मानिसलाई पृथ्वीको सबैभन्दा चेतनशील, विवेकशील र सामाजिक प्राणी मानिन्छ । विज्ञान, दर्शन, कला, साहित्य र प्रविधिको विकास गर्ने क्षमता केवल मानिसमा छ । ढुंगे युगदेखि कृत्रिम बुद्धिमत्ता (एआई) को युगसम्म आइपुग्दा मानव सभ्यताले अभूतपूर्व प्रगति गरेको छ । आज मानिसले अन्तरिक्षमा पाइला टेकिसकेको छ, जटिल रोगहरूको उपचार सम्भव बनाएको छ र संसारलाई एक क्लिकको दूरीमा जोडेको छ । तर विडम्बना, बाह्य विकासको यो चमकभित्र मानवीयता, नैतिकता, सहिष्णुता र संवेदनशीलता भने दिनप्रतिदिन खिइँदै गएको देखिन्छ । प्रश्न उठ्छ—यति धेरै शिक्षित, विकसित र आधुनिक भएको मानिस किन अझै असल मानिस बन्न सकेको छैन ?
मानिसको वास्तविक महानता उसको ज्ञान, सम्पत्ति वा शक्तिमा होइन, उसको चरित्र, विवेक र मानवप्रतिको व्यवहारमा निहित हुन्छ । तर आजको समाजमा स्वार्थ, लोभ, घृणा, असहिष्णुता र हिंसाले मानवीय सम्बन्धहरू कमजोर बनाइरहेका छन् । सामाजिक सञ्जालले सूचना आदानप्रदानलाई सहज बनाएको छ, तर त्यसैको दुरुपयोगले घृणायुक्त अभिव्यक्ति, साइबर बुलिङ, चरित्रहत्या, अश्लीलता र मानसिक तनाव बढाएको छ । युनेस्को लगायतका अन्तर्राष्ट्रिय अध्ययनहरूले डिजिटल माध्यमको अत्यधिक प्रयोगले किशोर–किशोरीमा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने देखाएका छन् । प्रविधि दोषी होइन; दोष त्यसलाई प्रयोग गर्ने हाम्रो चेतना र नैतिकतामा छ ।
नेपालको सामाजिक यथार्थ पनि झन् चिन्ताजनक बन्दै गएको छ । हत्या, हिंसा, बलात्कार, आत्महत्या, साइबर अपराध, भ्रष्टाचार, ठगी, मानव बेचबिखन र लागुऔषध दुव्र्यसनका घटनाहरू बढिरहेका छन् । नेपाल प्रहरीका वार्षिक प्रतिवेदनहरूले पनि गम्भीर अपराधहरूको संख्या उल्लेखनीय रूपमा बढिरहेको देखाउँछन् । शिक्षाको पहुँच विस्तार हुँदै जाँदा पनि नैतिक चेतना कमजोर हुनु आजको समाजको सबैभन्दा ठूलो विडम्बना हो । यसैको एउटा दर्दनाक उदाहरण हालै झापाको दमकमा देखियो । साथीसाथी मिलेर विश्वकप फुटबल हेरिरहेका बेला सामान्य विवादले उग्र रूप लिँदा एक भारतीय नागरिकमाथि चक्कु प्रहार भयो र उनको ज्यान गयो । केही समयअघिसम्म एउटै ठाउँमा बसेर रमाइलो गरिरहेका साथीहरू क्षणभरमै एकअर्काका ज्यानका शत्रु बने । यो घटनाले स्पष्ट देखाउँछ, आज मानिसले आफ्नो रिस नियन्त्रण गर्न, मतभेदलाई संवादबाट समाधान गर्न र क्षणिक आवेगलाई संयममा बदल्न सिक्न सकेको छैन । सामान्य असहमति अब संवादबाट होइन, हिंसाबाट टुंगिने अवस्था आउनु सभ्य समाजका लागि गम्भीर चेतावनी हो ।
