देश–समाज मुख्य समाचार स्थानीय स्वास्थ्य

नसर्ने रोगको संशय र घरटोलमै स्वास्थ्य सेवाको प्रभावकारिता कति ?

:— पंकज दाहाल —:

दमक/घरटोलमै विशेष प्रकृतिको समेत स्वास्थ्य सेवा उपलब्ध हुँदा झापाको दमकवासीहरुमा उत्साह जागेको छ । आधारभूत स्वास्थ्य सेवाहरु दमक नगरपालिका मातहतका १० वटै स्वास्थ्य केन्द्रहरुमा पाइन्छ । तर नसर्ने रोगको पहिचान, क्षयरोगको पहिचान, केएचडिसी कार्यक्रम र ९० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई घर घरमा पुगेर स्वास्थ्य परीक्षण, उपचार र औषधी दिने अभियानले सम्बन्धित दमकवासीहरुले ठूलो राहत महशूस गरेको पाइएको छ । देशभरका स्थानीय तहमध्ये यस्तो राहत र सुविधा प्रदान गर्ने दमक नमुना नगरपालिका बन्दै गएको छ ।
टोल टोलमा पुगेर परीक्षण
यतिबेला फागुनको महिना छ । यो महिनाको ४ गतेदेखि १५ गते सम्म नगरपालिकाले टोल टोलमा पुगेर तोकिएका ११ स्थानबाट नसर्ने रोगको पहिचान र परीक्षण गरिरहेको छ । १० वटै वडाका पिछडिएका वर्ग तथा जातजाति बसोबास क्षेत्र, मठ मन्दिर तथा सामुदायिक भवनहरुमा पुगेर एक दिनभरि आगन्तुक स्थानीयहरुको स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणका लागि दमक अस्पतालबाट एक जना चिकित्सक, नगरपालिकाको स्वास्थ्य शाखाका २ जना जनस्वास्थ्य अधिकृत, २ जना स्टाफ नर्स, १ जना ल्याब टेक्निसियन र स्वास्थ्य सहायक (एचए) तेश्रो वर्षमा अध्यययनरत ६ जना विद्यार्थीहरुको टोली त्यसका लागि खटिएको छ ।
८७२ जनाले जँचाए स्वास्थ्य
आइतबार सम्मको तथ्यांक अनुसार ८७२ जनाले नसर्ने रोगको परीक्षण गराइसकेका छन् । जसमध्ये २०४ जनामा उच्च रक्तचाप, ३१२ जनामा मधुमेह (सुगर), ६६ जनामा मिर्गौलाको खराबीको लक्षणको आशंका हुने अवस्थाको संभावना स्वरुप पिसाबमा प्रोटिन र ५२८ जनामा मोटोपनको समस्या पहिचान भएको दमक नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत अंकित पाठकले जानकारी गराए । यस्तो जाँच लक्षित वर्गका रुपमा रहेको ३० वर्षमाथिको उमेर समूहमा मात्र गरिएको हो । यस्तो सेवा तोकिएको दिनमा विहान ११ देखि अपरान्ह ४ बजे सम्म दिइन्छ । फागुन १५ पछि भने नगरपालिकाका सबै स्वास्थ्य केन्द्रहरुबाट नियमित रुपमा यो सेवा प्रदान गरिने गरेको छ ।
उत्साहपूर्ण सहभागिता
स्वास्थ्यकर्मीहरुको टोली सोमबार दमक–२ स्थित त्रिपुरेश्वर शिवालय मन्दिरमा स्वास्थ्य परीक्षणका लागि पुगेको थियो । जनस्वास्थ्य अधिकृत पाठकले सोमबार सम्म वडा नम्वर २, ३, ६, ७ र ८ मा स्वास्थ्य जाँच सफलतापूर्वक सम्पन्न भइसकेको पनि स्पष्ट पारे । अब बाँकी वडाहरुमा क्रमैसंग यही फागुन १५ गते भित्रमा शिविर संचालन गरिनेछ । शिविरहरुमा स्थानीयवासीहरुको उत्साहपूर्ण सहभागिता रहेको उनले बताए । अहिलेको समयमा असन्तुलिन जीवनयापन र खानपानका कारण नसर्ने रोगको स्थिति भयावह जस्तै बन्दै गएको छ ।
