समाचार

कस्तो छ झापाको निषेधाज्ञा ?

दमक/ यतिबेला झापामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको छ । यही साउन १७ देखि २३ गतेसम्म निषेधाज्ञा लगाइएको भएपनि शहरी तथा ग्रामीण क्षेत्रहरुमा उल्लेख्य नभएपनि सामान्य रुपमा मानिसहरु हिंडिरहेको पाइएको छ । पूर्व पश्चिम मुख्य राजमार्गमा मध्यम तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरु चलिरहेका छन् । जिल्ला भित्रका सबै प्रकारका सवारी साधनहरु संचालनमा बन्देज लगाइएपनि भित्री मार्गहरुमा अटो र सिटी सफारीहरुले मानिसलाई ओसार्ने कार्य रोकिएको छैन । यसबाट निषेधाज्ञाको पूर्ण पालना नभएको पाइएको छ ।
खोप र भत्ता लिन भीड
खासगरी जिल्ला प्रशासन कार्यालय झापाले मानिसहरुलाई अत्यावश्यक काम बाहेक बाहिर हिंड्डुल नगर्न भनेको छ । कोरोना विरुद्धको खोप लगाउन मात्र होइन, अन्य कार्यका लागि पनि मानिसहरु बाहिर निस्केको पाइएको छ । त्यस्तै सामाजिक सुरक्षा भत्ताको रकम यतिबेला विभिन्न पालिकाहरुले धमाधम बाँडिरहेका छन् । खोप लगाउने र भत्ता लिने कार्यमा मानिसहरुको भीड लाग्ने गरेको छ । यो भीडबाट मानिसहरुमा कोरोना संक्रमण सर्न सक्ने त्रास पनि उत्तिकै रहेको अनुमान लगाउन सकिन्छ । खोप केन्द्रहरुमा सामाजिक दूरी कायम भएको छैन । कतिपयले मास्कनै पनि सही ढंगबाट नलगाइएको भेटिएको छ । सेनिटाइजर लगाउने या साबुन पानीले हात धुने कुरा त परकै भयो  ।
अर्कातर्फ सामाजिक सुरक्षा भत्ता वितरण गर्दा पनि सम्बन्धित ठाउँहरुमा भीड बढेको देखिएको छ । खासगरी ७० माथिका ज्येष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ता दिन भेला हुने भएकाले कोरोना संक्रमणको जोखिम उच्च रहेको जानकारहरु बताउँछन् । यि दुवै कार्यहरु अनिवार्य हुन् । नगरी नहुने कार्य भएकाले खोप लगाइदिँदा र सामाजिक सुरक्षा भत्ता दिँदा भीडलाई सकेसम्म व्यवस्थापन गर्नु आवश्यक देखिन्छ । यसका लागि कतै कतै सुरक्षाकर्मीहरु पनि परिचालन गरिएको पाइएको छ  । तर यो मात्र काफी छैन । र, यसबाट मात्र पनि मानिसहरुको भीड व्यवस्थित भएको पाइएको छैन ।
दिउँसै तरकारी व्यापार
प्रशासनले तरकारी, फलफूल तथा दुग्धजन्य पदार्थको व्यापारका लागि विहान ६ देखि ८ बजेसम्मको समय तोेकेको छ । तर कतिपयले भ्यानमा हालेर शहरी क्षेत्रका भित्री मार्गहरुमा दिउँसै र अझ साँझ पख मुख्य सडककै आसपासमा तरकारी व्यापार गर्न थालेको पाइएको छ । ग्रामीण भेगहरुका बाटाघाटामा पनि यस्तो व्यापार हुने गरेको भेटिएको छ । यसका साथै दमक, विर्तामोड, गौरादह, गौरीगञ्ज लगायतका शहरहरुमा भित्री ढोका खोलेर किराना, स–साना होटल तथा चिया पसलहरु खुला गरिएको पनि पाइएको छ । होटलहरुमा ९÷१० जनासम्म मानिसहरुको जमघट हुने गरेको भेटिएको छ । कतिपय लत्ताकपडाका पसलहरु पनि भित्री रुपमा बेला बेला खुला गर्ने गरेको र भित्री रुपमा व्यापार गर्ने गरेको देखिन्छ । मानिसहरुको आवश्यकता पूर्ति गर्न यसरी साना तिना व्यापार व्यवसाय केही मिनेट र घण्टाका लागि खोलिए पनि आम रुपमा भने व्यापार व्यवसाय बन्द नै रहेको छ । निषेधाज्ञाको तोकिएको समय सकिँदै गएकाले पनि र मानिसहरुलाई अत्यन्त खाँचो रहेका बस्तुहरु खरिद गर्नु परेकाले पनि यस्तो भएको हुनसक्छ । निषेधाज्ञा भोलि शनिबार मध्यरातदेखि सकिँदैछ ।
अवज्ञा गर्नेलाई कारवाही
निषेधाज्ञा अवज्ञा गर्नेलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन सरकारी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ भने आमरुपमा निषेधाज्ञा कार्यान्वयन गर्न÷गराउन अनुगमन समेत गरिएको बताइएको छ । तर निषेधाज्ञाको अवज्ञा गर्ने जोकोहीलाई कानून बमोजिम कारवाही हुने कुरा झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना तथा स्थानीय पालिकाका प्रमुखहरुले पनि बतासकेका छन् । निषेधाज्ञाको अवज्ञा गर्नेलाई कतिपय अवस्थामा मुख्य राजमार्गहरुमा केही बेर होल्ड गरेर छोडिएको पनि पाइएको छ । खासगरी दमक, विर्तामोड लगायतका चौकहरुमा अनावश्यक रुपमा मानिसहरुको हिंड्डुल र चहलपहल कम गर्न प्रहरी परिचालन गरिएको पाइएको छ  ।

Author

You may also like