दमक/ झापाको दमक–१० सेतुमारी र मोरङको उर्लावारी–९ राजघाटलाई जोडने मावा खोलाको पुलको जोखिम क्षेत्रमा स्थानीयबासीले रोकथामको प्रयास गरेका छन् । पुलको पूर्वीभागको पर्खाल भत्किएर सडक भासिएपछि संभावित जोखिम न्यूनीकरणका लागि स्थानीयको सक्रियतामा मर्मत सम्भारका काम गरिएको वडाअध्यक्ष बोधराज न्यौपानेले बताए । स्थानीयवासीको सक्रियतामा स्थानीय स्तरमा उपलब्ध साधन स्रोतको प्रयोग गरी संरक्षण गरिएको उनले बताए ।
उनका अनुसार पुलको पर्खालमा क्षति पु¥याएको संरचनामा कटान रोक्न बाँस विछ्याएर रोकथामको काम गरिएको छ । त्यस काममा बुधबार दिनभरि स्थानीयले श्रमदान गरेका थिए । दातृ निकायको सहयोगमा सो स्थानमा तीन वर्ष अघि ७५ दशमलव ४५ मिटर लामो पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । पुलको दमक खण्डतर्फको पूर्वीभागको ग्याविन पर्खाल दुई साता अघि आएको बाढीले भत्किएपछि पुल संगैको बाटो भत्किन पुगेको थियो । सडक भासिएपछि त्यस सडकमा यातायातका सवारी भने एकतर्फी रुपमा आउजाउ हँुदैआएको थियो । पुल निर्माणको जिम्मा पाएको ठेकदार कम्पनीले सम्झौता अनुरुप काम सम्पन्न नगर्दा समस्या भएको पूल निर्माण उपभोक्ता समितिका अध्यक्ष अम्बिका खनालले बताए । दमकदेखि प्रदेश एकको राजधानी समेत रहेको विराटनगरलाई छोटो दूरीमा जोड्ने झापातर्फको पुलसम्म पुग्ने बाटो कालोपत्रे समेत भइसकेको छ भने मोरङतर्फ आमवारी–झुर्किया सडकसँग पुललाई जोड्ने करिब ६०० मिटर सडक एउटा बक्स कल्र्भट समेत निर्माण भएको छ ।