देश–समाज राजनीति विचार/वहस स्थानीय

नेपाली राजनीतिको भविष्य र वैश्विक संकटको त्रास

नेपाली राजनीतिमा निर्वाचन परिणामले ल्याएको तरङ्गले नयाँ आशा ,विश्वास र उमङ्गको जोश र हौसला भर्ने काम गर्नुको साथै देशको सांस्कृतिक राष्ट्रवादको आधारलाई अझ बलियो र हिमाल पहाड तराई कोही छैन पराई भन्ने कुरालाई दृढताका साथ नेपाली राजनीतिमा स्थापित गरी दिएको छ। यसपालिको चुनावले नेपाली इतिहासमा सुनौलो अध्याय थप्ने महान कार्य गरेर नेपाली राजनीतिमा उदाएका ३५ वर्षीय युवा बालेन्द्र साह लाई देशको भावी प्रधानमन्त्रीको रूपमा अपार जन समर्थन दिई नेपालको लोकतन्त्रलाई विश्वको अगाडि भरपर्दो र टिकाउ सरकार दिन सक्ने गरी प्रमाणित गरी दिएको छ। नेपाली राजनीतिको लामो कालखण्डमा बनेका दही चिउडे सरकारहरूले देखाएका रुखो व्यवहारहरुले गर्दा दिक्क भइसकेका नेपाली जनताको अनुहार कहिले पनि गर्बिलो दर्पिलो, हँसिलो र खाइलाग्दो बन्न सकेन। समयसमयमा जुर्मुराउन खोजेका नेपाली कांग्रेस, उदाउन खोजेका नेपाली माओवादी पार्टी, र उज्यालो घाम छर्न खोजेका एमाले, मधेशवादी दलहरू लगायतका राजनीतिक शक्तिहरूले देशको भूधरातलीय यथार्थलाई बुझ्दै नबुझी लोकतन्त्रलाई पटकपटक उपहास गरेर जगहसाई गर्दै लगिरहेको अवस्थामा यसपालि नेपालका जनता जनार्दनहरुले पुराना खिया लागिसकेका खिइँदै गइरहेका सबै जसो राजनीतिक दलहरूलाई उनीहरूकै मैदानमा धुलो चटाई दिएका छन् । यो निश्चित रुपमा लोकतन्त्र र नेपाली राष्ट्रवादको विजय हो र विश्वले नेपालको लोकतन्त्रको घटनाक्रमलाई बडो आसलाग्दो र विश्वसनीय ढंगले नियालेर मूल्याङ्कन गरिरहेको अवस्था छ। देशको अर्थतन्त्र, देशको बजार व्यवस्था, देशको व्यापार सन्तुलन, भुक्तानी सन्तुलन, शोधनान्तर अवस्था कतिसम्म लर्तरो र परनिर्भर बन्दै गइरहेको थियो भन्ने कुराको बयान गर्नु सम्भव छैन। अब चित्त दुखेका जनताहरूको चित्त बुझाउनु जरुरी छ। जनताले दुई तिहाई बहुमत एउटा सिङ्गो दललाई दिएर जनमतलाई सम्मान गर्न राजनीतिक दलहरूलाई पुनः विश्वास गरेको छ र देशको शासनसत्ता सम्हाल्ने अधिकार र चाबी राष्ट्रिय स्वतन्त्र पार्टी लाई प्रदान गरेको छ। गुट र फुटतन्त्रबाट, लोभी लालची र दलाल फटाहाहरूबाट सरकार र देशलाई बचाउन सकियो भने देश पनि जोगिन सक्छ र देशका भुइतहका जनता जनार्दनहरूलाई पनि मुखमा माड लाग्ने आस पलाउन सक्दछ। देशभित्रका पुराना राजनीतिक शक्तिहरू आफ्नै क्रियाकलाप र दुर्बुद्धिहरुले गर्दा आफै सकिने स्थिति निर्माण गरेको हुनाले अबका दिनहरुमा उनीहरुलाई दोष दिन मिल्दैन। सरकारले बडो विवेकशील भएर देशका लागि दिगो र टिकाउ हुनसक्ने आवश्यक कानुनी व्यवस्थाहरू मिलाउन र वातावरणहरू तयार गर्नु जरुरी छ। खास गरेर गरिबी र उपेक्षाका सिकार भइरहेका विकास उन्मुख मुलुकका जनताहरू लाई आफ्नो आधारभूत आवश्यकता पूरा गर्न धौधौ परिरहेको अवस्थामा देशको सार्वभौमिकता लाई संरक्षण गर्ने संकट पनि उत्पन्न हुँदै गएको देखिएकोले भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान लगायतका विश्वका कैयौँ संकटग्रस्त मुलुकहरूको