समाचार

सञ्चार क्षेत्रका समस्याबारे छलफल

विर्तामोड/ नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिवार विर्तामोडमा प्रादेशिक सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीबीच सञ्चार क्षेत्रका समस्याबारे छलफल र सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नं. १ का कार्यकारी निर्देशक यज्ञ शर्माले सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा प्रतिष्ठानले काम गरिरहेको बताए । प्रतिष्ठानबाट सञ्चारकर्मी र सञ्चार संस्थाको हितमा विभिन्न कार्यक्रम सञ्चालन भएको र हुने बारे शर्माले जानकारी दिएका छन् । कार्यक्रममा प्रतिष्ठानको तर्फबाट शर्माले कोरोना संक्रमित भई अस्पतालमा उपचार गराएका पत्रकार पर्वत पोर्तेललाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । प्रतिष्ठानका कार्यकारी निर्देशक शर्माले सञ्चार क्षेत्रको दिगो हितका लागि सम्बोधन गर्नुपर्ने विषयहरुमा सुझाव दिन झापाली सञ्चारकर्मीलाई आग्रह पनि गरेका छन् । पत्रकारलाई लेखनवृत्तिदेखि कोरोनाबाट प्रभावित सञ्चार संस्थाहरुलाई प्रतिष्ठानका तर्फबाट सहयोग गर्नेबारे छलफल भइरहेको उनले बताए ।
महासंघ झापाका निवर्तमान अध्यक्ष तारामणि सापकोटाले जिल्लाको सञ्चार क्षेत्रको अवस्थाको बारेमा जानकारी गराएका थिए । प्रतिष्ठानका सदस्य गोपाल काफ्ले, आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृतहरु उपेन्द्र श्रेष्ठ, कोमल दाहालको कार्यक्रममा आतिथ्यता रहेको थियो । महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।
प्रतिष्ठानले कोरोनबाट निधन भएका पाँचथरका पत्रकार एकराज भण्डारीकी श्रीमती शर्मिला दहाललाई ५० हजार रुपैयाँ र कोरोना संक्रमित भई अस्तालमा उपचार गराएका इलामका पत्रकार बुद्धवीर राईलाई २५ हजार रुपैयाँको चेक शनिवार नै सम्बन्धित जिल्लामै पुगेर हस्तान्तरण गरेको छ । प्रतिष्ठानले कोरोनाबाट ज्यान गुमाउने पत्रकारको परिवारलाई ५० हजार र सात दिनभन्दा बढी अस्पतालमा अक्सिजनसहित उपचार गराएका पत्रकारलाई २५ हजार रुपैयाँको दरले सहयोग गर्ने निर्णय गरेको थियो । निर्णय बमोजिम ओखलढुंगाका दीपेन्द्र रुम्जाली र जुद्धबहादुर राई, भोजपुरका सुरेन्द्र राई, खोटाङका लोकमणि रिजाल, उदयपुरका हरिकुमार राईलाई जनही २५ हजार रुपैयाँ तथा कोरोनाबाट मृत्युवरण गरेका सुनसरीका पत्रकार चन्द्रप्रसाद न्यौपानेकी श्रीमती अनिता गुरागाईलाई ५० हजार रुपैयाँ प्रदान गरिने जानकारी गराएको छ ।

Author

You may also like