त्यति मात्र होइन, पछिल्लो समय सामान्य समस्या वा मानसिक तनावलाई सहन नसक्दा आत्मदाहजस्ता भयावह घटनाहरू पनि बढिरहेका छन् । केही दिनअघि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे । त्यस घटनाले देशभर ठूलो बहस सिर्जना ग¥यो । तर त्यो दृश्य अझ पीडादायी थियो—वरिपरि नगर प्रहरी थिए, सञ्चारकर्मीहरू थिए, सर्वसाधारण दर्शक थिए, धेरैले भिडियो खिचिरहेका थिए, तर तत्काल मानवीय साहस देखाएर उनको ज्यान बचाउने प्रयास पर्याप्त रूपमा हुन सकेन । अन्ततः उनी उपचारकै क्रममा संसारबाट बिदा भए । यो घटना केवल एउटा व्यक्तिको मृत्यु होइन; हाम्रो सामूहिक संवेदनशीलताको परीक्षा पनि थियो । हामी यस्तो समाज बन्दै गएका छौं, जहाँ पीडितलाई बचाउनुभन्दा घटना मोबाइलमा कैद गर्न धेरै मानिस तत्पर देखिन्छन् । प्रविधि हातमा आयो, तर मानवता भने हातबाट फुत्कँदै गयो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वभर प्रत्येक वर्ष करिब ७ लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने गर्छन्, र आत्महत्या १५ देखि २९ वर्ष उमेर समूहका युवामाझ मृत्युका प्रमुख कारणहरूमध्ये एक हो । यो तथ्यले मानसिक स्वास्थ्यलाई बेवास्ता गर्नु कति घातक हुन्छ भन्ने स्पष्ट पार्छ । आत्मदाह वा आत्महत्याको समाधान कुनै पनि समस्या होइन; यसको समाधान समयमै मानसिक सहयोग, पारिवारिक साथ, सामाजिक सहानुभूति र प्रभावकारी राज्य संयन्त्रमा निहित छ ।
आज धेरै मानिस सफलता भनेको धन, शक्ति र प्रसिद्धिलाई मात्र ठानिरहेका छन् । “मै खाऊँ, मै लाऊँ, मेरै सुख होस्“ भन्ने सोचले समाजलाई स्वार्थी बनाइरहेको छ । धन कमाउने होडमा इमानदारी, करुणा, दया र मानवताको मूल्य ओझेलमा परिरहेका छन् । पैसाका लागि आफ्नै इज्जत बेच्ने, सम्बन्ध बिगार्ने, झुट बोल्ने र अपराध गर्नेसम्मका प्रवृत्तिहरू बढ्दै गएका छन् । शिक्षित हुनु र संस्कारित हुनु एउटै कुरा होइन भन्ने कुरा आजको समाजले बारम्बार प्रमाणित गरिरहेको छ ।
शिक्षाको उद्देश्य केवल रोजगारी दिलाउनु होइन; असल नागरिक निर्माण गर्नु पनि हो । विद्यालयले ज्ञान दिन्छ, तर परिवारले संस्कार दिन्छ । आज आफ्नै बाबुआमालाई वृद्धाश्रममा छोड्ने सन्तानहरूको संख्या बढिरहेको छ । यसले आर्थिक विकासभन्दा ठूलो संकट नैतिक मूल्यको ह्रास भएको देखाउँछ । संयुक्त राष्ट्रसंघले पनि दिगो विकासका लागि आर्थिक समृद्धिसँगै सामाजिक न्याय, समानता र मानव मर्यादालाई समान महत्व दिएको छ ।
