लेख

दाउराकाे जाेहाे

‘यो जीवन दाउराको जोहोमा बित्यो, एकदिन कुरै कुरामा मेरी सासुआमाले भन्नु भएको थियो । उहाँको त्यो वाक्य धेरैबेरसम्म मेरो मानसपटलमा गुन्जिरह्यो । ख्यालख्यालमै बोलेको कति सत्य कुरा थियो त्यो । हामी सबै त्यसै गरिरहेका छैनौ र ? पूर्वीय चिन्तन परम्पराअनुसार हामीले गर्ने सबै क्रियाकलाप मृत्युकै तयारी हुन् । भव्यतापूर्वक, सभ्यतापूर्वक वा कनिकुथी नै भए पनि गरिएका सम्पूर्ण तयारी अन्तिम यात्रातिरै लक्षित भएका हुन्छन् । ठुला ठुला ज्ञानीहरू, दानीहरु, खुंखार अपराधीहरु र बेनाम बाँचिरहेका सम्पूर्ण जीवनहरुको समाप्तिको प्रक्रिया एउटै छ – कि त उनीहरु गाडिन्छन् , कि त जलाइन्छन् । यस्तो थाहा पाउँदा पाउँदै पनि जन्मनु र मर्नुका बीचको कालखण्डलाई हामी कति महत्व दिन्छौं भन्ने कुराको चर्चा गरिसाध्य छैन । यहाँ उत्साह छन्, निराशा छन्, ज्ञानका कुरा छन्, अज्ञानका छन्, समानताका छन् अनि असमानताका पनि छन् । हाम्रो सम्पूर्ण जीवन यिनै परिवृत्तमा घुमिरहन्छ ।
अदृश्य पर्दा
हामीभित्र त्यस्तो के छ जसले परम चेतना वा अन्तिम सत्यलाई सधै बिर्साउँछ । अहिलेको सोसल मिडियाको युगमा ज्ञान सर्वत्र र सर्वसुलभ छ । के एउटा पढ्न जान्ने मान्छेलाई जुनसुकै पुस्तक पढ्न दिए पनि त्यसमा भएका सबै कुरा उसले ग्रहण गर्न सक्छ ? शायद सक्दैन । त्यसका लागि ऊभित्र अलिकति अंतर्चेतनाको खाँचो पर्छ । तर आफूसँग भएको सतही ज्ञानलाई नै हामी अन्तिम सत्य मान्छौं, अनि त्यहिंबाट तर्कको उत्पत्ति हुन्छ । यिनै बाह्य तर्क बितर्क नै हामीलाई परम चेतनासम्म पुग्न नदिने अदृश्य पर्दा हुन् । यी पर्दा नउघ्रियेसम्म हामी सिर्फ धराबासी मानवका रुपमा जीवन जिउँछौ । एउटा बृहत नाटकका पात्र बन्छौं र बढो तन्मयतापूर्वक आफ्नो सांसारिक भूमिका निर्वाह गर्छौं । दृश्य रुपमा देखिने सम्पूर्ण मानव स्वरुप यही बृहत नाटकका पात्र हुन् । तपाईं हामी पनि यसका अपवाद होइनौं ।
कोरोना संदेश
होस् सम्हाल्न सक्ने भएदेखि नै मानिस असाध्य दौडधुपमा हुन्छ । ऊ निरन्तर राम्रो, गतिलो र ठुलो हुने प्रयासमा हुन्छ । यी प्रयासहरुका प्रकार गणना गरिसाध्य छैन । मानिसलाई यही धपेडीबाट केही समय रोकिन र सोच्न कोरोनाले संदेश दिइरहेको जस्तो लाग्छ मलाई ।
एकछिन पर्खिए पनि, सुस्ताए पनि बितिजाने त केही रहेनछ । यो धर्तीको डेरा त छाड्नु नै छ एकदिन, तैपनि हामीलाई बितिबिताउ छ । यही प्रसङ्गमा मलाई एउटा सन्दर्भको स्मरण हुन्छ । मुम्बईमा धेरै जिज्ञासुहरुका बीचमा स्वामी राधानाथ यिनै जीवन चिन्तनका बारेमा चर्चा गर्दै हुन्छन् । त्यतिखेरै एउटी महिला आफ्नो आसनबाट उठ्छिन् र भन्छिन्,“ स्वामीजी, मैले मेरो छोराको पढाइ सिध्याउनु छ, एउटा घर बनाउनु छ, मेरी बुढी आमा पनि बिरामी छन्, लोग्नेको जागिर टाढा अर्कै शहरमा छ । यिनै कारणले गर्दा म भगवानको चिन्तन गर्न सक्दिन । प्रभुले मेरा यति समस्या समाधान गरिदिए म पनि ढुक्कले ईश्वरको ध्यान गरेर बस्थें होला ।” हो, हाम्रा यस्तै अनगिन्ति समस्या छन् । प्रकारान्तरले फरक भए पनि हामी सबैका समस्या खोला झैँ बगिरहन्छन् । खोलाको पानी बरु बगेर सकिएला तर समस्या कहिल्यै पार लाग्दैनन् । त्यसैले यो लकडाउनको समय – “टाइम अफ कन्टेम्प्लेशन” हो । भुट्भुटिने, छट्पटिने र डिप्रेशनमा गइहाल्ने समय होइन किनभने यो वैश्विक समस्या हो, व्यक्तिगत होइन ।
