दमक÷ रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको सरकार गठन भए लगत्तै ‘एक्सन’ मा उत्रिएको छ । सरकार गठन भएकै भोलिपल्टको एक्सनले अहिले नेपाली राजनीति तरङ्गीत बनेको छ ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै नयाँ सरकारका गृहमन्त्री एवम् जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ्को निर्देशन लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेका छन् । उनीहरु जेनजी आन्दोलनको बेला प्रधानमन्त्री र गृहमन्त्री थिए । जेनजी आन्दोलनको छानविन गर्न गठित आयोगले दोषी देखाएको भन्दै शनिवार बिहान उनीहरुलाई निवासबाट गिरफ्तार गरिएको थियो ।
आफ्ना अध्यक्षलाई सरकारले गिरफ्तार गरेको विरोधमा नेकपा एमालेले देश व्यापी आन्दोलन शुरु गरेको छ । त्यसको विरोधमा एमाले कार्यकर्ताहरुले ठाउँ ठाउँमा बिरोध प्रदर्शन गरेका छन् । नेताहरु पक्राउपछि बसेको एमाले सचिवालयको बैठकले सो गिरफ्तारी प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी भएको ठहर गर्दै तत्काल रिहाईको माग गरेको समेत गरेको छ । बैठकपछि सञ्चार मध्यमहरूलाई प्रतिक्रिया दिँदै महासचिव शंकर पोखरेलले पार्टी निकट भातृ संगठनहरूले भने आजैदेखि विरोध प्रदर्शन शुरू गर्ने पनि बताए । उनले आईतबार सबै जिल्ला समितिहरूले जिल्ला प्रशासन कार्यालयमार्फत ओलिको रिहाइका लागि सरकार समक्ष ज्ञापनपत्र बुझाउने बताए ।
प्रदर्शनका क्रममा सातजना पक्राउ
सिंहदरबारको दक्षिण गेट क्षेत्रमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै विरोध जनाएपछि उन ीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सरकारी मुख्य प्रशासनिक केन्द्र अगाडि अनुमति बिना प्रदर्शन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई सोधपुछका लागि हिरासतमा राखिएको छ भने आवश्यक कानुनी प्रक्रिया अघि बढाइने तयारी गरिएको छ ।
ओली अस्पतालमा, लेखक गणमा
शनिबार बिहान पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनलाई अस्पतालको भिआइपी क्याबिनको ५०१ नम्बर बेडमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । ओली मिर्गौला प्रत्यारोपणका बिरामी हुन् । उनको दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएको छ । उनलाई मिर्गौला प्रत्यारोपणका बिरामीलाई राख्ने बेडमै राखिएको अस्पतालले जनाएको छ ।
त्यहाँ भर्नाअघि ओलीलाई आकस्मिक कक्षको २७ नम्बर बेडमा राखिएको थियो। त्यहाँ उनको परीक्षणपश्चात भिआइपी क्याबिनमा भर्ना गरिएको हो । भक्तपुरको गुण्डुबाट पक्राउ गरी उनलाई प्रहरीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याएको थियो । त्यहाँ केही बेर राखेपछि उनलाई स्वास्थ्य जाँच गराउन त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो ।
यस्तै पूर्वगृहमन्त्री
ओली….तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उनलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेमा रहेको निवासबाट पक्राउ गरिएको थियो । नेता लेखकलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । नवयुवा आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । नवयुवा आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उनी सूर्यविनायक नगरपालिका(५ कटुञ्जेमा रहेको भाडाको घरमा बस्दै आएका थिए ।
कानूनी उपचारमा जाने
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेलगत्तै उनीहरु निकटका कानुन व्यवसायीहरुले कानुनी उपचारको प्रक्रिया थालेका छन् । पूर्वाग्रही रुपमा र प्रक्रिया मिचेर ओली र लेखकलाई पक्राउ गरिएको भन्दै उनीहरुले आइतबार बिहान अदालत खुलेलगत्तै बन्दीप्रत्यक्षीकरणको निवेदन दिने तयारी गरेका हुन् । कुनै पनि व्यक्तिलाई गैरकानूनी पक्राउ गरेको लागेमा उही व्यक्ति वा उनका नजिकका नातेदारले अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिन पाउने संवैधानिक व्यवस्था छ । अदालतले गैरकानूनी रुपमा पक्राउ भएको ठम्याएमा रिहा गर्ने आदेश दिनसक्छ ।
वरिष्ठ अधिवक्ता एवं तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले आफूहरुले सबै कानुनी लडाइँ थाल्ने र त्यसको छलफल समेत सुरु गरिसकेको बताए । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले पक्राउ गरिएका कतिपय सन्दर्भहरु नमिलेकाले कानूनी उपचार खोज्ने तहको परामर्श शुरु भइसकेको जानकारी दिए ।
कांग्रेसको प्रतिक्रिया
नेपाली काँग्रेसले २०८२ साल भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा सरकारलाई कानुनी प्रक्रिया पालना गर्न र आवेग तथा उत्तेजनामा नआइ निष्पक्ष ढंगले कारबाही अघि बढाउन आग्रह गरेको छ। पार्टीले पछिल्लो समय सरकारबाट भएका निर्णय र कारबाहीको शैली ‘सेलेक्टिभ’ र पूर्वाग्रही देखिएको भन्दै यसले विधिको शासन कमजोर बनाउन सक्ने चेतावनी दिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी
नेपाली कम्युनिस्ट पार्टीले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह तथा उनको नेतृत्वमा बनेको मन्त्रिपरिषद्लाई बधाई दिँदै सफल कार्यकालको कामनासाथ सरकारको प्रारम्भिक निर्णयप्रति भने चासो व्यक्त गरेको छ। विशेषगरी भदौ २३ र २४ का घटनाको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकारले अपनाएको प्रक्रियामाथि प्रश्न उठाइएको छ। पार्टीले कुनै पनि कदम चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको सिद्धान्त कायम राख्नुपर्नेमा जोड दिएको छ । गणेशमान पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले राजनीतिक पूर्वाग्रह नराखी निर्णय लिनुपर्ने उल्लेख गर्दै न्यायिक प्रक्रियालाई कमजोर बनाउने वा द्वन्द्व बढाउने खालका गतिविधि नगर्न आग्रह गरिएको छ। साथै, कारबाहीका नाममा राजनीतिक प्रतिशोधको झल्को देखिन नहुने चेतावनी पनि दिइएको छ ।
तरुण दलको चेतावनी
नेपाल तरुण दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउप्रति भत्र्सना गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त पक्राउलाई ’राजनीतिक प्रतिशोध र पूर्वाग्रह’को पराकाष्ठा भएको आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, ’यस्ता एकपक्षीय र दुराशयपूर्ण कदमहरूले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि ठाडो प्रहार गर्नुका साथै देशलाई अनावश्यक द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गराएको छ ।’
तरुण दलले वर्तमान सरकारलाई आफ्ना निर्णयहरू पुनर्विचार गर्न र विधिको प्रक्रियाअनुरूप पारदर्शी तथा निष्पक्ष ढङ्गले अघि बढ्न चेतावनी दिएको छ । साथै, राजनीतिक सहिष्णुता कायम राख्न र देशको स्थायित्वका लागि गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।