अर्थ

महंगीको मारमा उपभोक्ता

पंकज दाहाल /      दमक/   कोरोना कहरका बीच यसपालीको दशैं नजिकिँदै जाँदा व्यापार व्यवसाय सहज अवस्थाको जस्तो उत्साहपूर्ण नरहेको व्यापारीहरुले बताएका छन् । तर दैनिक उपभोग्य बस्तु खाद्यान्न र तरकारीदेखि लुगाकपडा, जुत्ताचप्पल तथा फर्निचरको समेत भाउ बढेकाले उपभोक्ता भने मारमा परेका छन् । बुधबार पूर्वसन्देश दैनिकले गरेका बजार अवलोकनका क्रममा कोरोना विरुद्धको खोप लगाएको र लकडाउन प्रायः हटेको भएपनि पसहरुमा कोरोना अघिको जस्तो भीडभाड र मानिसहरुको चहलपहल खासै देखिएन ।
व्यापारीहरुका अनुसार सामान्य रुपले हेर्दा जुत्तामा ३ देखि ५ सयसम्म, लुगाकपडामा १० देखि २० प्रतिशत, फर्निचरमा, किरानामा १० देखि १५ प्रतिशत , तरकारीमका १५ देखि २० प्रतिशत र फर्निचरमा २० देखि २५ प्रतिशतसम्म मूल्य बढेको छ । मूल्य बढ्नुका पछाडी विविध कारणहरु रहेका छन् । दमक–५ स्थित सुवानी सु सेन्टरका संचालक सुजन थपलियाले देशका राजनीतिक अस्थिरता र भन्सार मूल्यमा बृद्धि भएकाले जुत्ताचप्पलको भाउ बढेको बताए । उनले कोरोनाका कारण मानिसहरुको पहिलो प्राथमिकता खानपानमा रहेको, त्यसपछि मात्र लुगाकपडा जुत्ताचप्पलमा रहेको र लकडाउन लगायतका कारण आयस्रोत घटेकाले अहिले आफूहरुको व्यापार घाटामै रहेको र तङ्ग्रिन नसकेको बताए । त्यस्तै उनले मानिसहरुमा पैसाको अभाव भएकाले पनि अहिलेको बजारमा पहिलेजस्तो चहलपहल नदेखिएको धारणा राखे । प्लाइ बनाउन चाहिने केमिकल र पाताको मूल्य बढेकाले साथै दराज लगायतका फर्निचरको मूल्य पनि बढेको दमक–५ स्थित सुमेक काष्ठ फर्निचरका संचालक सुवास श्रेष्ठले प्रष्ट पारे । उनले मानिसहरुले पहिले बाँच्नुपर्ने भएकाले खाद्यान्नमा बढी जोड दिएको र कोरोना अझै बाँकी रहेकाले बजारमा मानिसहरुको आवतजावतमा समेत कमी आएको विश्लेषण गरे ।
यसैगरी दमक–६ स्थित ठूल्दाई रेडिमेड कपडा पसलका चन्द्रप्रसाद काफ्लेले अहिलेको व्यापार उत्तम नभएर मध्यम स्थितिमा रहेको जानकारी गराए । अहिले लुगाकपडाका पसलहरु पनि धेरै भएको र व्यापारमा प्रतिष्पर्धा भएकाले ग्राहक नफर्किउन भनेर थोरै मुनाफा राखेर पनि व्यापार गरिरहेको जानकारी गराए । उनले पहिले दैनिक १० कन्टेनर लुगाकपडा भित्रिने गरेकोमा अहिले ४/५ कन्टेनर मात्र सामान आइरहेकाले ग्राहकको मागअनुसारका लुगाकपडा दिन नसकिएको पनि प्रष्ट पारे । खासगरी बडादशैंमा नयाँ नयाँ लुगा लगाउने नेपाली हिन्दुहरुको परम्परा र प्रचलन रहेकाले बजारमा लुगा किन्न आउनेको भीड नै लाग्ने गर्दछ । तर कोरोनाका कारण र मानिसहरुको आयस्रोत समेत घटेकाले पहिलेजस्तो व्यापार नभइरहेको व्यापारीहरुको भनाई छ । साथै विभिन्न फेसन र डिजाइनका लुगाहरु आउने गरेकोमा यसपटक भनेजति लुगाकपडाहरु प्राप्त हुन नसकेको बताइएको छ ।
लयमा फर्किँदै किराना व्यापार
लकडाउनमा समेत राम्रो व्यापार गरेका किराना पसलहरु भने अहिले बजार खुलेपछि विस्तारै लयमा फर्किँदै गरेको दमक–६ स्थित न्यू पशुपति ट्रेडर्सका संचालक घनश्याम गौतमले बताए । उनका अनुसार दशैं लागेपनि नलागेपनि खाद्यान्नका सामग्रीहरु उपभोक्तालाई सँधै र अनिवार्य रुपमा चाहिने भएकाले व्यापारमा खासै फरक नपरेको उनको भनाई छ । तर कोरोनाको त्रास अझै कायम रहेको र त्यसविरुद्धको खोप सबै नेपालीले पाइनसकेकाले बजारमा जति मानिसहरुको आउजाउ हुनुपर्ने हो त्यति नदेखिएको उनको विश्लेषण छ । यसबीचमा चामलको भाउ नबढे पनि दाल, तेल लगायतको भाउ भने बढेको उनले जानकारी गराए । अहिले किरानाका सामानहरु भारतबाट सिधै नभइ सीमार्ति क्षेत्रका बजार भएर आउने गरेको पनि उनले जानकारी गराए ।
तरकारीमा पनि उस्तै
दमक–६ स्थित तरकारी मण्डीका व्यापारी बुद्धबहादुर श्रेष्ठका अनुसार अहिले तरकारीको व्यापार भनेजस्तो उत्साहजनक रहेको छैन । आलु भारत र भुटान तथा प्याज भारत र लसुन चीनबाट आउने गरेको छ । अन्य हरियो सागसब्जी प्रायःजसो पूर्वी पहाडी जिल्लाहरु इलाम, धनकुटा लगायतका ठाउँबाट आउने गरेको उनले बताए । तरकारीको मूल्यमा भने बृद्धि भएपनि बिहान र बेलुका अलि बढी व्यापार हुने गरेको तर दिउँसोका समयमा ग्राहकहरु कम मात्रमा आउने गरेको उनले प्रष्ट पारे ।
महंगीको मारमा उपभोक्ता
दमकको बजारमा किनमेल गर्न आएका इलामको माङ्सेबुङ–४ का अमरदीप राईले अहिले खाद्यान्य, तरकारी, लुगाकपडा, फर्निचर लगायतका सबै बस्तुहरुको मूल्य बढेको तर आफूजस्ता किसानहरुले उत्पादन गर्ने अन्नको भाउ नबढेकोमा भने दुःख लागेको गुनासो गरे । कृषिप्रधान देश भएपनि कृषि उपजको मूल्य सँधै उस्ताको उस्तै रहने तर अन्य सामानको भाउ बढ्ने गरेकोमा यसबारेमा सरकारले बेलैमा सोचेर उचित कदम चाल्नुपर्ने उनले बताए । त्यसो नहुँदा उपभोक्ता भने सँधै मारमा परेको उनको भनाई छ ।

Author

You may also like