दमक। दोस्रो भेरियन्टको कोरोना संक्रमण दमकमा पहिलोचोटी २०७७ चैत्र २५ गते १ जनामा पुष्ठी भएको थियो । क्रमिक संक्रमणको संख्या बढ्दै गएर जेठ ९ गते अर्थात् डेढ महिनामा पिसिआर÷एन्टीजेन पोजिटिभ ८८१ मा प्रमाणित भएको आधिकारीक निकायले जानकारी गराएको छ । यी मध्ये २४४ निको भएर घर गइसकेका छन् । १४ जनाको मृत्यु भएको छ भने ६२३ जना सक्रिय संक्रमित रहेका छन् । दमकका संक्रमतिमध्ये र अन्य पालिकाको समेत गरेर दमक अस्पताल कोभिड उपचार केन्द्रमा २३ जना, आम्दा अस्पतालमा २९ जना, लाइफलाइन अस्पतालमा १९ जना र एड्भान्स हस्पितलमा २१ जनाको उपचार भइरहेको छ ।
दमकका संक्रमितमध्येकै १७ जना, बिर्तामोड, धरान, विराटनगरका विभिन्न अस्पतालमा उपचारका लागि गएका र ६०९ जना होम आइसोलेसनमा रहेको बताइन्छ ।
होमआइसोलेसनमा रहेकाहरुलाई वडा–वडाका समितिहरुले समन्वय गरिरहेको र उनीहरुका लागि दमक नपाले सन्देशमूलक पर्चा, ४ किसिमको औषधिसहितको किट प्याकेट लिएर घरघरमा जाने तयारी गरेका कोभिड १९ का फोकल पर्सन कुवेर भट्टराईले जानकारी गराएका छन् ।
गत साल नै उपचार केन्द्रको आवश्यकता महसुस गरेर दमक अस्पतालले बेलडाँगीमा तयारी गरेको उपचार केन्द्रमा नै सुरुमा विरामीहरु भर्ना गरियो । तर बढ्दो चापलाई दृष्टिगत गरी अन्य ३ वटा गैरसरकारी अस्पतालले पनि उपचारका लागि अनुमति पाएका छन् । भर्खरै बेलडाँगीमा १ आइसुलेसन सेन्टर सञ्चालनमा आएको छ । जहाँ भर्ना हुन नसकिरहेका बिरामीहरुलाई त्यहाँ रेखदेख तथा उपचार गर्ने उद्देश्य रहेको पाइन्छ । उक्त उपचार केन्द्र र आइसुलेसन सेन्टर सञ्चालनका लागि स्थानीय संघ, संस्था, व्यक्ति र विदेशबाट पनि सहयोग प्राप्त भइरहेको छ । सहयोग गर्नेहरुमाः प्यासेफिक फर्मा दमकबाट रु. ३ लाख ६ हजार बराबरको औषधी सामग्रीहरु, रोटरी क्लब आफ दमकबाट व्हिल चियरसहित १३ किसिमका सामग्रीहरु, फेन्स क्लब विआरसिबाट नेबुलाईजर मेशिनसहित १२ किसिमका सामग्रीहरु, स्मारिका पौडेलको पहलमा किटेन किन्नर क्लबबाट २ थान अक्सिजन कन्सट्रेटर, पहिलो पाइला नेपलबाट पल्सअस्किमिटर २ थना ग्लुकोमिटर २ थान, गोर्खा वेलफेयर ट्रष्ट नेपालबाट हेन्ड वासिङ स्टेण्डसहित २५ किसिमका सामग्रीहरु, अफ्रिकी मुलुकमा रहेका छोरी–ज्वाइँ मुकुन्द+सुमित्रा आचार्यसहित पिता शान्तिराम आचार्य परिवारबाट उपकरणजडित एक आइसियू बेड १ थना, केशवराज भट्टराई परिवारबाट आई.सि.यु, बेड १ थान, लाइन्स क्लव अफ माउन्ट एभरेष्टबाट दैनिक रुपमा कोभिड अस्पतालका बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई निःशुल्क खानाको व्यवस्था, आमा जलपानी उद्योगबाट दैनिक ५ जार पानी, दमक उद्योग वाणिज्य संघ, नेरेसो उपशाखा दमक, दमक खानेपानी संस्था, हंसेदम्से सामुदायिक वन, सुनचादी व्यवसायी संघ, होलसेल व्यवसायी संघ, दमकस्थित लान्यन्स क्लवहरुबाट कोभिड आइसुलेसन केन्द्रमा आवश्यक पर्ने रु. ४ लाख ५० हजार बराबरका सामग्रीहरु, सहयोगी हात नेपालबाट पल्स अक्सिमिटर २ थना, ग्लुकोमिटर ट्रिप २ बक्स र सर्मिला धिमाल हाल कतारबाट अक्सिजन सिलिन्डर २ थान रहेका छन् ।