लागि बालेन शाह जस्तै स्वच्छ र इमान्दार छवि भएका युवा नेतृत्वको आवश्यकता छ। देशमा तानाशाही स्थापित गर्ने खालका पुराना राजनीतिक अनुहारहरू आफू नमरुन्जेलसम्म सत्तामा घरजम गर्दै पुस्तैनी अधिकार समेत स्थापित गर्न खोजिरहेको अवस्थामा लोकतन्त्रको अन्तिम सास रहुन्जेलसम्म पनि जनता जनार्दनले देशको लागि केही काम गर्न सक्ने क्षमतावान योग्य र इमान्दार नेतृत्व को खोजी गरि नै रहने देखिन्छ। प्राचीन भारतवर्षमा हस्तिनापुर सम्राट युधिष्ठिरले देशको नेतृत्व सम्हाले जस्तै बालेन्द्र शाहले नेपालको नेतृत्व सम्हाल्ने अभिभारा पाउन लागेका छन् यो नेपाली मात्रको लागि ऐतिहासिक अवसर हो। यस अवसरमा हिमाल पहाड तराई सबै क्षेत्रका जनताले बालेन्द्र शाहको नामबाट भारी मतदान गरी बालेन्द्र शाह लाई देशको नयाँ प्रधानमन्त्री बनाउने अभिभारा सुम्पिदिएका छन् । स्ट्रक्चरल इन्जिनियरिङमा एमटेकको उपाधि भारतबाट हासिल गरेका बालेन्द्र शाहको शैक्षिक योग्यता नेपालको विगतका सबै प्रधानमन्त्रीहरूको दाँजोमा अब्बल किसिमको रहेको छ। आज देशको डिजाइन, देशको स्ट्रक्चर, देशको टेक्नोलोजी, देशभित्रको माटोपानी, हावाको अवस्था देशका युवाहरूको सपना र आदर्शलाई सर्व उत्कृष्टताको अवस्थामा पु¥याएर देशलाई गर्व गर्ने ठाउँको रुपमा रूपान्तरण गर्ने कार्य बालेन्द्र शाहको काँधमा आएको छ । द्वापर युगमा भगवान कृष्णले इन्द्रको क्रोधबाट गौपालक किसान हरू तथा देशका जनताहरूलाई जोगाउन आफ्नो औँलाले उठाएर गोवर्धन पर्वतलाई माथि उचालेर देशलाई डुब्नबाट जोगाएका थिए ।
गोवर्धन पर्वत उठाउने कार्यमा कृष्णको ईश्वरीय शक्तिले जति सामथ्र्य देखाएको थियो त्योभन्दा कम सामथ्र्य ग्वाल बाल र कृष्णका साथीहरूको थिएन। गाई चराउने सबै ग्वाल बाल गोपालवंशीहरूले गोवर्धन पर्वत लाई उचाल्न कृष्णलाई सघाएका थिए र आफ्नो आफ्नो लठ्ठीको भरमा मात्र गोवर्धन पर्वतलाई उचाल्न आफ्नो शक्ति देखाएका थिए जसको परिणामस्वरूप इन्द्रले अत्याधिक वर्षा गराएर गोकुललाई डुबाइदिने सपना तुहिएर गएको थियो । त्यस्तै किसिमको संवेदनशील अवस्था अहिले नेपालमा पनि रहेको देख्न सकिन्छ । कंस बनेर राज्यसत्ता लाई आफ्नो सिंहासन बनाउने सपना देख्ने दल हरूले निर्वाचनमा नराम्रो परिणाम बेहोरे पनि उनीहरूको मृग तृष्णा अझै मरेको छैन र उनीहरु देशको कुभलो गर्न केही पनि मौका गुम्न दिने छैन। तसर्थ जेन्जी सरकारका नवोदित युवा शक्तिहरूले देशलाई सम्हाल्नु जरुरी छ । समृद्धिको शिखर छुन सक्ने नेपालको प्राकृतिक स्रोत साधनले पुनः दुर्गति र पतन हुन सक्ने अवस्था भोग्नु नपरोस् भन्ने कुरामा जनताले सधैं पहरेदारी गर्नु पनि जरुरी छ। कुनै पनि किसिमको ध्वंस बर्बादी र विनाशको ताण्डव लीलाले देशलाई हरियो भरियो र उर्वर बनाउन सक्दैन। देशलाई प्रविधिसम्पन्न बनाउन उच्चस्तरीय कौशल बुद्धि र क्षमताको मानवशक्ति भएको युवा शक्तिलाई प्रोत्साहन गर्नु जरुरी छ । अबको सरकारले भाषणबाट होइन कामबाट आफ्नो क्षमता देखाएर जन भावनाको सम्मान गर्नु जरुरी छ। नयाँ सरकारले आफ्नो देशको समस्या र आवश्यकताहरूलाई