लेख विचार/वहस

हात काँप्दै श्रद्धाञ्जली लेखेँ रूद्र सर !

रूद्र निराैला

गाेपाल गर्ताैला

कक्षा ८ बाट उँभो लागेपछि मात्र रूद्र सरले पढाउने कक्षामा पुगिन्थ्यो ।

टड्कारो स्वरमा प्रस्ट नेपाली बोल्ने र विद्यार्थीलाई मज्जासँग बुझाउने ।

शिक्षकले नबुझेका कुरा स्कुलमा मात्र होइन बाटोमा पनि मलाई सोध्न सक्छौ भन्ने गरेको सम्झना छ ।

उनै रूद्र निरौला सरको निधन भएको खबर फेसबुकको स्टाटसमा हालेको देखेँ ।

पुर्वी अमेरिकामा ११ जुलाई बिहान १० बजेर १८ मिनट जाँदा करिव साढे ८ हजार माईल टाढा पृथ्बीको अर्कै गोलाद्र्धको दमकमा १० जुलाईको साँझ सवा ८ बजेको हुँदो हो ।

सरस्वतीमाध्यमिक विद्यालयको भर्खर सेतो चुन दलेर चम्किलो बनाएको कक्षा ८ को सेक्सन बिमा परेका हामीलाई नेपाली पढाउने दुई शिक्षकमध्ये रूद्रसर पर्नुभएको थियो ।

नयाँ कक्षामा जतिढिलो भर्ना भइयो, उति नै पछाडिका सेक्सनमा बस्नु पर्ने चलन बसालिएको थियो ।

गोपाल भण्डारी अरु दुईवटा (ए र सी) सेक्सनमा पढाउनुहुन्थ्यो ।

गोरो, पातलो र अदवसाथ बिद्यार्थीलाई बुझाउने रूद्र सरले पढाएका माध्यमिक कक्षाका नेपाली पाठहरु अहिले सम्झिँदा पनि मन रोमाञ्चित हुन्छ ।

बर्षाको झरीमा एकहातले छाता र अर्काे हातले ह्याण्डील समाँउदै मच्चिँदै एवन साईकल हाँकेर आउने रूद्र सर बकाइनाको बोटमुनी अडिनुहुन्थ्यो ।

घरदेखि स्कुल करिव ५ किलोमिटर टाढा हुँदो हो ।

पाइन्टको भिजेको मोरी हातका नसा फुल्नेगरि निचरेर कार्यालयतिर तन्किएका रूद्र सरका पाइला केहि मिनट नबित्दै एउटा छडी र चक डस्टरको कागजी बट्टा लिएर कोठामा छिर्दथे ।

मुसलधारे पानीपर्दा छानोको टिनमा पानी ठोक्किएर आाउने आवाजले उछिन्नेगरि सरको स्वरको भोल्युम बढ्दथ्यो ।

अंग्रेजी पढाउने नन्दलाल सुवेदी सर निस्किँदा र रूद्र सर पस्दा कक्षाकोठाको हरियो दुईपल्ले ढोका एकैपटक खुल्थ्यो ।

हामी विद्यार्थीले ‘थ्यांयु सर’ र ‘गुडमर्निङ सर’ एकै उठाईमा भन्थ्यौा ।

मसिनेको संका, मास्टरकी आमा, महाकवी लक्ष्मीप्रसाद देवकोटाको जीवनी, बालकृष्ण समको इच्छा कविता, चाँदनी शाहको आमा कविता, चरीको विलाप आदि पाठ आज करिव अढाई दशकपछि पनि दिमागको पर्दामा गहिरो छाप बनेर बसेका रहेछन् ।

साहित्यमा राम्रो रुची भएका रूद्र सरले महाकवी देवकोटाको जीवनी तीनदिन लगाएर पढाउनु भएको थियो ।

सम्झिँदैछु, त्यो बेला स्कुलमा भर्खर पुस्तकालय खुलेको थियो ।

दुइतल्ले विद्यालयको माथिल्लो तल्लाको एउटा कोठामा काठको  र्याकमा मिलाएर राखिएका कितावहरुको च्यापमा रूद्र सर टिफिन समयमा किरा नआउने नमिठो गन्ध भएको पाउडर छर्किरहनुभएको हुन्थ्यो ।

भर्खर छापिन थालेको श्यामश्वेत कान्तिपुर दैनिक पत्रिका स्कुलमा आँउथ्यो ।

‘पुस्तकालयमा भएका कितावहरु नाम लेखाएर एकसाताका लागि पढन घरै लैजान सक्छौ’

