काठमाण्डौं। विभिन्न क्षेत्रका विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेतनापूर्वक बन्दाबन्दी खुकुलो पार्दै लैजान सुझाव दिएका छन् प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न विभिन्न क्षेत्रका विज्ञहरुसँगको छलफलमा अहिलेको भन्दा फरक प्रकृतिको बन्दाबन्दी गर्नुपर्ने सुझाव दिइएको हो।
बैठकमा सहभागी हुनुभएका जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षितले भन्नुभयो “हामीले अहिलेको बन्दाबन्दीको मोडालिटी परिवर्तन गर्नुहोस् भनेर सुझाव दिएका छौं, तर बन्दाबन्दी खोल्दा त्यो सचेतनापूर्वक हुनुपर्छ भनेका छौं।”
बैठकमा कोरोना भाइरसले कस्तो अवस्था सिर्जना गर्छ भन्ने विषयमा विज्ञहरुको फरक फरक धारणा रहेको दीक्षितले बताउनु भयो। छलफलमा क्वारेन्टिनको अवस्थामा सुधार गर्न र परीक्षणको दायरालाई बढाउन सुझाव दिइएको पनि वहाँले जानकारी दिनुभयो। करिब चार घण्टा चलेको बैठकमा विभिन्न विधाका २५ जना विज्ञहरुको सहभागिता रहेको थियो।