:— बिमल लामिछाने —:
देशको दुईतिहाइ भन्दा बढी श्रृजनशिल युवा शक्ति श्रमको नाममा विदेसिएको छ । कर्मशिल शक्ति बाहिरिएसँगै मुलुकको ठूलो कृषियोग्य जमिन बाँझियो । जसका कारण कृषि उत्पादनको क्षेत्रफलमात्रै घटेन कि उन्पादनमा समेत प्रत्यक्ष असर पर्दैगयो ।
उत्पादनको हिसावले कृषि प्रधान देश भनेर चिनिन्थ्यो नेपाल । तर पछिल्लो तीनदशक यता मुलुक रेमिट्यान्स प्रधान देश भनेर चिनिन थालेको छ । नेपालीहरु विदेशमा रोजगारीका लागि जान थालेसँगै रेमिट्यान्स (विप्रेषण आप्रवाह) वि.सं. २०५२ को अन्त्यतिरबाट नेपाली अर्थतन्त्रसँग जोडिएको पाइन्छ ।
त्यसभन्दा अघि वि.सं. २०४८ सालदेखि नेपालले श्रम स्वीकृति दिन सुरु गरेपनि माओवादीले सञ्चालन गरेको जनयुद्धसँगै कामका लागि विदेशिनेको संख्या बढेको देखिन्छ । त्यसयता कामकै लागि विदेशिने नेपालीको संख्या वर्सेनि लाखौँमा विस्तार हुँदै रेमिट्यान्स खर्बौमा पुगेको छ ।
पछिल्लो समय बाह्य व्यापारमा प्रत्येक वर्ष हुने खर्बौँको व्यापार घाटालाई रेमिट्यान्सले नै सहयोग गरेको नेपाल राष्ट्र बैंकको वार्षिक तथ्यांकले देखाउँदै आएको विषय हो ।
कृपिप्रधान मुलुक किन रेमिट्यान्स प्रधान बन्न पुग्यो त ? यसको जवाफ सरकार सँग छ कि छैन त्यो सम्बन्धित सरोकार पक्षले खोज्ला । तर जवाफदेहिताको दायराबाट उम्किने छुट भने कसैलाई पनि छैन । कृषि प्राथमिकतामा नपर्दा किसानले आफूलाई त्यस्तो शक्ति मान्दैन, मान्न दिइएको छैन । उसले आफूलाई काम नलाग्ने धन्धा गर्न अभिशप्त गवार, गाउँले, अशिक्षित रातोदिन झरी बादल, घाम खडेरी, हावा हुरीसँग खेल्ने एउटा कमजोर र छरपस्ट जमात मान्छ । त्यस्तै मान्ने बनाइएको छ । उसले आजका सबै ‘सभ्य’ मानिने र ठानिने सहरवासी, नगरवासीलाई कृषि उपजको आपूर्ति गर्दछ । तर पनि उ पाखे हुनु परेको छ ।
कृषिले दिने ऊर्जाले नै मानिस जीवित छ । उसको जीवन चलेको छ । यसलाई हामीकहाँ सामान्य, गाउँले किसानको उपेक्षित र तिरष्कृत कर्मजस्तै मात्र मानिएको छ परिणाम यसले पाउनुपर्ने, प्राथमिक स्थान, सम्मान र शतत् सहयोग पाउन सकेको छैन । कतै पाएको छ भने पनि त्यो पनि व्यापारिक र नाफाको एउटा बजारमुखी दृष्टिकोणले मात्र पाएको छ । स्वयं कृषि र किसानको समग्र हित हुने गरेर कतै पाएको छैन । असली किसानको पक्षमा नियम बनेपनि कार्यान्वयन हुन सकेकै छैनन् । हरेक योजना कमिसनको खेलमा छन् त्यहाँ विचौलियको हावीमात्रै पनि होइन तमासा नै छ ।
प्रकृतिपछिको यो मानवनिर्मित अर्थात् श्रमजीवी किसानले निर्माण गरेको यो– दोस्रो प्रकृति– खाद्यान्न, सागपात, फलफूल, दूध, माछा, मासु जुन रूपमा भए पनि ती प्रचीन, आधुनिक या अत्याधुनिक कल कारखानाका उपज बिल्कुलै होइनन् । तिनलाई दोस्रो प्रकृति–प्रकृतिका अधिशासित नियमको नियमित अनुपालन गरेर गरिने प्रकृतिसँग जोडिएको जीवन्त कर्म मान्नुपर्छ । विना पसिना यी कुनैपनि उत्पादन सम्भव छैनन् । जीवनको जीवन्त आधार यो कृषिको अभावमा अरू जतिसुकै अत्याधुनिक धेरै नाफा कमाउने विशालकाय उद्योगधन्धा नै किन नहुन् तिनको कतै केही चल्दैन, हलचल बन्द हुन्छ । ती मृत प्राय बन्छन् र सकिन्छन् । त्यसैले कृषिलाई जीवनदायिनी कर्म र किसानलाई जीवनदायिनी शक्ति भनिएको र मानिएको हो ।
अवोध प्राणी नित्य निरन्तर कृषि कर्ममा लागेका हुन्छन् । प्रकृति अनुकूल भइदियो भने खुसी हुन्छन् । प्रतिकूल भइदियो भने पनि त्यसको सामना गर्न उनीहरू बाध्य छन् । रुन्छन्, कराउँछन्, छाती पिट्छन् र फेरि सम्हालिँदै प्रकृतिकै काखमा हिलो, धूलोसँग खेल्छन् । यो साल बिग्रियो अर्को साल कसो नबन्ला भनेर आशावादको स्वप्नमय संसारमा डुब्छन् । यो तिनको नित्य कर्म हो रहँदै आएको छ ।
हो, हाम्रो समाज पनि एक जमानामा उत्तम खेती, मध्यम व्यापार, निच नोकरी मान्ने प्रचलन थियो । त्यसैले समाजले त्यतिबेला कृषिलाई सर्वोपरि स्थानमा राखेको र कृषि प्रधान मुलुक भनिएको कुरा यसबाट प्रष्ट हुन्छ तर आज त्यसको ठीक विपरीत कृषि कर्म सबैभन्दा निच, व्यापार मध्यम नै र नोकरी सर्वोत्तम बन्न पुगेको छ ।
कृषिजस्तो आधारभूत कर्मलाई आधारभूत स्थान दिइएको त्यो जमानाको सही कुरालाई आज पनि पुनस्र्थापना गरेर कृषि कर्म र किसानलाई चौतर्फी रूपमा निरन्तर सहयोग गरेर उन्नत तुल्याउन सकिएन भने मानव अस्तित्व नै ठूलो सङ्कटमा पर्ने कुरा दिन प्रतिदिन सन्निकट हुँदै गइरहेको छ ।
विश्वको बढ्दो जनसङ्ख्या र जमिनको धान्न सक्ने क्षमता र कृषिले दिने समग्र उत्पादन अपुग हुने स्थिति मानिसले सामना गर्नु नपर्ला भन्न सकिन्न ।
त्यसैले हाम्रो कृषि क्षेत्रमा सरकारी स्तरमा रहेको व्याप्त भ्रष्टाचार र कमिसनखोरीको महाजाल तथा किसान चुसाहा प्रवृत्ति समाप्त पारेर कृषि र किसानमा नयाँ आशा र विश्वासको सञ्चार गर्न यो कृषिलाई आकर्षक तुल्याउने किसमले अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । मुलुकलाई रेमिट्यान्स प्रधानमा चित्त बुझाइराख्ने कि कृषि प्रधानमै फर्काउँने बेलैमा सोचौं ।