पंकज दाहाल
दमक । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण दर अझ बढेको अवस्थामा परिस्थितिअनुसार पूर्ण लकडाउन पनि हुन सक्ने संकेत गरेका छन् ।
ओलीले झापामा पनि बढ्दो मात्रामा दिनहुँजसो संक्रमितहरुको संख्या बढिरहेकाले त्यसलाई रोकथाम र नियन्त्रण गर्न पूर्ण र कडा खालको लकडाउन हुन सक्ने बताएका हुन् । निषेधाज्ञाको निर्णय भने जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गर्ने गर्दछ ।
सोमबार दमक नगरपालिकाको कार्यकक्षमा पूर्वसन्देश दैनिकले गरेको कुराकानीका क्रममा उनले सोमबारदेखि वैशाख २६ गतेसम्म झापामा आंशिक लकडाउन गर्नुलाई समयको माग र आवश्यकताको उपज भएको प्रस्ट पारे । तर, लकडाउन नै समस्याको पूर्ण समाधान नभएको पनि उनले बताए । लकडाउन गरे पनि गाउँ, समाज र बस्तीमा लुकीछिपी हिँड्डुल गर्ने, समूह बनाएर हिँड्ने र मानिसहरुको जमघटमा जाने गर्नाले कोरोनाको संक्रमण दर घट्ने होइन, झन् बढ्ने भएकाले त्यसो नगर्न उनले सम्बन्धित सबैमा आग्रह गरेका छन् ।
ओलीले भने, ‘कोरोनाबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको व्यक्तिगत सुरक्षा र सावधानी नै हो, यसका साथै मास्क लगाउने, साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, व्यक्तिगत भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्छ । यसो भएमा कोरोनाको संक्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउने सकिन्छ ।’
नगर प्रमुख ओलीले झापामा कोरोना संक्रमणको वस्तुगत अवस्थालाई विश्लेषण गरेर जिल्ला प्रशासन कार्यालयले आंशिक लकडाउन गरेको प्रस्ट पारे । तर, संक्रमितको संख्या बढे त्यसको मूल्यांकन र अध्यययन विश्लेषण गरेर थप कदम चाल्न सकिने उनले संकेत गरे ।
‘अहिलेको यो लकडाउन मानिसहरुको भीडभाड कम गर्न हो, हुन त पूर्ण लकडाउन गर्दा पनि कोरोना भाइरसको संक्रमण नियन्त्रण हुँदैन । त्यसका लागि निषेधाज्ञा नै लगाउनुपर्छ, त्यो पनि कडा खालको हुनुपर्छ । मानिसहरुको स्वभाव नै हो कि बाहिर घुमफिर गरिराख्ने, त्यसलाई पूर्णरुपले बन्देज लगाउनुपर्छ, तब मात्र कोरोना रोकथाम र नियन्त्रणमा आउँछ,’ नगर प्रमुख ओलीले भने ।
अहिले कोरोनाको दोस्रो लहर आउनु र संक्रमण बढ्नुमा नयाँ रुपको अदृश्य भाइरस फैलनु र त्यसमा पनि संक्रमितहरु एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्नु नै हो । अर्कातर्फ बाहिरी देशबाट थाहा नपाईकनै संक्रमित भएर मानिसरहरु नेपाल आउनु पनि संक्रमण फैलिनुको अर्को कारण रहेको उनको बुझाइ छ ।
यसका लागि राज्य र सरकारले कोरोना कम भएको या नियन्त्रणमा आएको अवस्थामा सिमाना बन्द गर्न पनि सक्दैनथ्यो, जब कोरोना संक्रमण बढ्न थाल्यो, तब अहिले आएर सिमानामा कडाइ र हवाई उडानहरु बन्द गर्न लागिएको छ । यस्तो अवस्थाले भयावह अवस्था नआओस् भन्ने सरकारको सदीक्षालाई सबैले सकारात्मक रुपमा लिनुपर्ने नगर प्रमुख ओलीको प्रस्टोक्ति छ ।
नगर प्रमुख ओलीले कोरोनाको संक्रमण बढे लकडाउन कडा पारिने तर संक्रमण दर घटे स्थितिलाई खुकुलो पारिने पनि बताए । तर, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नगरपालिकाभित्रका विकास निर्माणका कामलाई यथावत् राखिने पनि जानकारी गराए । नगर प्रमुख ओलीले सामाजिक सुरक्षाको प्रबन्धमा कडाइ गर्ने, टार्नै नसकिने खालका काम, जस्तै– विवाह, व्रतबन्ध, मृत्यु संस्कारमा जाँदा पनि अत्यन्तै सावधानी अपनाएर सतर्कताका साथ सहभागी हुन आग्रह गरे ।
आफू जोखिममा रहेको कुरा आफैँले अनुमान गरेर दैनिक गतिविधि गर्न पनि उनको सुझाव छ । गएको वर्षको अनुभवलाई ख्याल गरेर कोरानाले भेटिहाले हतोत्साही नहुन बरु आत्मबल दह्रो बनाएर उपचार गर्न र नलागेको अवस्थामा यो केही पनि होइन भन्ने सोचाीइमा परिवर्तन ल्याउन पनि उनले नगरवासीहरुमा अपिल गरे ।
नगरपालिकाको कोभिड कोषमा १ करोड जम्मा
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नगरभित्र लक्षण देखिएका शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने कार्य एक–दुई दिन भित्रैबाट थालिने बताएका छन् । गत वर्ष नगरपालिकाले आफ्नो क्षेत्रभित्र ठाउँ ठाउँमा केन्द्र राखेर स्वाव संकलन गरेको थियो ।
नगर क्षेत्रका संक्रमितहरुका लागि आइतबारदेखि दमक–३ मा रहेको कोभिड अस्पताललाई सञ्चालनमा ल्याइएको छ । अस्पताल ३० बेडको रहेको त्यहाँ २० वटा अक्सिजनको सिलिन्डर र १० वटा एनालाइजरको व्यवस्था गरिएको छ । अस्पतालमा आउने संक्रमितको उपचारका लागि नगरपालिकाको बजेटबाट १ करोडको कोष खडा गरिसकिएको र त्यसमा जनप्रतिनिधिको एक महिना बराबरको पारिश्रमिक पनि राख्ने निर्णय भइसकेको नगर प्रमुख ओलीले जानकारी गराए ।
नगरपालिकाका कर्मचारीहरुलाई पनि सो कोषमा रकम जम्मा गर्न अनुरोध गरिएको उनले बताए । कोषमा स्वैच्छिक रुपमा आवश्यक रकम प्रदान गर्ने निजी क्षेत्रलाई पनि अनुरोध गरिएको उनको भनाइ छ ।