पिरियड सकिनेबेलामा सरले करिव करिव आदेशको भाषामा यो सूचना प्रशारण गर्नहुन्थ्यो ।

हामी रुची भएकाहरु टिफिनको घण्टी लाग्नासाथ सोझै पुस्तकालय जान्थ्यौा ।

अरु धेरै सरहरु खाजाखान पदम कोइराला दाईले स्कुलको एक कुनामा चलाएको क्यान्टीनको चनाचिउरा र समोसा पाकिरहेको चुल्हो छेउको बेञ्चकमा बस्दा रूद्र सर पुस्तकालयमा पुस्तक लिन—दिन आउने विद्यार्थी फछर््याइरहनु भएको हुन्थ्यो ।

बजार छेउका पक्का घरवालाका छोराछोरीहरु कमिक्स पढ्थे र त्यसका गफ खुब गर्दथे ।

कमिक्स किन्ने लयाकत र रुची नभएका हामि श्रीप्रसाद काफ्ले, महेन्द्र अधिकारी, देवराज श्रेष्ठ, शिवराज गौतम आदिहरु भने टिफिनमा पुस्तकालय पुग्थ्यौं ।

८—९ कक्षामा छँदै पढेका बसाईं, माईतघर जस्ता उपन्यासको गाँउले भाषाले हृदयमा मज्जासँग बास गरेको छ ।

रूद्र सरको प्रेरणा र प्रयासले खडा पुस्तकालयमा पाएर पढेको बसाईं उपन्यासका लेखक लीलबहादुर क्षेत्रीसँग करिव १५ बर्षपछि २०६५ सालतिर दमकमा साहित्यिक कार्यक्रममा भेट भएको थियो ।

मोटे कार्की र झुमाको कथा जन जिव्रोको भाषामा सर्लक्क उतार्ने बेजोड कलमबाजलाई छेवैमा भेट्दा उपन्यासका सबै पात्रहरु आँखामा नाचेका थिए ।

कानका लोती झुण्डिएका रूद्र सर छन्दोवद्ध कविताहरु बडो लय मिलाएर बाचन गर्नुहुन्थ्यो ।

खाजाखान घरबाट पैसा लिएर गएका विद्यार्थी थोरैमात्र हुन्थे ।

टिफिन भनेको हामी धेरै विद्यार्थीका लागि खाजा खाने होइन, पानी पिएर चहुरमा उफ्रिने खेल्ने समय हुन्थ्यो ।

झ्यालको डण्डी समात्दै भर्खर ठड्याएको जोडी इँटावाला पर्खालमा उक्लिएर गुट्टुटु कुद्ने विद्यार्थीलाई झपार्दै ओराल्न र

‘आइन्द यस्तो चकचक गरेको देखेभने घरमा गएर बाबुलाई भन्दिँउला’ भन्ने रूद्र सरले हातमा बोकेको लौरो उत्ति चलाएको याद छैन ।

स्कुलको पढाइ सकेपछि पनि दमक र वरपर हुने साहित्यिक गतिविधिमा सरसँग बाक्लै भेटघाट भइरहन्थ्यो ।

प्रतिभा निकेतन, साहित्य कला संगमजस्ता पश्चिम झापाका साहित्यिक संस्थाहरुको जगमा रूद्र सर जस्ता अग्रजहरुको भुमिका ईंटाको रुपमा रहेको छ ।

दशकअघि एकदिन बिरामी आमालाई लिएर बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मुलगेटबाट प्रवेश गर्दा ।

स्टेचरमा सुतेर अस्पताबाट बाहिर निकालिँदै गरेको कपाल फुलेको शरिरमा आँखा प¥यो ।

भाँचिएको खुट्टो प्लास्टर गरेर एम्बुलेन्समा घर ल्याउन रूद्र सरलाई निकालिँदै रहेछ । स्टेचरबाट नमस्ते फर्काउँनुभयो ।

शिघ्र स्वास्थ्य लाभको कामना गरेँ र भित्र पसेँ । कयौा महिनापछि दोस्रो पटक पनि रूद्र सरसँग त्यहि अस्पतालमा भेट भयो ।

म बिमारी आमालाई उपचार गराउन गएको थिएँ र रूद्र सर खराव भएका मिर्गौलाको उपचार गर्न जानुभएको रहेछ ।

“अब डायलसिस गर्ने कुरो भयो” मैले ‘कस्तो छ सरलाई ?’ भनेर सोध्दा पाएको जवाफ थियो ।

मिर्गौलाको विराम निकै कठिन र उपचारको लागि महँगो पनि हो । सर विमारी नै हुनुहुन्थ्यो ।

साईकलको पाइडल फन्काँउदै बेलाबेला दमक आउनुहुँदो रहेछ ।

एकदिन मेघराज पौडेल सरको दमक ११ स्थित कपडा पसलमा रूद्र सर बसिरहनु भएको थियो ।

नजिकै रहेको पूर्वसन्देश पत्रिकाको कार्यालय मेरो कामगर्ने आवासिय ठेगाना थियो ।

फिका चियासँग पोलेका मकै छोडाएर चपाँउदै गफिँदा निबृत्त हुने मिति पर्खिरहनुभएका रूद्र सरले भन्नुभएको थियो, “केटा, अचेलका विद्यार्थी पहिलेका जस्ता अनुशासित छैनन्, भनेको राम्रोसँग सुन्दैनन् र मान्दैनन् पनि ।”