यस्तो अवस्थामा केन्द्र सरकारको स्वास्थ्य मन्त्रालयलेनै केही वर्ष यता फागुनको महिनामा देशभर नसर्ने रोगको परीक्षण शिविर चलाउँदै आएको छ । यो राष्ट्रिय कार्यक्रम हो, तर दमकमा विशेष प्राथमिकता दिएर अपुग बजेटको व्यवस्था समेत गरिएको छ । सबैजसो शिविरहरु भएका ठाउँमा दमक नगर प्रमुख राम कुमार थापा आफँै पुगिरहेका छन् । वडाध्यक्ष र वडा सदस्यहरुको उपस्थिति रहने गरेको छ । यसबाट फिल्डमा हिंडने हाम्रो टोलीलाई त हौसला मिलेको छ नै स्वास्थ्य जाँच गर्न आउने स्थानीय ज्येष्ठ नागरिक, महिला तथा वयस्क पुरुष दमकवासीलाई पनि उत्साह मिलेको शिविरमा खटिएका स्वास्थ्यकर्मीहरुको प्रतिक्रिया छ ।
पहिचान भए थप उपचार
शिविरमा नसर्ने रोगको पहिचान भए थप उपचारका लागि दमक अस्पतालमा पठाइने गरेको छ । सो अस्पतालमा बिरामीलाई स्वास्थ्य बीमाको कार्ड भए सोही अनुसार निःशुल्क र नभए न्यून शुल्कमा औषधोपचार गरिन्छ । तर पछिल्लो समय नसर्ने रोगको संक्रमणले महामारीको रुपमा लिएर स्थिति भयावह बन्दै गएको हुँदा सबै दमक नगरवासीलाई अहिले चलिरहेको स्वास्थ्य जाँचको शिविरबाट सकेसम्म धेरै लाभ उठाउन दमक नगर प्रमुख राम कुमार थापाको अनुरोध छ । रोग पहिचान भए जोखिम न्यूनीकरण हुने भएकाले सम्पूर्ण सबैलाई स्थानीय सरकारले दिएको यो सेवा र सुविधामा सहभागी भएर मौकाको फाइदा उठाउन उनको आग्रह छ ।
दमक नगरपालिकाले १७ औं नगर सभाबाट ‘नगरवासीको स्वास्थ्य, हाम्रो जिम्मेवारी’ भन्ने नारा सहित संकल्प प्रस्तावनै पारित गरेको छ । त्यसैले सबै नगरवासीको स्वास्थ्य राम्रो होस् भन्ने हाम्रो उद्देश्य हो । त्यसका लागि विशेष प्राथमिकता दिएर सकेको काम गरिरहेको पनि नगर प्रमुख थापाले बताए ।
सहभागीबाट खुशी र प्रशंसा
स्वास्थ्य शिविरमा सहभागी दमक–२ को संगम टोल विकास संस्थाका पूर्वअध्यक्ष भजेन्द्र श्रेष्ठले टोल टोलमै यस्तो सेवा सुविधा दिएकोमा खुशी हुँदै नगरपालिकाको प्रशंसनीय काम भनेका छन् । सोही वडाको हिमालय मावि टोलमा रहेको त्रिपुरेश्वर शिवालय मन्दिरका उपाध्यक्ष खड्गनारायण गुरागाईले स्वास्थ्य जाँचको यस्तो अभियान चलाएकोमा नगर प्रमुख थापा र नगरपालिकालाई धन्यवाद दिए । श्रेष्ठ र गुरागाई दुवै जनाले नेपाल र नेपालीहरुका लागि सरकारले घर घरमै स्वास्थ्य उपचारको सेवा पु¥याउन थालनी गरेको कार्य पूरा र सफल होस् भन्ने प्रतिक्रिया दिए । दमक नगरपालिकाले आप्mनै बजेट खर्चबाट ९० वर्षमाथिका ज्येष्ठ नागरिकहरुको घरदैलोमै गएर स्वास्थ्य उपचार गर्ने नविन कार्य विगत २ वर्षदेखि गर्दै आएको छ भने क्षयरोग पहिचान तथा त्यसको निःशुल्क उपचार र केएचडिसी (मिर्गौला, मुटु, मधुमेह र कोलेष्टोरेल) जाँच र उपचार सेवाको कार्य पनि गर्दै आएको छ । समग्रमा घरदैलोमा स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा दमक नगरपालिका अग्रपंक्तिमा पर्दछ भन्दा फरक नपर्ला ।

Author

You may also like