समाचार

प्रादेशिक आयुर्वेदिक अस्पतालको निर्माण पूरा

दमक/ झापाको कमल गाउँपालिका–७ स्थित गेउरियामा प्रादेशिक आयुर्वेदिक अस्पतालको भवन निर्माण पूरा भएको छ ।
आयुर्वेदिक चिकित्सासम्बन्धी स्वास्थ्य सेवा पु¥याउन उद्देश्यले स्थापना गरिएको प्रादेशिक अस्पतालको २० करोड ६३ लाख रुपैयाँको लागतमा सुविधासम्पन्न भवन निर्माण भएको हो । भवन निर्माण गर्न संघीय सरकारले रु २३ करोड ५१ लाख रुपैयाँमा बोलपत्र आव्हान गरेको थियो । त्यसमा रबिना खनाल जेविले सुरुको सम्झौता रकम १९ करोड ५१ लाख रुपैयाँमा भवन निर्माणको जिम्मा पाएको थियो । पछि भवनको बनावटमा केहि परिवर्तन भएपछि कुल २० करोड ६३ लाख रुपैयाँमा भवनको काम सम्झौता अनुसार सम्पन्न भएको निर्माण कम्पनी रबिना खनाल जेविका अध्यक्ष प्रकाश केसीले जानकारी दिए । २०७५ असार ३१ गते भवन निर्माणका लागि सम्झौता भएको र सम्झौता बमोजिम २०७७ असार ३१ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने थियो । तर कोभिडका कारण १ वर्ष म्याद थप गरी २०७८ असार २५ गते भवनको निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए ।
अस्पताल करिव २ बिगाहा १ धुर क्षेत्रफलमा फैलिएको छ । अस्पताललाई स्थानीय मणिकुमार भण्डारी लगायत आधा दर्जन स्थानीयले संयुक्त रुपमा करोडौं मूल्य पर्ने जग्गा दान दिएका थिए । शुरुमा यसलाई पूर्वाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय नाममा शिलान्यास गरिएको थियो । २०७५ साल भदौ ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए । पछि संघीय संरचना बनेपछि यसलाई प्रादेशिक आयुर्वेदिक अस्पताल बनाउने र यसको संचालन तथा व्यवस्थापनको जिम्मा प्रदेश १ सरकारलाई दिने निर्णय भएको प्रदेश १ का प्रदेशसभा सदस्य अर्जुन राईले बताए । केन्द्र सरकारले प्रदेश सरकारलाई औपचारिक हस्तान्तरण गर्न बाँकी रहेकाले र त्यसका लागि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले केन्द्र सरकारसँग सहकार्य गरिरहेको उनले जानकारी दिए । केन्द्र सरकारको लागतमा तयार भएको यो अस्पताल अब प्रदेश सरकारमा हस्तान्तरण भएपछि संचालन गर्ने योजना बनाइएको छ । यो अस्पताल संचालनमा आएपछि प्रदेश १ बासीले उच्चस्तरीय आयुर्वेदिक स्वास्थ्य सेवा पनि पाउने अस्पताल निर्माणमा अगुवाई गर्दै आएका नेकपा एमालेका नेता होमबहादुर थापाले बताए ।
आयुर्वेदिक चिकित्सा सम्बन्धीको मेडिकल कलेज बनाउने गरी भवनको आवश्यक संरचना बनाइएको आयुर्वेदिक उपचारसंगै दक्ष बैद्य यहीँबाट उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाई छ । तीन तले अस्पतालको भवन सुविधासम्पन्न छ । आयुर्वेदिक उपचार पद्धतिबाट जुन जुन स्वस्थ्य सेवा दिइन्छ त्यसका लागि विषेश कक्ष हुने गरी संरचना निर्माण गरिएको छ । छुट्टै बहिरङ्ग कक्षदेखि आयुर्वेदिक पद्धतिबाटै एक्स–रे, सघन उपचार कक्ष, एन आइसियू जस्ता आवश्यक कक्षहरु पनि बनाइएको छ । सबै वार्डहरु फराकिला छन् भने यहाँ योगा हलको पनि छुट्टै प्रबन्ध गरिएको छ । प्रसुति सेवा पनि यहीँबाट दिन सकियोस् भनेर त्यस सम्बन्धीको कक्षपनि यहाँ निर्माण गरिएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना झापाका इन्जिनियर भुपेन्द्र यादवले बताए । यो आयुर्वेदिक अस्पतालको भवन निर्माण सम्पन्न भएपछि यस आसपासका नागरिकमा उत्साह बढेको भवन रेखदेख समितिका संयोजक समेत रहेका जग्गादाता मणिकुमार भण्डारीले बताए । उनले नागरिकले स्तरीय आयुर्वेदिक सेवा आफ्नै ठाउँबाट पाउन सक्ने भन्दै अब एलोपेथिक पद्धतिबाट निको नभएका र सन्तुष्ट नभएकाहरुले आप्mनै ठाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने बताए । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले कोरोना कहर सुरु भएपछि आयुर्वेदिक चिकित्सा प्रति विस्तारै विश्वास केहि मात्रामा बढ्दै गएको बताउँछिन् । तर यसले मात्र पर्याप्त नहुने भन्दै कमलबासीमा आयुर्वेद प्रतिको विश्वास बढाउन गाउँपालिकाले बजेटकै व्यवस्था गरेर प्रचार गर्ने र यसका लागि आयुर्वेदिक स्वास्थ्य शिविरहरु समेत संचालन गरिने उनले बताइन् ।

Author

You may also like