करिव एकघण्टासम्म सरको अनुभव, स्वास्थ्य र घर परिवारको हालचाल सबै भन्ने—सुन्ने काम भयो ।

अग्रज पत्रकार गञ्जबहादुर दाहाल सम्पादक प्रकाशक रहेर २०६२ सालमो मंसिर २४ गतेदेखि दमकबाट पूर्वसन्देश पत्रिका निस्कन थाल्यो ।

पूर्वसन्देशमा कार्यकारी सम्पादक इन्द्र न्यौपाने र समाचार सम्पादकको रुपमा म टिममा सामेल थियौा ।

नियमित रुपमा लेख लेखाउनका लागि ब्यक्तिहरु छनौट गर्न थाल्यौं ।

नेपाली भाषामा दख्खल भएका र विश्लेषण समेत गर्नसक्ने ब्यक्तिहरुलाई सम्पर्क गरेर अनुरोध गर्न थाल्यौा ।

चन्द्र भण्डारी, रूद्र निरौला, गिता अधिकारी, प्रकाश बुढाथोकी, केपी ढकाल, बाँस्कोटा धनञ्जय, कृष्ण दंगाल, शिब प्रणत, कर्णकुमार श्रेष्ठ आदि हाम्रो छनौटमा हुनुहुन्थ्यो ।

उहाँहरुको पूर्वसन्देश सँगको साइनो पछिसम्मै जोडिरह्यो । आठ—पाँच डा. तुलसी भट्टराई, डा. गोविन्द भट्टराई, युवराज नयाँघरेजस्ता दमकमा जरो किलो भएर राष्ट्रिय पहिचान बनाएका ब्यक्तित्वहरुका लेख पनि आँउथे ।

नियमित र ठिक साईजको लेख लिएर सातामा एकपटक पूर्वसन्देश आउनुहुने रूद्र सर दाहिना, बाईमात्रामा एउटा गल्ती छापिएछ भने पनि चित्त बुझाउनु हुन्नथ्यो ।

रूद्र सर लगायतका लेखकहरुसँग हरेक साता सरदर दुईपटक हाम्रो भेट हुन्थ्यो ।

२०६४ सालको पुषमा उज्यालो नेटवर्कबाट प्रशारण हुने रेडियो कार्यक्रम शरणार्थी सन्देशमा जानु अघिल्लोदिनसम्म म पूर्वसन्देशमा आवासिय सुविधा सहितको कार्यकारी सम्पादक थिएँ ।

रेडियो कार्यक्रम उत्पादनमा फुलटाईम लागेपछि भने पूर्वसन्देशमा लेख लेख्ने यी अग्रजहरुसँगको भेट कम हुनथाल्यो ।

बेलाबेला हुने जम्काभेटमा औपचारिक मात्र हुन थाले ।

मिर्गौला खराव भएर डायलसिसमा जानु भएका रूद्र सर गल्दै गएको शरिर साईकलमा घिसार्दै ढुकुरपानीको बाटो भएर दमक ओर्लनुहुन्थ्यो ।

आफ्नो ब्याचका स्कुले साथीहरुसँग २०७५ सालको दशौको अन्तिम दिन दमकको संगम स्विट्समा भेटघाट गर्दा मैले रूद्र सर विरामी हुनुहुन्छ भनेर सुनाँउदा सोभा, रुक्मिणी, कल्पना, श्रीप्रसाद, बेदप्रसाद, पवन, बालकुमार, अरुण, धनराज, मञ्जु, श्याम, गिता, दिपक आदि सबै सहपाठीहरुको अनुहार मलिन भएको थियो ।

ब्यस्तताका विच जवर्जस्ती छुट्याएको छोटो समयमा जुटेका हामीले छिट्टै अर्काे पटक भेटिएर रूद्र सरलाई भेट्न घरै जाने मतो त मिलायौं ।

तर त्यो अर्काेदिन कहिल्यै नआउनेगरि समयको गर्तमा भासिएको छ । कालले तपाईंलाई उछिन्यो सर ! रोगसँग लड्दा लड्दै तपाईं हारेको दुखी खबरले पोलिरहेको छ आज ।

मेरो दिमागमा गहिरोसँग नेपाली भाषा अध्ययनको रुची भरिदिने रूद्र सर तपाईं मरेपनि तपाईंलाई शब्दले होइन हृदयले ‘सर’ भनिरहने छु ।

मेरा काँपिरहेक हातहरुले जवर्जस्ती आज तपाईंको नाममा ‘श्रद्धाञ्जली’ शब्द लेखिरहेका छन् । अलविदा सर ! पेन्सिलभेनिया, अमेरिका

Author

You may also like