छिमेकी देशहरूसँग सहकार्य गर्दै समाधान गर्नु उचित हुन्छ । मिथिलाकी छोरी सीता जनकपुरमा रहँदासम्म जानकी मात्र थिइन् तर रामसँग विवाह गरेर जगदम्बा बनिन्। नेपालको लुम्बिनी कपिलवस्तुमा जन्मिनु भएको सिद्धार्थ गौतम नेपालमा रहँदासम्म राजा सुद्धोधनका छोरा मात्र थिए तर बोधगयामा ज्ञान प्राप्ति गर्दै आत्मसाक्षात्कार गरेपछि विश्वले उनलाई भगवान बुद्ध भनेर चिने र नेपालको पहिचान बने। त्यसकारणले नेपालको प्रतिष्ठा र सम्मान बढाउनको लागि नेपालले वैश्विक रूपमा महत्त्वपूर्ण भूमिका खेल्नु जरुरी छ। अहिले विश्वमा नै युद्ध अशान्ति र हिंसाको ताण्डव खेल चलिरहेको छ। एकातिर रूस र युक्रेन बीच महाविनाशकारी युद्ध चलिरहेको छ भने अर्कोतिर इजरायल र प्यालेस्टिनी हमासका इस्लामिक समूहहरूबीच भयानक सङ्घर्ष चलिरहेको छ । इजरायल र इस्लामिक धार्मिक राष्ट्रहरू बीचको आत्मघाती युद्धले अमेरिकालाई पनि इरानको विरुद्ध युद्धमा ओर्लिने अवसर प्रदान गरेको छ जसले गर्दा विश्वमा नै ठूलो उथलपुथल हुने संकेतहरू देखा पर्न थालिसकेको छ। विश्व परमाणु युद्ध को संघारमा आइपुगेको जस्तो देखिन थालिएको छ। इरान र अमेरिकाबीच को युद्धले संसार नै युद्धमैदान बन्ने हो कि आशङ्का बढ्दै गइरहेको छ। इरानले आफ्नो वरिपरिका सबै जसो इस्लामिक मुलुकहरूमा रहेका अमेरिकाली सैन्य अखाडाहरु माथि भयानक क्षेप्यास्त्र प्रहार गरिरहेका छन्। अधिकांश पेट्रोलियम पदार्थ हरू निर्यात गर्ने खाडी मुलुकका देशहरु एकपछि अर्को गर्दै सबै युद्धमा होमिन थालिएका छन्। प्राकृतिक पेट्रोलियम पदार्थ ग्याँस इन्धन डिजल मट्टी तेल लगायतका अति आवश्यक प्रज्वलनशील संसाधनहरूको आपूर्ति विश्व बजारमा लगातार घट्दै गइरहेको छ । खाना पकाउने ग्याँसहरूको वैश्विक रूपमै कमी देखिएकोले विश्वमा नै भयानक ऊर्जासंकट उत्पन्न हुने समस्या सिर्जना भइरहेको छ । बजारमा इन्धन आपूर्ति कम भएको हुनाले नेपाली जनताहरूले पनि ग्यासको अभाव भोग्न थालिसकेका छन्। नेपालमा प्रमुख रूपमा प्राकृतिक ग्यासहरू भारतबाट नै ल्याइने गरेको हुनाले भारतमा पनि तेल संकट को समस्या ज्वलन्त रुपमा देखिन थालिएकोले यसको विकल्पको रुपमा सरकारले अविलम्ब पहल गर्नु र सतर्कता देखाउनु जरुरी छ । खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा काम गर्न गएका युवा नेपालीहरूको जीवनको सुरक्षा पनि अहिले प्रमुख चिन्ताको विषय बन्न गएको छ । डिजल पेट्रोल मट्टी तेल ग्याँस लगायतका आवश्यक प्रज्वलनशील इन्धनहरु सकिँदै गएपछि नेपाली बजारमा वस्तुहरूको मूल्य नियन्त्रण गर्न अत्यन्त नै सकस पर्नेछ । यी कुराहरुलाई विचार गरेर सरकारले आफ्नो सक्षमता र सामथ्र्य को परिचय दिनु जरुरी छ। नेपाली राजनीतिको भविष्य संकटमा नपरोस् र वैश्विक संकटको त्रास नेपालले भोग्नु नपरोस् भन्ने कुरामा नवनिर्वाचित जनप्रतिनिधिहरूले चासो लिनु जरुरी छ तथा विश्वमा देखिएको र विकराल रूप धारण गर्दै गइरहेको इन्धन आपूर्तिको समस्या नेपालको स्थायी समस्या नबनोस् भन्ने कुरामा पूर्व सतर्कता अपनाउनु पनि जरुरी छ ।

Author

You may also like