समाचार

कञ्चनजंघाको कारोबार ६८ करोड ६० लाख

दमक/ झापाको दमक–८ स्थित कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले गएको आर्थिक वर्षमा ६८ करोड ६० लाख ३३ हजार १२ रुपैयाँ बराबरको कारोबार गरेको छ । बुधबार संस्थाको आफ्नै सभाहलमा संस्थाको २१ औं वार्षिक साधारण सभाका लागि वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सो कुरा जानकारी गराइएको हो । कार्यक्रममा वितरित प्रतिवेदनमा संस्थामा हाल २ हजार ८१ जना शेयर सदस्य रहेका, शेयर पुँजी ५ करोड ५६ लाख ९७ हजार ८ सय, निक्षेप ४७ करोड ६ लाख ३० हजार ४५३ र कर्जा लगानी ५१
करोड १२ लाख ६१ हजार ८४५ रुपैयाँ रहेको उल्लेख गरिएको छ । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष मणि कुमार भण्डारी, पूर्वअध्यक्ष होम बहादुर थापा, सल्लाहकार समितिका संयोजक हेम अधिकारी र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक गंगा प्रसाद संग्रौलाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
प्रतिवेदन सार्वजनिक कार्यक्रम भएसँगै बुधबारदेखि नै शेयर सदस्यहलाई प्रतिवेदन वितरण गर्न थालिएकोमा सो कार्य यही भाद्र २९ गतेसम्म हुने र सोही दिन साधारण सभा पनि समापन गरिने जानकारी गराइएको छ । प्रतिवेदन वितरण संस्थाका सेवा केन्द्रहरु झापाको शिवसत्ताक्षीको डुँडामारी, गौरादह र मोरङको उर्लाबारी (आधारशिला) केन्द्रबाट गरिने संस्थाका व्यवस्थापक निलकण्ठ निरौलाले बताए । कार्यक्रमको अध्यक्षता गरेका संस्थाका अध्यक्ष मणि कुमार भण्डारीले कोरोना संक्रमणको महामारीका बीच पनि संस्थाले आफ्ना नीति कार्यक्रमहरुलाई कार्यान्वयन गरी अघि बढाइरहेको प्रष्ट पारे । संस्थाले यही भदौ १८ गते मोरङको पथरीमा नयाँ सेवा केन्द्र उद्घाटन गर्न लागेको र चाँडै नै मिक्लाजुङको मधुमल्लामा पनि सेवा केन्द्र शुरु गर्न लागेको बताइयो । प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गर्दै संस्थाका अध्यक्ष भण्डारीले सहकारीलाई अघि बढाउन आगामी २०८३ सालसम्मका लागि विभिन्न उद्देश्यहरु राखिएको पनि बताए । कार्यक्रममा लेखा तथा सुपरीवेक्षण समितिका संयोजक गंगा प्रसाद संग्रौलाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने शुभकामना मन्तव्य पूर्वअध्यक्ष होमबहादुर थापाले राखेका थिए । व्यवस्थापक निलकण्ठ निरौलाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भरतकुमार चौंलागाईले राखेका थिए । कार्यक्रममा सल्लाहकार समितिका संयोजक हेम अधिकारी, संचालक सदस्य खड्गबहादुर थापा लगायत अतिथिकिा रुपमा र अन्य संचालक सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु, पत्रकार, कर्मचारी तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

Author

You may also like