अर्को एउटा प्रसङ्ग जोड्नु पनि यहाँ सान्दर्भिक देखिन्छ । बुद्धमार्गी एउटा शिष्य १२ बर्ष तप गरेर पनि पार नलागेपछि जेन बुद्धमार्गी गुरुकहाँ गएछ र भनेछ–“मैले १२ बर्ष तप गर्दा पनि यो दिमाग शान्त गराउन सकिन गुरुदेव । कसो गरौँ ? मलाई उपाय सुझाउनुप¥यो ।” गुरु चिया पकाउदै रहेछन् । उनले केही नबोली चियाको एउटा रित्तो कप चेलाको अगाडि राखिदिएछन् अनि चियाको कित्ली ल्याएर खन्याइदिएछन् । चियाको कप भरिएर पोखिन थालेछ । “भयो गुरु, यो भरियो,” चेलोले भनेछ तर पनि गुरुले चिया खन्याइ नै राखेछन् । हेर्दा हेर्दै कित्ली रित्तियो । अनि गुरुले सोधेछन्, “एउटा कपमा कति चिया अँट्छ ? कप रित्तो पारेर आउनू ।” हाम्रा दिमागी कपहरु भरिएका छन् त्यही चेलाको जस्तै । यी कपहरुलाई हामीले बढो जतनपूर्वक जोगाएका छांंै । हाम्रो वश् चलेसम्म तिनमा भएका कुरा हामी रित्याउँदैनौं । अनि नयाँ कुरा कसरि भरिन्छन् ?
अन्तिम तयारी
मृत्यु सधैं ‘असामयिक’ नै हुन्छन् । उमेर ११० पुगिसक्दा पनि हामी अन्तिम तयारीमा त्यति जुट्दैँनौ । हाम्रा अधुरा कार्यहरु प्रसस्त हुन्छन् । मेरो अनुभवमा पश्चिमा संसारमा भने अलिक फरक हुने रहेछ । मेरो एउटा अस्ट्रेलियन साथीकी ८५ बर्षे आमाले एकदिन बढो गौरवान्वित हुदै सुनाई, “अब मलाई ढुक्क भो । मेरो अन्तिम संस्कारका लागि मैले पुरै किस्ता बुझाइसकें ।” यो भनाइ मेरा लागि नितान्त नौलो थियो । उनीहरु सकेसम्म छोराछोरीलाई बोझ नपरोस् भनेर आफ्नो मृत्युपश्चात् गाडिने ठाउं हेरेर, आफ्नो गच्छे अनुसारको ठाउँ छानेर, त्यस जमीनका लागि कति तिर्न पर्ने हो, त्यो अन्तिम संस्कार गर्ने कम्पनीलाई किस्ताबन्दी रुपमा पैसा बुझाउँदा रहेछन् । त्यो साथीकी आमाले मलाई एकदिन उसले छानेको भव्य चिहानघारीमा लगेर ऊ बिलिन हुने ठाउँ पनि देखाएकी थिई ।
दाउराकै कुरा
दोश्रो लहरको कोरोनाले आक्रान्त पारेको बेला हामी केही पीडितहरु ज्यान जोगाउने दौडमा छांै । केही पर्दाभित्र लुकेर अझ बढी कमाइरहेका छौं । अधुरा सपनाहरुसँगै ज्यान भुकुभुकु ढलिरहेछन् । एक प्रकारको खोपको आधा मात्रा लगाएकाहरु अर्को मात्राको लागि पुकारा गरिरहेका छन् । कोही दुई मात्रा नै भेटेर ढुक्क भएका छन् । अस्पतालहरु भरिएका छन् । अनिंदा आँखा लिएर डाक्टर र नर्सहरु डा. तुलसी प्रसाद भट्टराईले नामाकरण गरेझैं “गिद्धबाहिनी कोरोना” का विरुद्धमा निरन्तर लडदैछन् । सरकार आफु सुरक्षित रहेर हाम्रालागि अक्सिजनको व्यवस्था गर्दैछ । तर अक्सिजनको व्यवस्थापन भइनसकुन्जेलका लागि एक मन्त्रीले केही दिन अगाडि, “आर्यघाटमा दाउराको कमी हुन नदिनू,“ भन्ने आदेश सम्बद्ध पक्षहरुलाई दिएका छन् । आशा गरा,ैँ हामीले केही नभए पनि अन्त्येष्टि कार्यका लागि पर्याप्त दाउरा पाउनेछौं । सम्पूर्ण मृतक तथा उनीहरुका आफन्तजनले दिएको आशिषको प्रतापले मन्त्रीज्यूको उत्तरोतर प्रगति हुने नै छ ।

Author

You may also like