काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण ११ महिना बितिसक्दा पनि नियन्त्रणमा आएको छैन ।
२०१९ डिसेम्बरको अन्तिममा पहिलोपटक चीनको वुहानमा देखिएको थियो ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हालसम्म विश्वका २२० देशका ५ करोड ५९ लाख २८ हजार ३०७ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोनाका कारण आजसम्म विश्वमा १३ लाख ४४ हजार तीनजनाको मृत्यु भइसकेको छ भने यतिबेला विश्व नै कोभिड १९ को खोपको प्रतीक्षामा बसेको छ ।
यतिबेला दुई वटा कम्पनीले विकास गरेको खोप निकै प्रभावकारी बनेको ती कम्पनीहरुले दाबी गरेका छन् ।
‘फाइजर र बायो एन टेक’ ले विकास गरेको खोपको प्रारम्भिक परीक्षणमा ९५ प्रतिशत सफल मानिएको छ ।
मोडर्ना कम्पनीले बनाएको खोपले भने ९५ प्रतिशत संक्रमण रोक्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘फाइजर र बायो एन टेक’ यी दुई कम्पनीले विकास गरेका खोपहरुले यही महिनाको अन्तिमसम्ममा आपत्कालीन रूपमा सर्वसाधरणमा प्रयोग गर्न अनुमति दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तर विश्व स्वास्थ्य संगठनले कुनै पनि खोपलाई आमनागरिकले प्रयोग गर्न मिल्ने गरी अनुमति दिइसकेको छैन ।
यता नेपालमा पनि सरकारले कोरोना भाइरसविरुद्धको खोप बनेर बजारमा आएपछि तुरुन्तै ल्याउने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले खोप बनेसँगै सरकारले ल्याउने तयारी गरेको बताएका छन् ।
खोप बनेको खण्डमा कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशत खोप उपलब्ध गराउने प्रतिबद्धता रहेको पनि उनले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरसविरुद्धको खोप बनेपछि नेपाललाई ६० लाख खोप कोभ्याक्सले राष्ट्रपतिलाई पत्र लेखेर नै दिने प्रतिबद्धता जनाएको छ ।
“कोभ्याक्सले २० प्रतिशत खोप पनि निकै सस्तो मूल्यमा दिनेछ,” उनले भने, “यदि एक खोपको १० डलर परे २ डलर नेपालले तिनुपर्ने हुन्छ ८ डलर सहयोगमा आउँछ ।”
कोभ्याक्सले सहुलियत मूल्यमा दिएको खोपले पुग्दैन ।
थप कुल जनसंख्याको ८० प्रतिशत खोपका लागि पनि नेपालले कूटनीतिक रुपमा पत्र पठाउने काम गरिरहेको उनले जानकारी दिए ।
उनले भने, “खोपको तेस्रो चरणमा पुगेका देशहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक रुपमा पत्र पठाएको छ ।”
फ्रन्टलाइनर, स्वास्थ्यकर्मी र प्रहरी आदि जो व्यक्ति धेरै व्यक्तिसँग सम्पर्कमा आउँछन् हुन्छ, त्यस्तोले पनि पाउँछन् ।