दमक/ झापा र मोरङलाई जोडन दमक–१० सेतुमारी र मोरङको उर्लाबारी ९ राजघाटलाई जोडनेगरी मावा खोलामा निर्माण भएको पुल सञ्चालनमा आएको तिन वर्षपनि पूरा नहँुदै भत्किन थालेको छ । पुल भत्किन शूरुगरेपछि दुर्घटनाको जोखिमसमेत बढेको भन्दै स्थानीयवासी चिन्तित बनेका छन् । दातृ निकायको सहयोगमा सो स्थानमा ७५ दशमलव ४५ मिटर लामो पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएको थियो । पुलको दमक खण्ड तर्फको पूर्वीभागको ग्याविन भत्किएपछि सडक भासिएको छ ।
सडक भासिएसंगै सो पुलमा अहिले एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन हुँदैआएको र यहि अवस्था रहे अबको केहि दिन भित्रमानै पुरै सडक भत्किएर खोलामा खस्ने र यातायात सञ्चालनमा पूर्ण अवरोध सृजना हुनसक्ने खतरा रहेको स्थानीयबासीको भनाई रहेको छ । झापातर्फ पुलसम्म पुग्ने बाटो कालोपत्रे समेत भइसकेको छ भने मोरङतर्फ आमवारी–झुर्किया सडकसँग पुल जोड्ने करिब ६०० मिटर सडक एउटा बक्स कल्र्भट समेत निर्माण भएको छ ।
पुल नबन्दासम्म वर्षायाममा साविक दमक–१९ र राजघाट–६ का बासिन्दाले वारिपारि गर्न घण्टौ लगाएर ३० किलोमिटरको यात्रा तय गर्नुपथ्र्याे । तर त्यस स्थानमा पुल बनेसंगै खुशी देखिएका स्थानीयबासी पुन निराश हुन थालेका छन् । २०७१ को चैतमा एमाले अध्यक्ष तथा बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको पुल बिटी निर्माण सेवाले निर्माण सम्पन्न गरिसकेको भएपनि अझै उद्घाटन गरिएको छैन । मावा पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अम्बिका खनालका अनुसार सरकारले चार करोड ४० लाखमा २०० मिटर लामो पुल बन्नुपर्नेमा ७५ दशमलव ४५ मिटर मात्र बनेको छ । पुल निर्माणसम्पन्न संगै दमक विराटनगरको दूरी करिब ३० किलोमिटर छोटिएको भएपनि पुलको संरक्षणमा दमक र उर्लाबारीका स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको ध्यान खासै जान नसकिरहेको स्थानीयबासीको भनाई रहेको छ ।