमणको पछिल्लो अवस्था के छ ?
पहिलेको तुलनामा धेरै नै नियन्त्रण भएको अवस्था हो । अझैपनि दमक, विर्तामोड, भद्रपुर र मेचीनगरमा संक्रमित देखिने क्रम जारी नै छ । अरु पालिकामा नियन्त्रण हुँदै गएको अवस्था हो । तर पूर्ण नियन्त्रण भने हुन सकेको छैन ।
तत्काल तेस्रो चरणमा संक्रमण फैलिँदैछ भन्ने हल्ला छ नि ?
पुरानो किसिमको कोरोनाको लक्षण नभई अलि फरक तरिकाले रुघाखोकी र ज्वरो आउने लक्षण भएका विरामी अहिलेपनि देखापरिरहेकै छन् । यो भाइरल फरक तरिकाले फैलन सक्ने सम्भावना हो । यसलाई स्वास्थ्य मन्त्रालयले नियन्त्रणको पहलमा जुट्न स्वास्थ्यकर्मी, मातहातका शाखाहरु र आम नागरिकलाई सचेत रहन आग्रह गरिसकेको छ ।
झापाको सन्दर्भमा चाहीँ सचेतनाका योजना के छन् त ?
हामीले जिल्ला प्रशासनसँग परामर्श र छलफल गरिरहेका छौं । सबैभन्दा मुख्य कुरा त खोपलाई जोड दिने नै हो । खोपको विकल्प नै छैन । तथापी सम्भावित जोखिमलाई मध्यनजर गर्दै अस्पतालहरुमा विरामीको ब्यवस्थापन, बच्चाहरुकोलागि अक्सिजन, आईसीयू र भेन्टिलेटरको ब्यवस्थापन गर्नुपर्ने हुन्छ, सोही अनुसार तयारी भइरहेको छ ।
अब खुलेर चाडबाड मनाउन अथवा सार्बजनिक स्थलहरु खुल्ला गर्न सकिने अवस्था भएको हो ?
स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर भिडभाड नगरी क्रमशः अहिलेको अवस्थालाई सामान्यकरण गर्दै लान सकिएपनि पूर्ण रुपमा कोरोना संक्रमण नियन्त्रण भएको अवस्था छैन । अब नागरिक आफैले सचेतना अपनाउनु र बचेर काम गर्न प्रयास गर्नुपर्छ । खोपले पनि केही हदसम्म प्रतिरोध गर्न सहयोग गर्ने भएकाले सबैलाई खोप लगाउने बातावरण तयार गर्नु अहिलेको आवश्यकता हो ।
अहिले झापामा कति संक्रमित छन् र कति निको भइसके ?
असोज ९ गते शनिबार १२ बजेसम्मको तथ्यांक अनुसार, झापामा पीसीआर टेष्ट गर्नेको संख्या ८ लाख ५ हजार ८२ रहेको छ भने कुल संक्रमित संख्या २४ हजार ३ सय ४२ पुगेको छ । निको भएर डिष्चार्ज हुनेको संख्या २२ हजार ८ सय ३ रहेको छ भने अहिलेसम्म ६ सय ४ जनाको मृत्यु भएको छ ।
दुईवर्षको कोरोना संक्रमणकालमा स्वास्थ्य क्षेत्रमा खटिँदाको अनुभव ?
शुरुमा निकै डर र त्रास भयो । डाक्टरहरु पनि डराउनु भयो, काम गर्न नै असहज थियो । पछिल्लो समय अनुभव बटुल्दै जाँदा काममा केही सहजता भएको छ । त्रास कम हुँदै गएको छ । स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने हो भने सेवा दिन सकिने रहेछ भन्ने अनुभव स्वास्थ्यकर्मीहरुको छ ।
प्रश्तुतीः विमल लामिछाने