महानिर्वाचन संग्राममा सहभागी हुने राजनीतिक दलहरूका प्रतिबद्धताहरू धमाधम आउन थालेको छ । देशभित्र छमछमी विकास ल्याउने नारा र उद्घोष सहित राजनीतिक दलका भुई तहका कार्यकर्ता देखि नेतासम्म देश दौडाहामा लागेका छन् ।
देशको भुई तहमा रहेका भूमिपुत्रका सन्तानहरू आज मात्रै बिलखबन्दमा परेका होइनन्। उनीहरू शताब्दीयौँ देखि आफ्नो जन्मभूमि र जन्म दिने आमालाई माया गर्दै कठिन भन्दा कठिन परिस्थितिमा पनि देशको धर्म संस्कृति मूल्य मान्यता परम्परा र रीतिथितिलाई जोगाएर राखेका छन् । जस्तो सुकै अनिकाल, बाढी, पैरों र हावा, हुन्डरी चल्दा पनि यिनीहरूले आफ्नो स्वाभिमानलाई मर्न दिएका छैनन।तर सरकारमा हाली मुहाली गर्नेहरूले जहिले पनि यिनीहरुलाई दास नै सम्झेर यिनीहरुसँग व्यवहार गरिरहेको पाइएको छ । यिनीहरूलाई देशको मालिक भनेर हौस्याउने जुक्ति यिनीहरूसँग देखिँदैन। चुनाव जितेर सरकारमा जाने र जगहसाइ गर्दै जनतालाई आफूआफूमा बाझाबाज गराइदिने तिकडम राजनीतिक दलहरूकै थिंक ट्यांकबाट उत्पादन हुने विचार हो। गरिब जनताहरूको गाँस बास कपास शिक्षा स्वास्थ्य र आधारभूत आवश्यकताहरू रोजगारीका सवालहरू बारे गम्भीर भएर चिन्तन मनन गर्न यिनीहरूले कहिले पनि भ्याएनन्।
सरकारमा जाँदा लबेदा सुरुवाल लगाउने र सरकार बाट हट्दा गोहीको आँसु झार्ने यिनीहरूको नियति नै बनि सकेको छ । गणतन्त्रमा स्थापित भएका सरकारहरूले पनि यिनीहरूका जायज मागहरूलाई सम्बोधन गर्नुको सट्टा उनीहरुलाई होच्याउने र जिस्क्याउने गरी उनीहरूको भावना विचार र देशप्रेम लाई पनि बेवास्ता गर्दै जाने परिपाटी नै बसेको छ। देशमा राणातन्त्र ढले, पञ्चायती व्यवस्था ढल्यो, राजाको प्रत्यक्ष शासन ढल्यो, राजतन्त्र उन्मूलन भयो तर भुई तहका जनताका सवाल र मुद्दाहरूलाई कसैले पनि सम्बोधन गर्ने औकात देखाउन सकेनन्। नेताहरू जतिजति ठूला हुँदै गए उनीहरूको अहंकार पनि उतिउति नै आकार लिँदै गयो। जनताको सार्वभौमसत्ता नेताहरूको मनोविनोद गर्ने पाठशालामा रूपान्तरण हुन पुग्यो।
मुरीबाट माना पाथी गर्दै राजनीतिक दलहरूले आफ्नो नाम र हुलिया परिवर्तन गर्दै जनताका सवाल र मुद्दाहरूलाई लत्याउँदै आफ्नो रणनीति परिवर्तन गर्दै लगे। काठमाडौँको सत्तालाई सर्वोपरि ठान्ने राजनीतिक विचारहरूले जनताका मुद्दा र सवालहरूलाई कुरीकुरी देखाउँदै आफ्नो दलीय सर्वसत्तावादको सम्प्रभुतालाई अगाडि बढाई रहेको नै देखियो। कागजमा लेखिएको नेपालको संविधानमा समाजवाद शब्द उल्लेख भएपनि व्यवहारमा त्यसको छेउ नपुच्छर कतै देखिएको छ न त कसैले सोच्न सक्छ। गरिब हरू झन् झन् गरिब हुँदैछन् धनी हरू झन् झन् धनी बन्दै छन्। देशभित्र असमानताको गहिरो खाडलले जडा गाड्दैछ। जङ्गल हरू रुखविहीन बनाइँदैछ। संस्कृति हरू संस्कार विहीन बनाइँदैछ। राज्य सत्ता माथि धर्म र नैतिकताको मानदण्ड स्थापित गर्न सरकार लगातार असफल बन्दै गइरहेको अवस्था छ। कुनै समयमा विश्वको एकमात्र हिन्दू राष्टङ रहेको नेपालको हैसियतलाई आज धर्म निरपेक्ष भनी शून्यमा झारिएको छ। नेपालको हिन्दू राष्टङको छवि आज हराइसकेको छ।
