ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सुकुम्बासीविहीन पालिका बनाउने अभियानलाई तीव्रता दिएको छ । चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरेर काम थालेको गाउँपालिकाले सुकुम्बासीको तथ्यांक संकलनको काम सकेर जग्गा खरिद प्रक्रिया अघि बढाएको छ ।
जसअन्र्तगत वडा नम्बर ४ साँघु ताम्राङमा पहिचान भएका दुई परिवारलाई जग्गा खरिद गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो लिम्बूले जानकारी दिए । ‘हामीले चालु आर्थिक वर्षमा सुकुम्बासी घरपरिवार पहिचान तथा जग्गा खरिदका लागि ४० लाख रुपैयाँ विनियोजन गरेका थियौँ,’ उनले भने, ‘पहिलो चरणमा वडा नम्बर ४ का दुई परिवारलाई जग्गा खरिद गरी उहाँहरुको नाममा रजिष्ट्रेशन पास गरिसकेका छौं । अन्यको पनि जग्गा खरिदको प्रक्रिया सुरु भएको छ ।’
गाउँपालिकाले न्यूनतम दुई रोपनी जग्गा खरिद गरेर पास गर्न सुरु गरेको हो । प्रमुख प्रशासकीय अधिकृत तुम्बापोका अनुसार गाउँपालिकाभर ४० सुकुम्बासी परिवारको पहिचान गरिएको छ । उनीहरुलाई यसअघि जहाँ बसिरहेका छन् त्यहीँ जग्गा व्यवस्थापन गरिएको गाउँपालिका उपाध्यक्ष कौशिला थक्लुङ लिम्बूले बताइन् । ‘सुकुम्बासीका लागि यसअघि सार्वजनिक तथा सरकारी जग्गाको उपयोग गर्ने गरिएको थियो । तर, उहाँहरु नयाँ ठाउँमा बस्न नरुचाउने गरेकाले हामीले जहाँ बस्दै आउनुभएको छ त्यहीँ जग्गा खरिद गर्दैछौँ,’ थक्लुङले भनिन्, ‘यसै आर्थिक वर्षभित्र गाउँपालिकाभरिका सबै सुकुम्बासीका लागि जग्गा खरिद गरिसक्ने योजनाअनुसार काम भैरहेको छ ।’
यस्तै, आगामी आर्थिक वर्ष २०७८÷७९ मा ती परिवारलाई घर बनाउनका लागि एक करोड रुपैयाँ विनियोज गरेको छ । चालु आर्थिक वर्षमा जग्गा खरिद प्रक्रिया सम्पन्न गर्ने र आगामी वर्ष सबैलाई घर बनाइदिने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत तुम्बापोले बताए । यसैबीच सरकारले भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । आयोग ताप्लेजुङका अध्यक्ष लक्ष्मी याक्सोले जिल्लाका नौ स्थानीय तहमध्ये पाँचवटासँग सम्झौता गरेर काम अगाडि बढाएको बताए । फुङ्लिङ नगरपालिका, मेरिङ्देन, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकासँग भने सम्झौता गर्न बाँकी छ ।