धर्मको मूल उद्देश्य पनि मानिसलाई असल, करुणाशील र सहिष्णु बनाउनु हो । तर आज कतिपय अवस्थामा धर्मसमेत व्यापारको माध्यम बन्दै गएको अनुभूति हुन्छ । पूजा, पुराण, महायज्ञ वा धार्मिक अनुष्ठानमा आस्था भन्दा प्रदर्शन र आर्थिक प्रतिस्पर्धा हाबी भएको देखिन्छ । धर्मले लोभ होइन, त्याग सिकाउँछ; घमण्ड होइन, विनम्रता सिकाउँछ । यदि धर्मले मानिसको व्यवहार परिवर्तन गर्न सकेन भने त्यो केवल कर्मकाण्डमा सीमित रहन्छ ।
दार्शनिकहरूले सदियौँदेखि मानिसलाई आत्मचिन्तन र नैतिक जीवनतर्फ प्रेरित गरेका छन् । फ्रान्सेली दार्शनिक जाँ–जाक रूसोले भनेका थिए, “मानिस स्वभावतः असल हुन्छ, तर समाजले उसलाई बिगार्छ ।“ पूर्वीय दर्शनले “सत्यम्, शिवम्, सुन्दरम्“ लाई जीवनको सर्वोच्च मूल्य मानेको छ । सत्यले ज्ञान दिन्छ, शिवले कल्याणको बाटो देखाउँछ र सुन्दरले जीवनलाई प्रेम, करुणा र सौन्दर्यले भरिदिन्छ । तर आज हामीले यी मूल्यलाई व्यवहारमा उतार्न नसक्दा समाजमा अविश्वास, हिंसा र विभाजन बढिरहेको छ ।
आज सडकदेखि सदनसम्म असहिष्णुता देखिन्छ । राजनीतिक दलहरूले आफ्ना कार्यकर्ताको गल्तीलाई ढाकछोप गर्ने र विपक्षीको मात्र आलोचना गर्ने प्रवृत्ति मौलाएको छ । समाजमा हिंसा सामान्यजस्तै लाग्न थालेको छ । जब मानिसको जीवनभन्दा विचार, दल वा स्वार्थ ठूलो हुन थाल्छ, तब मानवता संकटमा पर्छ । आज संसारलाई कृत्रिम बुद्धिमत्ताभन्दा बढी मानवीय बुद्धिमत्ताको आवश्यकता छ । मानिसले रोबोट बनाउन सिक्यो, तर आफ्नै मनभित्र करुणा जगाउन सकेन । आधुनिक बन्नु भनेको महँगो मोबाइल बोक्नु वा अत्याधुनिक प्रविधि प्रयोग गर्नु मात्र होइन; आधुनिक बन्नु भनेको आफ्नो व्यवहारलाई सभ्य, जिम्मेवार, सहिष्णु र मानवीय बनाउनु हो ।
समाज परिवर्तन कुनै एक व्यक्ति, सरकार वा संस्थाले मात्र गर्न सक्दैन । यसको सुरुवात प्रत्येक व्यक्तिको सोच र व्यवहारबाट हुन्छ । परिवारले संस्कार दिनुपर्छ, विद्यालयले नैतिक शिक्षा बलियो बनाउनुपर्छ, धर्मले करुणा सिकाउनुपर्छ, राज्यले न्याय सुनिश्चित गर्नुपर्छ र नागरिकले मानवताको पक्षमा उभिनुपर्छ । जब हामी अरूको खुट्टा तान्ने होइन, हात समातेर उठाउने संस्कार विकास गर्छौं, तब मात्र सभ्य, न्यायपूर्ण र मानवीय समाजको निर्माण सम्भव हुन्छ । आज मानव सभ्यताको सबैभन्दा ठूलो चुनौती विज्ञानको अभाव होइन, मानवताको अभाव हो । यदि हामीले समयमै संवेदना, सहिष्णुता, नैतिकता र मानवताको पुनर्जागरण गर्न सकेनौँ भने इतिहासले हामीलाई अत्याधुनिक प्रविधिको युगका सफल मानिस होइन, मानवता गुमाएका असफल सभ्यताका रूपमा सम्झिनेछ ।

Author

You may also like