दमक, १७ पुस । झापामा लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरिएको छ। झापा जिल्ला अदालतको आदेशपछि मेचीनगर–६ का ३४ वर्षीय शिव श्रेष्ठ कारागार चलान भएका हुन् ।
अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पुस १३ गते पक्राउ गरेको थियो । सार्वजनिक बिदाका कारण दुई दिन ढिलो अदालत पेस गरिएका उनलाई कैद सजाय भुक्तानका लागि सोमवार कारागार चलान गरिएको हो ।
लागू औषध मुद्दामा झापा जिल्ला अदालतले गत भदौ २६ गते श्रेष्ठलाई तीन महिना कैद सजाय र पीडित राहत कोषमा दुई सय रुपैयाँ जम्मा गर्नु पर्ने फैसला सुनाएको थियो । फरार रहेका उनलाई पक्राउ गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।