दलहरूसँग भिजन नभए देश भित्र दूरदर्शिता, पारदर्शिता,समावेशिता ,आत्म निर्भरता लगायतका लोकतान्त्रिक पहिचानहरू हात्तीको देखाउने दाँत मात्र हुन्छ। देशभित्र पानीजहाज चल्न सक्दैन भन्ने छैन, देशभित्र पूर्वपश्चिम रेलमार्ग बन्न सक्दैन भन्ने छैन, गरिबहरूको घर घरमा खाना पकाउने ग्यासको पाइपलाइन पुग्न सक्दैन भन्ने छैन, तर त्यसको लागि आवश्यक संसाधन हरू र सामथ्र्यहरुलाई कुनै पूर्वानुमान नै नगरी बखान गर्नु सोरै आना बतासे कुरा हुन्छ। नेपालमा बतासे कुरा गर्ने नेता र कार्यकर्ताहरू खप्पिस छन् तर देशभित्रको सत्यतथ्य लाई भूधरातलीय यथार्थसँग दाँजेर आफूलाई समायोजित गर्न उनीहरूलाई खलखली पसिना चुहिन्छ। देशभित्र जहिले पनि एउटा अबुझ दार्शनिकताले सत्य र यथार्थलाई माटो मुनि पुर्दै उल्टो बाटो हिँड्दै जाने, देशलाई दुर्गति गराउँदै जाने कुबाटो हिँड्ने प्रयत्न गरि नै रहेको देखिन्छ।देश भित्र चिल्ला सडक हरू तथा राजमार्ग र बाटो घाटोहरू तयार हुँदै गयो तर दमनकारी मनपरी तन्त्र बाट देशलाई जोगाउन सकिएन।
यिनीहरूले ठ्याक्कै घोप्टे भीरबाट देशलाई लडाउने प्रयत्न गरेका होइनन् भन्ने कुरामा पनि यिनीहरूमा विमति छ। हजारौँ हजार निर्दोष नागरिकहरूको ज्यान लिने तर आत्मसम्मान सहित बाँच्न नदिने बदनियत राख्नाले एउटा स्वाधीन देशले पाउनुपर्ने सम्मान र स्वाभिमान बचाई दिने कार्य यिनीहरूको लागि घाडो बन्न पुग्यो। धोती लाउनेलाई धोती भनेर हेप्ने टोपी लाउनेलाई टोपी भनेर हेप्ने कुसंस्कार यिनीहरूकै व्यवहारबाट जन्मिएको होइन भनेर कसैले भन्न सक्ला तर जान्ने र बुझ्ने हरूलाई नेपालको राजनीतिक इतिहास एकादेशको कथा जस्तो बनेको छ। गधालाई बाघको खाल ओढाएर खेत चराउन जाने धोबीको कथा जस्तै नेपालको राजनीति अगाडि बढिरहेको छ। दलहरूले आफ्ना आफ्ना पल्टनहरू खडा गर्दैछन्। तिनीहरूले नै जनताको भकारी भर्ने अथवा रित्याउने जिम्मेवारी पाउन थालेका छन्। मतदाताहरू कबयी खेलमा मस्त छन्। खेलका अम्पायरहरू आआफ्नै पाराले खेलका नियम हरू बनाउँदैछन्।
अब देशमा विकास गर्न के पो बाँकी छ र विकास चाहिन्छ। सबैको एकमतले जनताको जनमत बन्छ। जनमतको जनलहर ले कस्ता कस्ता ज्याद्रो रुखहरूलाई हावा हुन्डरी ले उडाए सरी उडाइदेलान् भन्ने कुरामा कसैलाई कुनै पीडाबोध छैन। देशका आइटी पढेका युवा युवती हरू देशभित्र ५ हजार १० हजारमा काम पाइरहने अवस्था सृजना भएर पो त विदेश जाने लाममा लागिरहेका देखिन्छन्। चुनावमा हार जित हुनु भाग्यको खेल हो अरे। कुनै व्यक्तिको पुरपुरोमा देशमा प्रधानमन्त्री हुने लेखेको रहेछ भन्ने त्यसै आधारमा पनि प्रधानमन्त्री बन्नेहरुको लामो फेहरिस्त तयार हुन सक्छ। सबैको नाम समावेश गर्न नसके पनि एक दुईजना को नाम त जस्तोसुकै लाटा बुङ्गेले बताइ दिन सक्छन्। हावादारीमा संसद भंग गराउने, सरकार पल्टाउने, विकासको अत्तर र सुगन्ध छर्काउने र बालुवाटारमा गएर पटकपटक बुर्कुसी लगाएर प्रधानमन्त्रीको नेमप्लेट आफू बसेको कुर्सी अगाडिको टेबलमा सजाएर राख्ने कपाल फुलेकै नेताहरूको कुनै कमी देखिँदैन। पुँजीवादी अर्थतन्त्रमा नाफाको अत्याधिक अंश आफै हसुर्ने र पुँजीवादी अर्थशास्त्र को सम्पुट पाठ गर्ने दक्षिणपन्थी र वामपन्थी भूमाफिया, जग्गा दलाल, विभिन्न राजनीतिक दलका प्रकाण्ड विद्वानहरूले गाईको गहुँत र गंगाजल सम्म लाई कुनै वास्ता नगर्ने परिपाटी बसाउनुको पछाडि देशलाई संस्कृतिविहीन देखाउनु मात्र थियो। आज त्रिशुली नदीमा प्रायजसो हरेक महिना एउटा दुईटा गाडी झरेर डुबेकै हुन्छ। धेरै मान्छेको ज्यान जान्छ। धेरै घाइते हुन्छन र अपाङ्ग भएर बाँच्नुपर्ने अवस्था सिर्जना भइरहन्छ तर त्यस्तो मुद्दा चुनावको मुद्दा बन्दैन। आफ्नै देशका नागरिक हरूमाथि आफ्नै देशका सुरक्षा जवानहरूले जथाभावी गोली बर्साउँछन् र मान्छे मार्ने श्रेय लिन्छन्। प्रहरीको गोली लागेर मान्छे मरेपछि उनीहरूलाई सहिद बनाइन्छ। त्यस्तो संवेदनशील मुद्दा चुनावको मुख्य मुद्दा बन्न सक्दैनन्।
कृषि क्षेत्रको आत्मनिर्भरता लाई दलहरूले प्रमुख एजेन्डामा राख्दैनन् । लोकतन्त्रमा जनतालाई विचार अभिव्यक्तिको स्वतन्त्रता हुन्छ। शान्तिपूर्ण सभा जुलुस गर्ने र विरोध प्रदर्शन गर्ने अग्रधिकार हुन्छ। २००७ सालभन्दा अगाडिका राणा शासक हरु लाई नराम्रो भनेर खेदाइएका होइनन्। उनीहरूलाई राम्रो काम गर्न नसकेर खेदाइएको हो। सती प्रथाको उन्मुलन, दास प्रथाको उन्मूलन, देशका सिमानाकाहरूमा जंगे पिल्लर गाड्न लगाउने जस्ता राम्रा कामहरू पनि राणाहरूले गरेर जस कमाएकै थिए तर राजा त्रिभुवन राणाहरूसित तर्सिएर भारतमा गएर शरण लिएपछि राणाहरू जनताको आँखाको कसिंगर बनेको थियो। त्यसकै विरोधमा नेपाली कांग्रेसले सशस्त्र विद्रोह गर्दा राणाशाही धराशायी हुनुपर्यो। अहिले पनि नेपाल शासक र शोषितहरू बस्ने देशको अवस्था भन्दा फरक हुन सकेको छैन। जनता ढुक्क साथ आफ्नो दैनिकी चलाउन सकिरहेका देखिँदैनन्।देशका आम जनसमुदायले शान्ति सुरक्षा लगायतको मानवोचित अधिकारहरूको प्रत्याभूति पाउन सकेन भने उट माथि चढेको मान्छेलाई पनि कुकुरले टोक्छ र भुतल्याउँछ। देशको संसद भवन ,राष्टङपति भवन सर्वोच्च अदालत लगायतका राज्यका ठुलठुला स्वामित्व भएको भवनहरूमा केही समय अगाडि भएको विध्वंश लाई एउटा दुर्घटना मात्र भन्न सकिन्न। निर्वाचनपछि बन्ने संसद र सरकारले यसको छानबिन गराउनु पर्दछ र घटनाको सन्दर्भमा श्वेतपत्र जारी गरी सुरक्षित राख्नुपर्दछ।